
१६ कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी बढ्दा नाफा ९ प्रतिशतले बढेको हो । विभिन्न पूर्वाधारहरुमा लगानी गरी कम्पनीले ब्याजमार्फत आम्दानी गर्दै आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा ७६ करोड ८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जबकि गत वर्ष सो अवधिमा ६६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । ब्याज खर्च घटाउँदा कम्पनीले यो ३ महिनामा खुद ७० करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सो अवधिमा यस्तो आम्दानी ६५ करोड ५७ लाख थियो ।
पहिलो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ । गत वर्षको पहिलो त्रैमासमा ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको रेगुलेटरी प्रोभिजन भने बढेको छ ।
यसले गर्दा वितरणयोग्य नाफामा भने धक्का पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा जम्मा ८ करोड यस्तो प्रोभिजन छुट्याएकोमा यो वर्षको सो अवधिमा २० करोड छुट्याउनुपरेको छ । जसले गर्दा वितरणयोग्य नाफा २१ करोड २४ लाखमा खुम्चिएको छ । गत वर्षको यस अवधिमा यस्तो वितरणयोग्य नाफा २९ करोड ८५ लाख रुपैयाँ बराबर थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य सुधार देखिएको छ । वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा छ, पहिले यो ७ रुपैयाँ १ पैसा थियो । प्रतिसेयर खुद सम्पत्ति मूल्य (नेटवर्थ) ११२ रुपैयाँ छ ।
कस्तो छ कम्पनीको बिजनेस ?
सर्वसाधारणसहित विभिन्न संस्थाहरुबाट निक्षेप संकलन गर्ने, ऋणपत्र जारी गरी रकम जुटाउने र सो रकम पूर्वाधार आयोजनाहरुमा लगानी गर्ने कम्पनीको मुख्य बिजनेस हो ।
कम्पनीले निक्षेपकर्तालाई दिने र ऋणी आयोजनाबाट लिने ब्याज अन्तरबाट नै नाफा कमाउने हो । फन्ड संकलन र प्रवाह बढ्नु भनेकै कम्पनीको बिजनेस बढ्नु हो । विगतका त्रैमासलाई हेर्दा कम्पनीको बिजनेस र आम्दानी बढ्दै गएको देखिन्छ ।
सेयर बजारमा कमजोर प्रदर्शन
कम्पनीको मूल्यले सेयर बजारमा भने कमजोर प्रदर्शन गरिरहेको छ । कम्पनीको मूल्य जम्मा १८५ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात (पीईरेसियो)का आधारमा कम्पनीको मूल्य अझै महँगो देखिन्छ । कम्पनीको पीई रेसियो २४ छ ।
दोस्रो बजारमा सूचीकृत हुँदा फागुन २०७७ मा कम्पनीको मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । प्राथमिक बजारमा भर्नेजति सबैले आईपीओ पाएका थिए । तत्कालै उच्च मूल्यमा पुगेका बेला बेच्नेले भने राम्रो नाफा कमाए । तर, दोस्रो बजारमा सेयर खरिद गरेकाले भने यो कम्पनीमा मूल्य गुमाइरहेका छन् । विगत दुई वर्ष कम्पनीले दिएको लाभांश पनि सन्तोषजनक छैन ।
यो आर्थिक वर्ष लाभांश घोषणा गरिसकेको छैन । गत आर्थिक वर्ष ४.२१ प्रतिशत नगद लाभांश दिएको थियो भने अघिल्लो आर्थिक वर्ष ८ प्रतिशत बोनस सेयर दिएको थियो । दोस्रो बजारमा किन्नेहरु अधिकांशले यो कम्पनीमा घाटा ब्यहोरिरहेका छन् । विगत १ वर्षको ट्रेन्ड हेर्दा कम्पनीको न्यूनतम मूल्य १७६ रुपैयाँ ८० पैसा तथा अधिकतम मूल्य २६१ रुपैयाँसम्म छ ।
विगत ३ महिनाको कम्पनीको मूल्य ट्रेन्ड
प्रतिक्रिया 4