+
+

संसदमा गुटेरेसले भने : शान्ति प्रक्रियामा तपाईंहरु एक्लै हुनुहुन्न

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १६:४९

१४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरेका छन् ।

मंगलबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको अन्तिम चरणमा नेपाल रहेको, संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेको भन्दै आफूहरुको सद्भाव रहेको बताए ।

‘शान्ति र प्रगतिको यात्रामा तपाईंहरु एक्लै हुनुहुन्न । नेपाली नेतृत्वसँग राष्ट्रसंघ सँगै छ’, महासचिव गुटेरेसले भने, ‘संक्रमणकालीन न्यायमा पीडितकेन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईंहरुको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ ।’

गुटेरेसले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झेल्नुपरेको आफ्नै आँखाले देखेको बताए । सगरमाथा आधारशिविरदेखि विभिन्न ठाउँमा गएर आफूले जलवायु संकट देख्न पाएको उनले सुनाए ।

‘जलवायु परिवर्तनले विश्व नै आक्रान्त बनिरहेका बेला नेपालले चालिरहेका प्रयासको म सराहना गर्छु’, गुटेरेसले भने, ‘वनविनाश हुन नदिइकन भइरहेका संरक्षण प्रयासहरुले सकारात्मक प्रभाव पार्नेछन् । हिमालहरुमा सूर्यको प्रकाश देख्न पाइरहनेछौं भन्ने आशा छ ।’

गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा उल्लेख्य योगदान दिने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने भनी प्रशंसा गरे । उनले विश्वमा शान्ति स्थापनाका क्रममा विभिन्न मुलुकमा कर्तव्य पालनाका सिलसिलामा ज्यान गुमाउने नेपाली सेना, प्रहरी लगायत योद्धाहरुको सम्झनामा एक मिनेट मौनधारण आह्वान गरे ।

गुटेरेसको आह्वानमा दुवै सदनका सांसदहरुले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरुप्रति मौनधारण गरेका थिए ।

गुटेरेसले पश्चिम एसियामा भइरहेको द्वन्द्वलाई आफूले नजिकैबाट हेरिरहेको भन्दै हमासको क्रुर आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाउने नेपालीहरुप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरे ।

उनले त्यस क्रममा बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीबारे चासो राख्दै उनको सुरक्षित रिहाइको कामना गरे ।

उनले नेपालका नागरिकको मुस्कान, सांस्कृतिक विविधताको प्रशंसा गरे । नेपाली नेतृत्वले अगाडिका दिनहरुमा नेपाली समाजलाई अझै राम्रो बाटो देखाउँदै जाने, त्यसमा विश्वले नै साथ दिने उनको भनाइ थियो ।

‘नेपाल विश्वको साथी हो’, उनले टुंग्याए, ‘विश्वका सबै देशहरुले नेपाललाई आफ्नो साथी मानेर अघि बढ्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?