
काठमाडौं । लियोनार्दो डिक्याप्रियो स्टारर ‘किलर्स अफ द फ्लावर मुन’लाई इन्टरभल राखेर फिल्म चलाएपछि निर्माता-निर्देशक र हल सञ्चालकको विवाद सतहमा आएको छ । किनभने हलिउड फिल्ममा इन्टरमिसन वा इन्टरभल राखिने कुरा दुर्लभ हो ।
भेराइटी म्यागजिनका अनुसार निर्देशक मार्टिन स्कोरसिजले २०६ मिनेट लामो यो फिल्ममा ब्रेक राखेका थिएनन् । तर सम्झौताको उल्लंघन गर्दै विश्वका हजारौं फिल्म हलले आफूखुसी ६ देखि १५ मिनेटसम्मको ब्रेक राखेपछि निर्देशक स्कोरसिज क्रुद्ध सुनिएका छन् ।
शुक्रबार बिहानसम्म आम्सटर्डममा दुईवटा युरोपेली सिनेमा चेन र एउटा स्वतन्त्र थिएटरले इन्टरमिसन राख्दै फिल्मको टिकट बिक्री गरेको पाइएको छ । जर्मनी, इटाली, पोर्चुगल र ब्राजिलमा समेत चेन विस्तार गरेको यूसीआई मल्टिप्लेक्सले आफ्ना ८० प्रतिशत हलले ६ मिनेटको ब्रेक राखेर फिल्म चलाएको जनाएको छ ।
तर कोलम्बियाका केही हलले पनि ब्रेक राखेपछि वितरण कम्पनी प्यारामाउन्ट, एप्पल स्टुडियो र निर्मातासँग सिर्जित समस्याको कारण उनीहरुले पछि ब्रेक नै हटाउनुपरेको थियो । सम्झौताको उल्लंघन गर्दै किलर्स अफ द फ्लावर मुनमा ब्रेक राखेर चलाइएपछि निर्माताहरुले यसरी फिल्म देखाउने हलको खोजी गरिरहेका छन् ।
विश्वव्यापी १० हजारभन्दा बढी हलले इन्टरमिसन राखेर फिल्म देखाइरहेको अनुमान छ । फिल्मकी सम्पादक र निर्देशक स्कोरसेससँग लामो समयको सहयोगी हेल्मा शुन्मेकरले द स्ट्यान्डर्डसँग भनिन्, ‘म बुझ्छु कि कसैले यसलाई इन्टरमिसन राखेर चलाउँदैछ जुन सही होइन । यो सम्झौताको उल्लंघन हो । त्यसैले मैले यसको बारेमा पत्ता लगाउनुपर्छ ।’
हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा निर्देशक स्कोरसिजले इन्टरमिसन राख्न नहुने कुराको प्रतिरक्षा गर्दै भने, ‘मानिसले भन्छन् कि यो तीन घण्टा छ, तर आउनुहोस्, तपाईं सक्नुहुन्छ । तपाईं टिभीको अगाडि बसेर पाँच घण्टा सिरिज हेर्न सक्नुहुन्छ भने किन फिल्म हेर्न सक्नुहुन्न ?’
अन्य विश्लेषक पनि स्कोरसिजको अडानसँग सहमत छन् ।
प्रतिक्रिया 4