+

निर्णायक खेलअघि ओमानले देखाइदिएको नेपालको कमजोरी

२०८० कात्तिक  १६ गते १९:२४ २०८० कात्तिक १६ गते १९:२४
निर्णायक खेलअघि ओमानले देखाइदिएको नेपालको कमजोरी

६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि २६ रन चाहिएको थियो । नेपालसँग २ विकेट बाँकी थियो र स्ट्राइकमा थिए विवेक यादव, अर्को छेउमा करण केसी ।

एसोसिएट क्रिकेटकै अनुभवी र उत्कृष्ट बलर बिलाल खानको हातमा ओमानका अप्तान जिसन मक्सुदले  अन्तिम ओभर फाल्न बल थमाएका थिए ।

अघिल्ला तीन ओभरमा जम्मा १० रन मात्र दिएका बिलाल खानलाई २६ रन हान्न कठिन थियो, तर विवेक र करण दुवै हार्ड हिटर भएकोले असम्भव थिएन ।

करण अनुभवी थिए, यसअघि यस्तो अवस्थाबाट गेम जिताएका पनि थिए, तर अन्तर्राष्ट्रिय खेलको धेरै अनुभव नभएका विवेक स्ट्राइकमा थिए ।

क्रिकेट स्टेडियमा उपस्थित समर्थक झिनो आशाका बीचमा पनि नेपालको हौसला बढाउँदै थिए ।

विवेकले पहिलो बलमा छक्का हाने, समर्थककै आशा बढ्यो । दोस्रो बल वाइड भयो । त्यसपछिको बलमा पनि विवेकले छक्का नै हानेपछि दर्शक अझै उत्साहित भए ।

तेस्रो बलमा विवेकले अगाडि बढेर छक्का हानेपछि नेपाललाई जितका लागि ३ बलमा ७ रन आवश्यक थियो । नेपाल जित नजिक पनि पुगेको थियो । समर्थक चर्को स्वरमा नेपाल नेपाल भनेर कराइरहेका थिए ।

चौथो बलमा विवेकले ठूलो सट हाने । तर बल सिधै आकाशियो र आयान खानबाट उनी क्याच भए ।

अब नेपाललाई जितका लागि अन्तिम दुई बलमा ७ रन चाहियो । ११औं नम्बरमा क्रिजमा पुगेका अविनाशले पाँचौ बलमा सिंगल लिएर करण केसीलाई स्ट्राइक दिए ।

जितका लागि अन्तिम बलमा नेपाललाई छक्का आवश्यक भयो । करणसँग छक्का हानेर खेल जिताउन सक्ने क्षमता त थियो । तर बिलालले करणलाई कलिमुल्लाहबाट क्याच गराउँदै ओमानलाई ५ रनको जित दिलाए ।

नेपाल र ओमानबीचको खेलको सबैभन्दा रोमाञ्चक क्षण नै यही अन्तिम ओभर बन्यो । जहाँबाट नेपाल जित नजिक पुगेर पनि पराजित भयो ।

तर पनि लोअर अर्डरमा नेपालले विवेक यादवको रुपमा नयाँ खेलाडी पायो ।

‘विवेक हामीले आज अर्को खेलाडी पाएका छौं, विवेकको ब्याटिङ देखेर धेरै खुशी छौं’, खेलपछि आफैँ पत्रकार सम्मेलनमा आएका नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईँ भने ।

दिपेन्द्र सिंह ऐरी घाइते भएपछि प्लेइङ ११ मा परेका विवेकले यसअघिका २ खेलमा आफूलाई परीक्षण गर्न पाएका थिएनन् ।

कप्तान रोहितकुमार पौडेलले पनि विवेकको तारिफ गरे । ‘विवेकले जुन तरिकाले खेले एकदमै राम्रो ब्याटिङ गरे, हामीले खेल जितेको भए यो अझ राम्रो हुन सक्थ्यो’, रोहितले पोष्ट म्याच प्रिजेन्टेसनमा भने ।

विवेकसँग नेपाललाई जिताउने क्षमता छ भन्ने आफूहरुमा विश्वास रहेको र तर उनी आफैँ आउट हुनु नेपालको लागि दुर्भाग्य बनेको रोहितले बताए । पहिलो पटक यति ठूलो खेलमा ब्याटिङ गरेका उनले नेपालका लागि सर्वाधिक ३९ रन बनाउँदा २४ बल खेल्दै ५ छक्का प्रहार गरे ।

अनलाइनखबरको लाइभ कमेन्ट्रीमा क्रिकेट एक्सपर्ट रहेका शरद भेषावकरले पनि विवेकको ब्याटिङको राम्रो तारिफ गरे । ‘उसले गेमलाई अन्तिमसम्म तन्काएर जित नजिक पुर्‍याइसकेको थियो,’ शरदले भने, ‘यस्तोमा छाड्न हुन्थेन । हामीले अली इमोसनलाई कन्ट्रोल गरेको भए जित्न पनि सकिन्थ्यो ।’

