+

बाँकेमा बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल

२०८० कात्तिक  १३ गते १४:२१ २०८० कात्तिक १३ गते १४:२१
बाँकेमा बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल

१३ कात्तिक, जानकी (बाँके) । बाँकेको कोहलपुरमा आउँदो बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल सुरु हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा मैदानमा ‘मुख्यमन्त्री गोल्डकप फुटबल खेलकुद प्रतियोगिता २०८०’ सुरु हुने भएको आयोजकले जनाएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित यो वर्षको साताव्यापी खेलकुद प्रतियोगिता हुने कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए । उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको छ । अध्यक्ष क्षेत्रीले गोल्ड कप विजेता टोलीले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पाउने बताए ।

‘नकआउट’ प्रतियोगितामा आयोजक टोलीसहित स्वदेशी र विदेशी गरी आठ टोली सहभागी हुनेछन् । अध्यक्ष क्षेत्रीले भने, ‘गोल्डकप खेल्न विदेशी टोली कोहलपुरका लागि हिँडिसकेको छ ।’ खेल हेर्न आउने दर्शकसँग केही शुल्क लिने आयोजकले जनाएको छ । आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नेछन् ।

अध्यक्ष क्षेत्रीका अनुसार गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकमलगायतले सहकार्य गरेको छ ।

गोल्डकपको माध्यममार्फत यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ । गोल्डकप खेल्न आउने स्वदेशी र विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज, प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलगायत बाँकेको पर्यटकीय क्षेत्रको अवलोकन गराइने छ ।

प्रतियोगिता सञ्चालन गर्न स्थानीयस्तरबाट पनि सहयोग प्राप्त भएको आयोजकको भनाइ छ । ‘गतवर्षको कमी कमजोरी तथा चुनौतीलाई सुधार गरेर हामीले यसवर्ष व्यवस्थापनमा विशेष ध्यान दिएका छौं,’ अध्यक्ष क्षेत्रीले भने ।

गतवर्ष पहिलो पटक आयोजना गरिएको कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुनले हात पारेको थियो । ब्वाईज युनियन क्लब काठमाडौंलाई पराजित गरेको एफसीले नगद रु सात लाख प्राप्त गरेको थियो ।

फुटबल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय