
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाटै छिट्टै पारित गर्ने बताएका छन् ।
सभापति देउवाले आइतबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गराउने बताएका भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले बताए ।
‘सभापतिजीले पिस प्रोसेसको सन्दर्भमा हामीले गरिरहेका छौं र, अहिले पिस प्रोसेसलाई टुंग्याउनका लागि जुन बिल छ, टीआरसी बिल । त्यो चाहिँ संसदको पार्लियामेन्ट कमिटीमा छलफलमा छ । र, हामी छिट्टै टुंग्याउँछौं । र, यसलाई सर्वसम्मत ढंगबाटै लिएर जान्छौं भनेर सभापतिजीले त्यो कुरा राख्नुभयो’, उनले भने ।
सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका थिए ।
‘क्लाइमेट चेन्जको सन्दर्भमा विश्वकै ध्यान केन्द्रित हुनुपर्दछ । हामी सानो देश, सानो मुलुक । तर हामीलाई ठूलो मार परिरहेको छ । त्यस सन्दर्भमा महासचिवजीले ध्यानाकर्षण भएको जनाउँदै यसले नेपाललाई मात्रै नभई भारत, पाकिस्तान, बंगलादेश जस्ता छिमेकी मुलुकलाई पनि भविष्यमा गाह्रो पार्छ । .. नेपालको मात्रै यो विषय हो भन्ने मलाई लाग्दैन भनेर भन्नुभयो’, कानुनमन्त्री गुरुङले भने ।
महासचिव गुटेरेसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताएका कानुनमन्त्री गुरुङले जानकारी दिए ।
देउवासँगको भेटमा महासचिव गुटेरेसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बंगलादेशलगायतका छिमेकी देश र विश्वलाई नै समस्या पर्ने बताएका थिए ।
प्रतिक्रिया 4