
१२ कात्तिक, पोखरा । पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा मंसिर २ गतेदेखि विश्व शान्ति पूजा हुने भएको छ । ८ दिनसम्म चल्ने पूजामा त्रिपिटक (काग्युर) को १०८ ठेली वाचन हुने आइतबार गुम्बाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
पोखरामा पहिलो पटक हुन लागेको काग्युर वाचनका लागि देश विदेशबाट १०८ लामा गुरु आउने गुम्बाका धर्म लामा गुरु पाल्देन लामाले बताए । उनले कुनै पनि गुम्बा स्थापना भइसकेपछि गुम्बा राप्ने (प्राणप्रतिष्ठा) नगर्दासम्म औपचारिक उद्घाटन नहुने भएकाले गुम्बा राप्न लागिएको बताए ।
‘काग्यर वाचन पोखरामै पहिलो पटक हुन लागेको हो । कुनै पनि गुम्बा बनाइसकेपछि प्राण प्रतिष्ठा नगर्दासम्म त्यसले काम नगर्ने भएकाले पूजा गर्न लागिएको हो’, धर्म लामा गुरु पाल्देनले भने, ‘पूजाको समयमा देशविदेशबाट लामासहित भिक्षुहरुको उपस्थिति रहनेछ ।’
उक्त अवसरमा गत माघ १ गते पोखरामा भएको यति विमानस्थल दुर्घटनामा परी ज्यान गुमाएका ७२ जनाको आत्माको शान्तिको पूजा गरिने गुम्बाले जनाएको छ ।
पाल्देनले गौतम बुद्ध दर्शनसँग सम्बन्धित त्रिपिटक विश्वभर फैलिँदा पनि त्यसमा लिखित दर्शन नेपालमा प्रचार नपाएको बताए । ‘त्रिपिटक संसारभरि फैलियो । तर, हाम्रै नेपालमा अध्ययन भएको छैन । दीपमुनिको अँध्यारोजस्तो भएको छ । त्यसलाई प्रचार गर्न पनि पाठ हुन लागेको हो’, उनले भने ।
काग्युर गर्दा धेरै लामा गुरुसँगै समय पनि लाग्ने भएकाले धेरै खर्चालु हुने पाल्देनको भनाइ थियो । ‘त्यही भएर पनि धेरै ठाउँमा यो वाचन हुन सक्दैन । तर, यसपालि पोखरामा आँट गरेका छौं’, उनले भने । पूजाको उद्घाटन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।
पूजाको पहिलो दिन शान्ति दीप प्रज्वलन (कु राप्ने) सँगै काग्युर पाठ सुरु हुनेछ । मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा र मंसिर ६ गते विश्व शान्ति रिवासाङ, लामाछाम धर्मपाल गणचक्र पूजा हुनेछ । उक्त पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेले गर्ने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
गुम्बा ०७२ साल मंसिर २० गते धर्म गुरुङ टुल्कु दुवाङ तेन्जिङ रिङ्पोछेले शिलान्यास गरेका थिए । गुम्बामा ८ करोड लाख ८ सय ८ बुद्ध मन्त्रसहितको बुद्ध प्रतिमा निर्माण गरिएको बैदाम तामाङ समाजले जनाएको छ । गुम्बा बनाउन २ करोड ५० लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिए ।
पोखरा महानगरपालिका–१८, खहरे शीतल वनमा बनेको गुम्बाबाट पोखरा लेकसाइडसहित फेवाताल र आसपासका दृश्य नियाल्न सकिन्छ ।
गुम्बाको औपचारिक उद्घाटन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य थप हुने विश्वास बैदाम तामाङ समाजले लिएको छ ।
प्रतिक्रिया 4