
काठमाडौं । संगीतकार आशिष अविरलले सुप्रिम मल्लको स्वरमा ‘फूलैफूल दिन्छौ कि’ गीतको चाइल्ड भर्सन ल्याएका छन् । यसअघि शिव परियार र अस्मिता अधिकारीको आवाजमा गीतको मेल र फिमेल भर्सन चर्चित भएको गीतको चाइल्ड भर्सन आएको हो । गीतमा आनन्द अधिकारीको शब्द, अविरलको संगीत तथा एरेन्ज रहेको छ ।
यसअघि शिव परियार र अस्मिता अधिकारीले गाएको गीत निकै रुचाइएपछि यसको बाल भर्सन पनि ल्याइएको संगीतकार अविरलले बताए । ‘सुप्रिम बाबुको स्वर धेरै मन परेको र यसको मुख्य भर्सन श्रोता-दर्शकले निकै रुचाउनुभएकाले चाइल्ड भर्सन पनि ल्याएका हौं,’ उनले अनलाइनखबरसँग भने ।
गीत अहिले युट्युबमा म्युजिकतर्फ नेपाल ट्रेन्डिङमा समेत परेको छ । विकास प्रसाईंले निर्देशन गरेको गीतको भिडियोमा बाबुआमाको सम्बन्ध विच्छेदले सन्तानमा पर्ने मानसिक असरको कथा प्रस्तुत गरिएको छ । भिडियोमा सुप्रिम स्वयं, ओबी रायमाझी, सारिका केसी र जिम्बे राईले अभिनय गरेका छन् ।
राम केसीले खिचेको भिडियोमा विकास प्रसाईंको सम्पादन र मिलन विश्वकर्माको रंग संयोजन छ । गीतलाई ‘आशिष अविरल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया 4