
१६ कात्तिक, विराटनगर । प्रहरीले अवैध सुनचाँदीको कारोबार गरेको आरोपमा पशुपति ज्वेलर्सका सञ्चालकलाई पक्राउ गरेको छ ।
बिहीबार ज्वेलर्समा छापा मारेको प्रहरी, राजस्व, प्रसाशन र भन्सार कार्यालयको टोलीले करिब २० किलो सुनचाँदीको गहनासहित सञ्चालक विश्वजित जानालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद गहना चाँदीका धेरै छन् ।
बिहीबार कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली उक्त सुन पसलमा पुगेको थियो । बरामद सुनचाँदीको विलबिजक नभेटिएको प्रहरीले बताएको छ ।
मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले विराटनगर महानगरपालिका–११ पिचरामा रहेको पशुपति ज्वेलर्समा छापा मार्दा सुन–चाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको बताए ।
सञ्चालक जानामाथि अनुसन्धान भइरहेको उनले बताए । ज्वेलर्सबाट बरामद भएका सामान तौलिएपछि यकिङ विवरण आउने उनको भनाइ छ ।
ज्वेलर्सका सञ्चालक विश्वजित जानाले भारतबाट भन्सार छली गरेर ल्याएर गरगहना एवं सामग्री बिक्री गर्ने गरेको सूचनापछि छापा मार्न प्रहरीको टोली पुगेको थियो ।
प्रहरीका अनुसार ज्वेलर्सबाट सुन–चाँदीका पाउजु, ब्रासलेट, करुवा, थाली, औंठी, दियो, लोटा, भगवानका मूर्ति, टिकादानीलगायतका सामान बरामद भएको छ ।
भारतको पश्चिम बंगालको मजलिसपुरस्थित पश्चिम मेदेनीपुर घर भएका जानाले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया 4