१३ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्दै आजदेखि सुरु भएको आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु समर्थकको माझ नेपालले सिंगापुर विरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्यो ।
सन्दीप लामिछानेले पुनरागमन गरेको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।
जवाफमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट इनिङ्स खेल्दै ७४ रन बनाएपछि नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
नेपालले आफ्नो स्तर अनुसार खेलेको र अपेक्षा अनुसारको जित निकालेको क्रिकेटर शरद भेषावकर बताउँछन् ।
‘हाम्रो अपेक्षा अनुसारकै खेल नेपालले देखायो र नेपाल टिमले आफू कुन स्तरमा छ भनेर देखायो,’ अनलाइनखबरको लाइभ कमेन्ट्रीमा एक्सपर्ट गेष्टको रुपमा रहेका शरदले खेलपछि भने, ‘१७ ओभरमै खेल जित्दा नेपाली टिमको मनोबल बढाउँछ र बाँकी ६ टिमको लागि पनि अर्कै खालको दबाब सिर्जना पर्छ । विशेष गरी अब नेपालसँग खेल्ने मलेसिया र ओमानलाई दबाब पर्छ ।’
सिंगापुरले ब्याटिङ रोज्दा नेपाललाई फाइदा
अहिले चिसो मौसम रहेकोले बिहान ब्याटिङ गर्नु चुनौतीपूर्ण थियो । टस जित्ने टिमले बलिङ रोज्ने अपेक्षा थियो । तर सिंगापुरले टस जितेर ब्याटिङ रोज्यो । नेपाललाई यसैको फाइदा भयो ।
‘सिंगापुरले टस जितेर नेपाललाई बलिङ गर्न दिनु नै सरप्राइजिङ थियो । जसले गर्दा नै नेपाल लक्की भयो’, शरदले भने ।
नेपालका करण केसीले दोस्रो बलमै कप्तान अरित्रा दत्तलाई आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
तर रोहन रंगराजन र सुरेन्द्रन चन्द्रमोहनले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी (५२ रन) गर्दै सिंगापुरको इनिङ्स अघि बढाएका थिए । पावर प्लेमै बलिङ गरेका अविनाश बोहराले आफ्नो पहिलो ओभरमा २२ रन खर्चँदा सिंगापुरले पावर प्लेमा ५१-१ रन बनाएको थियो ।
रोहनले पाँचौ ओभरमा अविनाशलाई चार चौका र एक छक्का प्रहार गरेका थिए ।
पावरप्ले लगत्तै लेग स्पीनर सन्दीपले आफ्नो पहिलो ओभरमै सुरेन्द्रनलाई बोल्ड गर्दै उक्त साझेदारी तोडेपछि भने नेपाल खेलमा फर्कियो । उक्त ओभरमा सन्दीपले १ रन मात्र खर्चे ।
एक समय रोहन र सुरेन्द्रनको साझेदारी हेर्दा सिंगापुरले १६० को स्कोर बनाउँछ कि जस्तो देखिएको थियो ।
तर सन्दीपले साझेदारी तोड्दै ब्रेक थु दिलाएपछि खेलमा नेपालले पकड बनायो ।
दोस्रो विकेट गुमाएपछि अर्को ओभरमा सिंगापुरले ३ रन जोड्दा २ विकेट गुमायो । यस पटक गुल्सन झाले ४६ रन बनाएका रोहनलाई पहिलो बलमै आउट गरे । सन्दीप जोराले रोहनको उत्कृष्ट क्याच लिए ।
त्यसपछि पाँचौ बलमा गुल्सनले अमार्त्य कउललाई शुन्यमै कट एण्ड बोल्ड गरे । आठ ओभर सकिँदा सिंगापुर ५५-४ को स्थितिमा पुग्यो ।
पावर प्लेपछि मिडल ओभरमा सन्दीप र गुल्सन झाको बलिङ पार्टनरसिपले राम्रो काम गरेको शरद बताउँछन् । ‘बीचको ओभरमा सन्दीप लामिछाने र गुल्सन झाले जसरी बलिङ गरे, त्यो नै गेम चेन्जिङ मोमेन्ट थियो र त्यसले गर्दा नै नेपालले सिंगापुरलाई कम स्कोरमा रोक्न सफल भयो ।’
गुल्सनले आफ्नो रोल अनुसार नै खखेलेको र सफल भएको प्रतिक्रिया दिए । ‘३-४ खेलदेखि के गर्ने त्यसमा आफ्नो रोल क्लियर छ । सरले मलाई जे रोल दिनु भएको छ त्यो नै गरिरहेको छु’, खेलपछि गुल्सनले भने, ‘टिमको लागि कति गर्नु सक्छु त्यति ब्याटिङ र बलिङ कताबाट हुन्छ त्यहि नै गर्दैछु ।’
उनले रणनीति भन्दा पनि आफ्नो स्ट्रेन्थ अनुसार खेलेको र आजकै लय अनुसार खेल्ने बताउँदै नेपाल विश्वकपमा छनोट हुनेमा पूर्ण आशावादी रहेको बताए ।
चार विकेट गुमाएपछि दुई अनुभवी खेलाडी मनप्रित सिंह र जनक प्रकाशले सिंगापुरको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर सन्दीपले ११औं ओभरको दोस्रो बलमा जनकलाई एलबीडब्लू धरापमा पारे ।
जनक आउट भएपछि मनप्रितलाई युवा खेलाडी आर्यावीर चौधरीले साथ दिए । यो जोडीले छैटौं विकेटका लागि ४८ रनको साझेदारी गरेपछि सिंगापुरले सम्मानजनक स्कोर बनाउन सक्यो ।
