
नुवाकोटको बेलकोटगढी नगरपालिकाकी निवर्तमान उपमेयर कविता ढुंगानाले स्थानीय तहमा काम गर्दाका भोगाइहरूलाई समेटेर ‘स्थानीय सरकार : अपेक्षा र अवस्था’ पुस्तक हालै सार्वजनिक गरेकी छिन् ।
माओवादी केन्द्रकी युवा नेता समेत रहेकी ढुंगाना शहीद भरत ढुंगानाकी छोरी हुन् । तत्कालीन नुवाकोट जिल्ला विकास समिति सभापति रहेका ढुंगाना जनयुद्धमा सामेल भएपछि तत्कालीन राज्यपक्षबाट मारिएका थिए । शहीद पिता भरत ढुंगानाको पदचाप पछ्याउँदै कविता सानै उमेरदेखि राजनीतिमा सक्रिय छिन् ।
अधिवक्ता समेत रहेकी लेखक ढुंगानाको पुस्तकमा शुभकामना मन्तब्य दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल लेख्छन्, ‘ढुंगानाद्वारा लिखित यस कृतिले संघीयताको सैद्धान्तिक, राजनीतिक, नीतिगत एवम् व्यवहारिक अवधारणा र अभ्यासका निम्ति महत्वपूर्ण दिशावोध गर्नुका साथै स्थानीय सरकारको अवस्था र जनताको अपेक्षा बीच तादात्म्यता कायम गर्न खेल्नुपर्ने भूमिकाबारे सकारात्मक योगदान गर्नेछ ।’
पुस्तकबारे पूर्व प्रधानमन्त्री डा.बाबुराम भटराई लेख्छन्, ‘स्थानीय तहको संवैधानिक अधिकार र संरचना, स्थानीय सरकारको बजेट निर्माण प्रक्रिया, जनप्रतिनिधि र विशेषतः उपप्रमुखको भूमिका, विकास निर्माणको प्रवृत्ति र समस्या आदिबारे उहाँले प्रस्तुत गरेका तथ्य र तथ्यांक देशभरका स्थानीय जनप्रतिनिधि र आम जनसमुदायका निमित्त समेत उपयोगी सन्दर्भ सामग्री हुन सक्छन् ।’
पुस्तकको पहिलो खण्डमा मूलतः स्थानीय तह गठनको राजनीतिक पृष्ठभूमि र त्यसका सैद्धान्तिक आधारहरुवारे चर्चा गरिएको छ । यस खण्डमा ढुंगानाले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्वन्ध कसरी सहकारिता, सहअस्तित्व र समवन्यको सिद्धान्तमा आधारित हुन्छ भन्ने विषयलाई उजागर गर्ने प्रयत्न गरेकी छिन् । यसमा उनले स्थानीय तह गठन गर्न चाहिने आधारका विषयमा समेत आम पाठकलाई सुसूचित गर्ने जमर्को गरेकी छिन् ।
पुस्तकमा महानगरकापालिका, उपमहानगरपालिका, नगरपालिका गठनका लागि आवश्यक जनसंख्या, पूर्वाधार र मापदण्डका विषयमा पनि स्पष्ट पार्ने प्रयास गरिएको छ । यससँगै नामकरणको आधार, केन्द्र तोक्ने आधार, वडा विभाजन गर्ने आधारहरु समेतको चर्चाले पुस्तकलाई थप उपयोगी र पठनीय बनाएको छ ।
यसैगरी स्थानीय तहको बजेट निर्माण प्रक्रियाको सुरुदेखि अन्त्यसम्मका सम्पूर्ण प्रक्रिया र चरणको शिलशिलेबार ब्याख्या र तद्अनुरप भए/नभएको विश्लेषण गरिएको छ । बजेट तथा योजना तर्जुमाका आधार एवम् तालिकालाई पुस्तकमा ठोस रुपमा उल्लेख गरिएको छ । स्थानीय तहको कार्यसम्पादन बुझ्न यसले आम पाठकलाई मद्दत गर्दछ ।
यसैगरी केन्द्रबाट मात्र तय हुने पाठ्यक्रमले स्थानीय आवश्यकताको सम्वोधन नहुने ठहरसहित स्थानीय पाठ्यक्रमको आवश्यकता, महत्व र चुनौतीका सन्दर्भमा पनि लेखक ढुंगानाले पुस्तकमा गहन विषयवस्तु समेटेको देखिन्छ । यस सन्दर्भमा भएका सकारात्मक प्रयास र सामना गर्नुपरेका अप्ठ्याराका विषयमा पनि उनले चर्चा गरेकी छन् ।
यस्तै बेलकोटगढी नगरपालिकाको प्रथम उपमेयरका रुपमा निर्वाचित भएदेखि कार्यकाल पुरा गर्दासम्मका सबै प्रमुख घटनाक्रमहरुको विवरण र त्यसका शिक्षालाई ढुंगानाले पुस्तकमा उतारेकी छन् । यसैगरी नेपाल नगरपालिका संघको केन्द्रीय उपाध्यक्षका रुपमा निर्वाह गरेको भूमिका र नगरपालिका संघको आवश्यकता र महत्वका सन्दर्भमा पनि उनले विस्तारमा चर्चा गरेकी छन् ।
लेखक ढुंगाना नुवाकोटका निर्वाचित जिल्ला विकास समिति सभापति रहिसकेका लोकप्रिय विकासप्रमी नेता एवम् शहीद भरत ढुङ्गानाकी पुत्री हुन् । तत्कालीन सरकार–माओवादी वार्ताकालमा माओवादी पक्षको केन्द्रीय कार्यालय सचिवका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनका पिताको सानैदेखिको उत्प्रेरणा र सहादतपछिको परिवेशले कवितालाई पिताको सपना पूरा गर्ने अभियानमा जबरजस्त धकेलेको पुस्तकमा प्रष्ट अनुभव गर्न सकिन्छ ।
पुस्तकमा कविता लेख्छिन्, ‘कमरेड जंगवीर मेरो बुवाको पार्टी नाम हो । मेरा लागि यो नाम आदर्श र गौरवको प्रतीक हो । बुवासँग संघर्ष र त्यागको राजनीति मात्र हैन, निष्ठा र इमान्दारीरिताको विरासत पनि पाएकी छु । निःस्वार्थ समाज सेवा बुवाले मलाई दिएको विरासत हो । त्यसैले विरासत मेरा लागि जिम्मेवारी हो ।’ वाल्यकालमै आफ्ना पिता गुमाउन पुगेकी कविताले ‘वाल्यकाल र विरासत’ शीर्षकमा आफ्नो क्रान्तिकारी जीवन यात्राका दौरान उत्पन्न विचार र भावनाको समिश्रण गरेकी छिन् ।
पुस्तकको दोस्रो खण्डमा लेखक ढुंगानाले वित्तीय ब्यवस्थापन, नेतृत्व र शासनका विषयमा चर्चा गरेकी छन् । यसमा उनले बजेट, राजश्व सिर्जना, खर्च व्यवस्थापनदेखि लिएर विकास परियोजनाका लागि कोष सुनिश्चित गर्ने अनुभवजन्य विषयवस्तु समेटेकी छिन् । स्थानीय शासनको महत्व र त्यसले समुदायमा पार्ने प्रभावलाई उनले यस खण्डमा सविस्तार चर्चा गरेकी छिन् । यस खण्डको अन्त्यमा उनले उपप्रमुखका रुपमा काम गर्दाका अनुभव, पहल, पाठ र सुझावलाई शिलशिलेवार समावेश गरेकी छिन् ।
पुस्तकको अन्तिम खण्डमा विभिन्न तस्वीरहरु राखिएका छन् जसलाई समग्र पुस्तकको आँखीझ्यालका रुपमा लिन सकिन्छ । समग्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो जनताका घरआँगनसम्म पुर्याउन स्थानीय तहलाई अझ बलियो, प्रभावकारी र स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा लेखक ढुंगानाको जोड छ ।
राज्यको पुनःसंरचनासँगै संघीयतामा प्रवेश गरेको नेपालका ७५३ वटै पालिकाका निम्ति यो पुस्तक एक संग्रहणीय र पठनीय दस्तावेजको रुपमा लिन सकिन्छ । स्थानीय तहका विषयमा अध्ययन अनुसन्धान गर्न चाहने र रुचि राख्ने जोकोहीका निम्ति पुस्तक महत्वपूर्ण छ ।
खोजी प्रकाशनद्वारा प्रकाशित भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा लोकार्पण गरिएको पुस्तक ‘स्थानीय सरकारः अपेक्षा र अवस्था’ मा २४० पृष्ठ, तीन खण्ड र दश शीर्षक समेटिएका छन् ।
प्रतिक्रिया 4