१४ कात्तिक, काठमाडौं । नेपालका बाँया हाते ब्याटर कुशल मल्लले नेपालले विश्वकप खेल्ने यो निकै राम्रो अवसर रहेको बताएका छन् ।
टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियासँगको खेलमा ६५ रनको अर्धशतकीय पारी खेलेका कुशलले २०१४ पछि विश्वकप खेल्ने राम्रो अवसर आएको बताएका हुन् ।
‘२०१४ को विश्वकप हेरेर हुर्किएको हामीलाई अर्को पटक विश्वकप खेल्ने यो राम्रो मौका हो । यो निकै महत्वपूर्ण छ’, उनले जितपछि पत्रकार सम्मेलनमा भने ।
मंगलबारको खेलमा तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले आफूले पाएको जिम्मेवारी पूरा गरेको बताए । ‘अगाडि ब्याटिङ गर्ने मौका आएको थियो फिनिस गर्नुपर्ने त्यो चाहिँ भएन’, उनले भने ।
मल्लले ललित राजवंशीको स्थानका बाँया हाते पार्टपाइम स्पिनरको रुपमा पनि खेलिरहेका छन् । ‘बलिङ ठाउँमा फाल्ने हो । सोही अनुसार नै गरिरहेको हुन्छु’ उनले भने ।
हाल टिममा दिपेन्द्र सिंह ऐरी पनि नभएको अवस्थामा उनले आजको खेलमा पावरप्लेमा १ ओभर बलिङको जिम्मेवारी पनि पाएका थिए । जसमा कुशलले १ ओभरमा १ चौका र १ छक्कासहित १० रन खर्चेका थिए ।
प्रतिक्रिया 4