विवेकले लगातार छक्का हान्दा ओमानका खेलाडीहरु पनि दबाबमा आएका थिए । ओमानका कप्तान जिसन मक्सुदले दर्शकले हुटिङले गर्दा विवेकको क्याच लिन को जाने भनेर निर्णय गर्न समेत गाह्रो भएको बताए ।

तर बिलालसँग क्षमता भएकोले उसले गर्न सक्नेमा विश्वास रहेको उनले बताए । ‘बिलालले के गर्न सक्छ भनेर थाहा थियो र उसले अन्तिममा डेलिभर गर्‍यो खुशी छौं,’ जितपछि मक्सुदले भने ।

शरद भेषावकरले दीपेन्द्र सिंह ऐरीको अभाव देखिएको बताए ।

‘टप अर्डर नचल्दा के हुन्छ भनेर आज देखियो, यसमा दिपेन्द्र फ्याक्टर पनि छ,’ शरदले भने, ‘उसले पहिला जिताएको भएर टिमलाई पनि विश्वास हुन्थ्यो । मे बी दीपेन्द्रले यही सिचुएसनबाट जिताउन सक्थ्यो कि ?’

ओमानसँगको हारले सेमिफाइनलअघि नेपाललाई नेपालको गहिराई कस्तो छ भनेर परिक्षण भएको शरदले बताए ।

साझेदारी नहुँदा पराजित

टस जितेर ओमानलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ गर्दै १४५ रनमा रोक्दा सहजै खेल जित्ने अपेक्षा थियो । तर नेपाल थोरैले चुक्यो ।

‘सोमपाल र करण दाइले पावर प्लेमा जसरी बलिङ गर्नुभयो त्यो राम्रो थियो । त्यसमा खुशी थियौं, बलिङ युनिट रुपमा धेरै राम्रो गरे,’ रोहितले भने, ‘ब्याटिङ युनिटमा हामीले अझ राम्रो गर्न सक्थ्यो । विशेष गरी टप अर्डर र एउटा सानो साझेदारीले पनि गेम हाम्रो पक्षमा पार्न सक्थ्यो । ब्याटिङ युनिटमा हामीले स्टेप अप गर्नुपर्छ ।’

लगातार विकेट जाँदा कुनै पार्टनरसिप नभएकोले खेलमा फर्कन गाह्रो भएको कप्तान रोहितले बताए ।

नेपालले यसअघि दुई खेल जित्दा ओपनरले राम्रो साझेदारीसहित सुरुवात दिलाएका थिए । तर ओमान विरुद्ध १३ रन हुँदै नेपालले तेस्रो ओभरमै  पहिलो विकेट गुमायो । आसिफ शेख ५ रन बनाएर आउट भए ।

त्यसपछि तेस्रो नम्बरमा आएका सोमपालसँग अर्का ओपनर कुशल भुर्तेलले इनिङ्स सम्हाले । २४ रनको साझेदारी पछि सोमपाल १२ रन बनाएर पाँचौ ओभरमा आउट भए ।

दुई विकेट गुमाए पछि पनि भुर्तेलले आक्रमक खेलिरहेका थिए । तर लगत्तै अर्को ओभरमा उनी २६ रन बनाएर आउट भए । १३ बल खेलेका उनेले १ चौका र ३ छक्का प्रहार गरे ।

त्यसपछि भने नेपालले नियमित अन्तरालमै विकेट गुमायो र राम्रो साझेदारी बनेन । कुशल मल्ल १०, रोहित र सन्दिप जोरा समान १२, गुल्सन झा ३ र सन्दीप लामिछाने २ रनमा आउट भए ।

नवौं विकेटका लागि विवेक र करणले गरेको ५४ रनको साझेदारी नै नेपालको इनिङ्सको ठूलो साझेदारी रह्यो ।

नेपाललाई जितबाट रोक्न ओमानका बिलालले ३ तथा सकिल अहमद र मेहरान खानले समान २ विकेट लिए । ओमानका कप्तान जिसन मक्सुदले सही समयमा सही बलर प्रयोग गर्दा विकेट लिन सफल भएका थिए ।

जिसनले रणनीति अनुसार विकेट आउँदा सहज भएको बताए । ‘हाम्रो बलिङ अट्याक अनुसार दोस्रो हाफमा २-३ विकेट चाँडै लिएर चेज गर्न कठिन हुन्छ भन्ने थियो । त्यसमा मेहरनले भुर्तेल र मल्लको महत्वपूर्ण दुई विकेट लिए । सकिब र अकिबले पनि राम्रो गर्दै महत्वपूर्ण विकेट लिए । यो टिम गेम हो र सबैले राम्रो प्रद्रर्शन गरे ।’

उनले केही क्याच ड्रप गरेर सधैं खेल नजितिने भन्दै त्यसमा काम गर्नुपर्ने पनि बताए ।

पावर प्लेमा सोमपाल र करणको उत्कृष्ट बलिङ

सोमपाल र करणले पावर प्लेमा उत्कृष्ट बलिङ गर्दा ओमानले २० ओभरमा १४५ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसानले नै सर्वाधिक ३२ रन बनाए । ओपनर प्रतिक अथावलेले २४ रन जोडे ।

