+

रोमाञ्चक प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ५ रनले हरायो

२०८० कात्तिक  ११ गते १९:५८ २०८० कात्तिक ११ गते १९:५८
रोमाञ्चक प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ५ रनले हरायो

११ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ५ रनले हराएको छ ।

शनिबार भारतको धर्मशालामा अष्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो ।

रचिन रवीन्द्र एक्लैले ११६ रन बनाएका थिए । पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका ओपनयरद्वय डेभोन कोनवे २८ र विल योङ ३२ रनमा आउट भएका थिए । रवीन्द्रले तेस्रो विकेटका लागि डेरिल मिसेलसँग ७८ रनको साझेदारी गरे । मिसेल ५४ रन बनाएर आउट भए ।

त्यसपछि रवीन्द्रले टोम लाथमसँग ५४ र ग्लेन फिलिप्ससँग ४३ रनको साझेदारी गरे । रवीन्द्र ११६ रनमा आउट हुँदा न्यूजिल्याण्डको स्कोर २९३/६ थियो ।

जेम्स निसमले आक्रामक पारी खेल्दै न्यूजिल्याण्डलाई जित नजिक पुर्‍याएका थिए । अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको थियो र निसम ५१ रन बनाएर खेलिरहेका थिए ।

अन्तिम बल खेल्नुअघि निसम ५८ रन बनाएर आउट भए । अन्तिम बलमा छक्का चाहिएको थियो, लोकी फर्गुसनले रन नै जोड्न सकेनन् ।

अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा जोस ह्याजलउड र पेट कुमिन्सले २–२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ह्याभिड हेडको शतकको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।

उसको सुरुवात निकै राम्रो रह्यो । डेभिड वार्नर र हेडले पहिलो विकटका लागि १७५ रनको साझेदारी गरे । वार्नर ८१ रनमा आउट भए ।

त्यसपछि भने ठूलो साझेदारी बन्न सकेन । थप २५ रन जोड्दा हेड पनि १०९ रन बनाएर पभेलियन फर्किए । स्टिभ स्मिथ १८, मिसेल मार्स ३६, मार्नस लाबुसेन १८ रनमा पभेलियन फर्किए, जतिबेला अष्ट्रेलियाको स्कोर २७४/५ थियो ।

तर जोस इंग्लिसले छैटौं विकेटका लागि ग्लेन म्याक्सवेलसँग ५१ र सातौं विकेटका लागि पेट कुमिन्ससँग ६२ रनको साझेदारी गर्दै ३८८ को स्कोर बनाए । म्याक्सवेल ४१, इंग्लिस ३८ र कुमिन्स ३७ रनमा आउट भए ।

न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ विकेट लिए भने मिसेल सेन्टनरले २ विकेट हात पारे ।

सुरुको दुई खेल गुमाएको अष्ट्रेलिया लगातार चार जितसँगै ८ अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान ८ अंक जोडेको न्यूजिल्याण्ड रन रेटमा अगाडि भएका कारण तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको भारतको समान १०/१० अंक छ । तर भारतले एक खेल कम खेलेको छ ।

अष्ट्रेलिया न्यूजिल्याण्ड विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय