
१५ कात्तिक, काठमाडौं । नेपाल सरकारका निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाश भएका छन् । रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालय र थापा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत थिए ।
दुई सचिवको अवकाशसँगै लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस पनि गरिसकेको छ ।
प्रशासनतर्फको रिक्त सचिवका लागि लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव राधिका अर्याल, कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको छ । तीन जनामध्ये बाट एक जनालाई सरकारले सचिवमा बढुवा गर्नेछ ।
रिक्त इन्जिनियरिङतर्फको सचिवका लागि भने विश्वबाबु पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको छ । वरिष्ठताका आधारमा चार पटक सिफरिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौं पटक भने एकल रुपमा सिफरिस भएको हो । मन्त्रिपरिषद बैठकले उनलाई इन्जिनियरिङतर्फको सचिव नियुक्त गर्ने पक्का छ ।
प्रतिक्रिया 4