‘एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) बाल्यकालमा धेरै देखिने विकाससम्बन्धी विकार हो । यसलाई एकै ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने, चुलबुले, चकचके व्यवहार देखाउने वा त्यस्तो किसिमको समस्या भनेर बुझ्दा हुन्छ । यो समस्या बालबालिकामा मात्रै होइन, युवाहरूमा पनि देखिने गर्छ ।
एडीएचडी समस्या हेर्दा सामान्य लागे पनि युवावस्थासम्म पनि रहन सक्ने भएकाले यसबारेमा केही कुरा थाहा पाउन जरुरी छ । यदि कुनै बच्चाले लामो समय एउटै काममा ध्यान केन्द्रित गर्न सक्दैन, एउटा कुनै काम गरिरहेको छ भने त्यो काम छोडेर एक छिनमा अर्को काम गर्न थाल्छ, सामानहरू हराउँछ, बिर्सन्छ भने यी एटेन्सन डिफिसिटको लक्षण भयो ।
धेरै चकचक गर्छ, एकै ठाउँमा लामो समय नबस्ने, पालो कुर्न नसक्ने, धैर्यता नहुने, एकदमै धेरै ऊर्जा छ भने यो चाहिं हाइपरएक्टिभिटी डिसअर्डरको लक्षण भयो । कुनै बालबालिकामा एटेन्सन डिफिसिट र हाइपरएक्टिभिटी डिसअर्डर दुवैको लक्षण देखिन्छन् भने कोहीमा एटेन्सन डिफिसिट र कोहीमा हाइपरएक्टिभिटी डिसअर्डरको लक्षण मात्र पनि देखिन सक्छ ।
एडीएचडीको लक्षण तीनदेखि चार वर्षको उमेरदेखि नै देखिन थाल्छ । ६ वर्षमुनिका बालबालिकामा चकचक गर्ने, ठाउँमा नबस्ने, दौडेको दौड्यै गर्ने जस्ता व्यवहारमा देखिने समस्या हाइपरएक्टिभिटी बढी देखिन्छ ।
ध्यान केन्द्रित गर्न नसक्ने, आफ्नो सामान हराउने, बिर्सने जस्ता एटेन्सन समस्या भने स्कुले बालबालिका र किशोरकिशोरीलाई बढी देखिन्छ ।
एडीएचडीको कारण
एडीएचडी लगायत विभिन्न मनोरोगको मुख्य दुई कारण हुन्छ, एउटा जैविक र अर्को वातावरणीय कारण । एडीएचडीको ७० देखि ८० प्रतिशत कारण जैविक हो, जुन जन्मिंदा नै लिएर आएको हुन्छ । मस्तिष्कको विकास राम्ररी विकास भएको छैन, मस्तिष्कको अगाडिको भागको ढिला विकास हुन्छ भने बालबालिकामा यो समस्या देखिन्छ । हामीमा धैर्यता, एकाग्रता दिने काम मस्तिष्कको अगाडि भागले गर्छ । त्यसको विकास राम्ररी नभएको अवस्थामा एडीएचडीको समस्या देखिन्छ ।
परिवारका सदस्यहरूमा यो समस्या छ भने त्यो परिवारको बच्चामा यो समस्या हुने सम्भावना हुन्छ । साथै बच्चा समयभन्दा अगावै जन्मिएको छ, बच्चाको तौल एकदमै कम छ भने त्यस्ता बच्चामा यो समस्या देखिने सम्भावना बढी हुन्छ ।
गर्भावस्थामा सुत्केरी महिलाले चुरोट रक्सी खाएकी छिन् भने जन्मिने बच्चामा यो समस्या देखिने सम्भावना हुन्छ । घरको वातावरण राम्रो छैन, झैझगडा भइरहन्छ, बच्चाको स्याहारकर्ता परिवर्तन भइरहेका छन् र बच्चामा दुर्व्यवहार भएको छ भने त्यस्ता बालबालिकामा पनि एडीएचडी देखिने सम्भावना हुन्छ ।
बच्चालाई एडीएचडी भएको कसरी पत्ता लगाउने उपाय
बच्चा जुनसुकै काममा एकाग्रताको साथ लाग्न सक्दैन, अनावश्यक चकचक गर्छ, आवश्यकताभन्दा बढी बोल्ने, नसोची बोल्नेलगायत लक्षण देखाउँछ भने उसलाई एडीएचडी भएको छ कि भनेर अभिभावक सचेत हुनुपर्छ ।
यस्ता बालबालिकामा सजिलै विचलित हुने, बढी बिर्सिने, एउटा काम पूरा नगरी अर्को काम सुरु गर्ने, नयाँ विषय सिक्न गाह्रो हुनेलगायत समस्या देखिने गर्छ । प्रश्न पूरा नहुँदै उत्तर भनिहाल्ने, सजिलै भ्रमित हुनेजस्ता लक्षण पनि देखिन्छ । जसको प्रत्यक्ष असर उसको पढाइमा पर्छ ।
साथीहरूसँग मिलेर खेल्न नसक्ने, छटपटाइरहने समस्या पनि हुन्छ । त्यस्ता व्यक्तिले अरूको काममा हस्तक्षेप गर्ने पनि गर्छन् ।
उपचार
यो समस्यालाई जाँच गरेर पत्ता लगाउने भन्ने हुँदैन लक्षणको आधारमा मनोचिकित्सक र मनोविज्ञले यसलाई पत्ता लगाउँछन् ।
समयमा उपचार गर्यो भने यो समस्या पूर्ण रूपमा निको हुन सक्छ । यसको लागि औषधि सेवन गर्नुपर्ने हुन्छ । ‘स्टुमिलेन्ट’ र ‘एटोमोक्सेटाइन’ जस्ता औषधिको प्रयोग गरिन्छ । तर नेपालमा ‘स्टुमिलेन्ट’ नेपालमा पाइँदैन ‘एटोमोक्सेटाइन’ मात्र पाइन्छ । औषधिसँगै परिवार, विद्यालय र शिक्षकलाई बच्चासँग कसरी व्यवहार गर्ने, उनीहरूलाई कसरी प्रतिक्रिया दिने भन्ने कुरा सिकाइन्छ । जस्तो, लामो समय एकै पटक पढाउनुभन्दा १५ मिनेट पढाउने र पाँच मिनेट ब्रेक दिने, उसको ध्यान केन्द्रित गराउन उसलाई ध्यान केन्द्रित गर्नुपर्ने खालको खेल खेलाउने, बच्चाको ऊर्जा धेरै छ भन्ने उफ्रिने, दौडिने जस्ता खेलमा सहभागी गराउने गर्न सकिन्छ ।
(बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. कार्कीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4