करण केसीले १७औं ओभरको तेस्रो बलमा मनप्रितलाई कप्तान रोहित पौडेलबाट क्याचआउट गराए । मनप्रितले २४ रन बनाए ।
त्यसपछि बाँकी काम डेथ ओभर विशेषज्ञको रुपमा चिनिएका अविनाश बोहराले गरे । पावर प्लेमै बलिङ गर्दा धेरै रन खर्चिए पनि उनले आफ्नो क्षमता डेथ ओभरमा देखाएर न्याए गरे । उनले १८औं ओभरमा थिलिप थिलापन (१) र अनन्थ कृष्णा (०) लाई आउट गरे ।
यस्तै अन्तिम ओभरमा ३७ रन बनाएका आर्यावीरलाई अविनाशले करण केसीबाट क्याचआउट गराए । दोस्रो अन्तिम बलमा अक्षय पुरीले छक्का हान्दा सिंगापुरले १४५ रन बनायो ।
सिंगापुरका लागि रोहनले सर्वाधिक ४६ रन बनाउँदा आर्यावीरले ३७ र मनप्रितले २४ रन जोडे । अक्षय १३ रनमा अविजित रहे ।
बलिङमा अविनाशले सर्वाधिक ३ विकेट लिँदा ४३ रन खर्चिए । पहिलो ओभरमा २२ र अन्तिम ओभरमा १२ रन खर्चिए पनि उनले एक मेडन रमेत राखे ।
सन्दीपले कमब्याकमा ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुल्सनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट नै लिए । २ विकेट लिएका करणले ४ ओभरमा ३६ रन खर्चिए । ४ ओभरमा २१ रन खर्चिएका सोमपाल भने विकेटविहीन रहे ।
भुर्तेलको उत्कृष्ट ब्याटिङ
नेपालले १७ ओभरभित्रै लक्ष्य पूरा गर्दा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन जोडे । कप्तान रोहितकुमार पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।
नेपालको जितमा प्लेअर अफ द म्याच बनेका भुर्तेलले ४८ बल खेल्दै ८ चौका र २ छक्का मदतमा ७४ रन बनाए ।
‘यसअघि त्रिकोणात्मक शृंखलामा मुलपानीमारन लागिरहेको थिएन, फाइनलमा मात्रै अलिकति रन लाग्यो,’ उनले भने, ‘अहिले अब रन लागिरहेको छ, खुसी छु ।’
मुलपानीमा चार खेलमा रन बनाउन नसके पनि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युएई विरुद्धको फाइनलमा कुशलले अर्धशतक बनाएका थिए र त्यही लय कायम रख्दै विश्वकप छनोटको पहिलो खेलमै उत्कृष्ट ब्याटिङ गरे ।
नेपाललाई जितका लागि ५ रन चाहिएको बेला छक्का हान्ने प्रयास गरेका उनी बाउन्ड्री लाइन नजिकै क्याच भए ।
त्यसअघि कुशलले पहिलो विकेटका लागि आसिफसँग ८४ रनको साझेदारी गर्दै नेपालको जितको आधार तय गरिसकेका थिए भने कप्तान रोहितसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे ।
‘आसिफ र म २/३ वर्षदेखि सँगै खेलिरहेका छौं’, कुशलले भने, ‘उसले कसरी खेल्छ मैले कसरी खेल्छु एकअर्कालाई राम्रोसँग थाहा छ । खेल्दा पनि हामी कुरा गरेर खेलिरहेका हुन्छौं ।’
रन बनाउन नसक्दा ब्याटरको रुपमा नराम्रो लाग्ने गरेको सुनाउँदै उनले टिममा कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देशाईले सपोर्ट गरिरहेको बताए ।
ठूलो सट खेल्ने चक्करमा आसिफ १०औं ओभरको पहिलो बलमा अक्षय पुरीबाट बोल्ड भए । त्यसपछि कप्तान रोहित आफैँ तेस्रो नम्बरमा ब्याटिङ गर्न गए र अन्तिमसम्म क्रिजमा रहे ।
रोहितले २४ बल खेल्दै २ चौका र २ छक्का मदतमा अविजित ३५ रन बनाए । कुशल मल्लले खेलेको पहिलो बलमै छक्का हान्दै नेपालको जित सुनिश्चित गरेका थिए ।
एक्सपर्ट शरदले पनि कुशल र आसिफको साझेदारीले नेपालको जितको आधार तय भएको बताए ।
‘कुशल भुर्तेल र आसिफले शेखले जुन खालको ओपनिङ पार्टनरसिप गरे त्यसले सोलिड प्ल्याटफर्म बन्यो । जसले गर्दा आउने ब्याटर रोहितलाई पनि सहज भयो । जसरी कुशलले अग्रेसिभ ब्याटिङ गर्यो र मैदानभरी ३६० सटहरु खेल्यो । त्यो कारणले गर्दा सिंगापुरको बलरलाई गाह्रो भयो । यो चेजको क्रेडिट कुशल र आसिफलाई जान्छ,’ शरदले भने, ‘नेपालको ब्याटिङ सामु सिंगापुरको बलरबाट त्यति थ्रेट देखिएन ।’
यस्तै रोहितले अन्तिमसम्म बसेर गेम फिनिस गर्दा टिममा यसले कन्फिडेन्स बढ्ने शरदले बताए ।
नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग दिउँसो खेल्दैछ । मलेसिया र ओमानबीच सोमबार दिउँसो भएको खेल हेरेर नेपालले भोलिको खेलको लागि रणनीति बनाएर खेल्नु पर्ने शरदले बताए ।
प्रतिक्रिया 4