लोअर अर्डरमा नसिम खुशीले १४ बलमा २५ रन जोड्दा सकिल अहमदले १७ बलमा अविजित २२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिँदा ४ ओभरमा ४३ रन खर्चिए । उनले अन्तिम ओभरमा १७ रन खर्चेका थिए । नेपालले ५ मात्र बलर प्रयोग गर्दा सबैले विकेट लिए ।

उत्कृष्ट बलिङ गरेका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीपले २ विकेट लिँदा ३० रन खर्चे । अविनाश बोहराले ४ ओभरमा १८ रन दिएर १ विकेट लिए भने गुल्सन झाले ३५ रन खर्चेर १ विकेट नै लिए ।

यूएईसँग निर्णायक खेल

यो जितले ओमानलाई सेमिफाइनलमा तुलनात्मक रुपमा केही सहज भएको छ । कारण उसले समूह चरणमा एउटा मात्रै खेल जितेको बहराइनलाई प्रतिद्वन्द्वी पाएको छ ।

तर नेपालले भने यो हारले सेमिफाइनलमा यूएईसँग खेल्नुपर्ने भयो । त्यसमा पनि मुलपानीको मैदानमा ।

दुवै सेमिफाइनलको विजेताले मात्र अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाउने भएकोले अब नेपालका लागि यूएई विरुद्धको खेल जित्नुको कुनै विकल्प छैन ।

सेमिफाइनल शुक्रबार ११ बजे सुरु हुनेछ । मुलपानीमा निर्णायक खेल हुँदा नेपाली दर्शकलाई थेग्न हम्मे पर्न सक्छ । त्यसैले नेपाल क्रिकेट संघ क्यानले अनलाइनमा ३५ सय टिकट मात्र बिक्रीमा राखेर समर्थकलाई घरमै बसेर टेलिभिजनमा खेल हेर्न आग्रह गरेको छ ।

कप्तान रोहितले भोलिको खेल राम्रो हुने र जित्ने गरी खेल्ने बताएका छन् । ‘यो राम्रो गेम हुनेछ । हामीले टिमको रुपमा ६-७ महिना राम्रो खेलेका थियौँ र त्यसलाई भोलि निरन्तरता दिनुपर्छ । हामी भोलि जित्न सक्छौँ ।’

नेपालले विश्वकप छनोटको तयारीस्वरुव खेलेको त्रिकोणात्मक टी-२० सिरिजमा यूएईलाई मुलपानीमै लिगको दुई खेलमा पराजित गरेको थियो ।

तर कीर्तिपुर भएको फाइनलमा भने नेपाल पराजित भएको थियो ।

शरद सेमिफाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँछन् । ‘यो खेल प्रतिस्पर्धात्मक र इन्ट्रेस्टिङ हुनेछ । मुलपानीको विकेट फरक छ । त्यहाँको पिच र कन्डिसनमा एडजस्ट पनि हुनुपर्छ । त्रिकोणात्मक सिरिज खेलेको अनुभवलाई प्रयोग गर्नुपर्छ ।’

प्रतियोगिताको पहिलो खेलअघि घाइते भएका दिपेन्द्र सिंह ऐरी खेलमा फर्कन्छन् कि फर्किँदैनन् भन्ने महत्वपूर्ण हुने शरदले बताए ।

मुख्य प्रशिक्षक देशाईँले दीपेन्द्रको बारेमा अहिल्यै निर्णयमा पुगिनसकेको र उनको करिअर पनि जोडिएकोले सामूहिक निर्णायक लिने जानकारी दिएका छन् ।

डेढ वर्षअघि ओमानमा भएको टी-२० विश्वकप छनोटमा सेमिफाइनलमा यूएईसँग नै पराजित हुँदा नेपाल विश्वकप पुग्नबाट चुकेको थियो ।

यसपटक नेपालक लागि घरेलु मैदानमै त्यो हारको बदला लिएर विश्वकप पुग्ने अवसर नेपालसँग छ ।

त्यसबेला नेपाली टिमसँग ओमान गए पनि शरदले चोटका कारण खेल्न पाएका थिएनन् । उनी भन्छन्, ‘अहिले धेर कुरा फरक छ । त्यो पास्ट भइसक्यो । विश्वकप पुग्न सेमिफाइनल त जित्नै पर्‍यो ।’

भोलिको खेलमा यूएईका लयमा रहेका कप्तान मोहमद वासिमको विकेट महत्व हुने शरद बताउँछन् ।

प्रशिक्षक मोन्टी देशाईँले आज हार्दा निराश भए पनि भोलि राम्रो खेलेर खुशी दिने बताए । उनले भने, ‘हामीलाई सुधार गर्न अर्को अवसर छ । एक दिन बाँकी छ हामीलाई विश्वास गर्नुस् हामी पुनरागमन गर्छौँ र डेलिभर गर्छौं ।’

तस्वीरहरू : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

टी-२० विश्वकप छनोट नेपाल भर्सेस ओमान नेपाल भर्सेस युएई मोन्टी देशाई रोहितकुमार पौडेल विवेक यादव शरद भेषावकर
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय