+
+
घुमघाम :

मुक्तिनाथको दर्शन गर्दै मुस्ताङको स्याउ कोसेली

जीवन लामा जीवन लामा
२०८० कात्तिक १७ गते ६:५१

अहिले मुस्ताङमा लटरम्मै स्याउ पाकेको छ । मुखै रसाउने स्वादिलो स्याउ पाकेर डाँडापाखा रंगीन बन्दा असाध्यै मनमोहक देखिन्छ, यो सिजनमा मुक्तिनाथ ।

मुक्तिनाथको दर्शन गरेपछि घर फर्किंदा आशीर्वादसँगै कोसेलीको रूपमा स्याउ ल्याउने गरिन्छ । त्यसैले यो मुस्ताङ घुम्ने र स्याउ चाख्ने सबैभन्दा उपयुक्त समय हो ।

त्यसैले, सामान्यतः अक्टोबरदेखि डिसेम्बरसम्म मुस्ताङमा पर्यटकको भीडभाड देखिन्छ । यो भीडमा स्वदेशी तथा विदेशी पर्यटकहरू हुन्छन् । विशेषतः भारतीय पर्यटकको चाप यतिबेला मुक्तिनाथमा बढी देखिन्छ ।

प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण गन्तव्य मुक्तिनाथ जीवनमा एकपटक पुग्ने इच्छा जो–कोहीले गर्छन् ।

पछिल्लो समय मुक्तिनाथ धार्मिक दृष्टिकोणले बढी चर्चामा रहेकोमा नयाँ पुस्ताले प्राकृतिक सुन्दरताको मनमोहक गन्तव्यका रूपमा आफ्नो प्राथमिकतामा राख्ने गरेका छन् ।

मुक्तिनाथ कोही हवाई रुटबाट जान्छन् भने अधिकांशतः स्थलमार्गबाट पुग्छन् । स्थलमार्गमा पनि हिंडेर र गुडेर पुग्ने दुवै विकल्प छन् ।

दशैं तिहारको बिदामा सरकारी कर्मचारीदेखि वैदेशिक रोजगारीबाट फर्केकाहरू बढी मात्रामा मुक्तिनाथ पुग्छन् । कतिपय त दोहोर्याई–तेहर्याई त्यहाँ पुगेका हुन्छन् । उनीहरू भन्छन्– एकपटक गएर कहाँ धीत मर्छ र मुक्तिनाथको !

मुक्तिनाथमा भेटिएका दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरको यो यात्रा तेस्रो रहेछ । प्रत्येक चोटि फरक अनुभूति लिन पाएको उनले बताए । अहिले स्थानीय तहले सडक, बजार व्यवस्थापन र भौतिक संरचनामा ध्यान दिएकाले पहिलाको भन्दा निकै सुविधा, सहजता र सुन्दरता बढेको अध्यक्ष थोकरको अनुभूति छ ।

समुद्री सतहबाट ३,७१० मिटरको उचाइमा रहेको मुक्तिनाथ हिन्दु र बौद्ध धर्मावलम्बीहरूको लागि ठूलो धार्मिक महत्वको तीर्थस्थल हो । हिन्दु र बौद्धधर्मी दुवैको विश्वास छ कि मुक्तिनाथ केही मन्दिरहरूमध्ये एक हो जहाँ पञ्चतत्व (आगो, पानी, आकाश, पृथ्वी र वायु) सबै पाउन सकिन्छ ।

मुक्तिनाथ मन्दिरको पछाडिको आँगनमा रहेको १०८ वटा जलाधारमा नुहाउँदा आत्माशुद्धि, नवीकरण र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । मुक्तिनाथ मन्दिर अन्नपूर्ण सर्किटमा पर्ने जोमसोमबाट २४ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । तसर्थ, अन्नपूर्ण सर्किट वरिपरि पदयात्रा गर्ने पदयात्रीहरूबाट मन्दिरको धेरै भ्रमण हुन्छन् ।

मुक्तिनाथ क्षेत्रलाई मुक्ति क्षेत्र भनेर पनि चिनिन्छ जहाँबाट मोक्ष प्राप्त गर्न सकिन्छ । नेपालका चार धाममध्ये यो एक हो । यस मन्दिरलाई वैष्णव सम्प्रदायले पवित्र मानिने १०८ दिव्य देशाटनमध्ये १०६औं मन्दिर मानिन्छ । वैष्णव साहित्यमा यसको प्राचीन नाम तिरु शालिग्राम हो ।

बौद्धहरूले यसलाई चुमिग ग्यात्सा भन्छन्, जसको तिब्बती अर्थ ‘सय पानी’ हो । तिब्बती बौद्धहरूका लागि मुक्तिनाथ डाकिनी, स्काई नर्तक भनेर चिनिने देवी र २४ तान्त्रिक स्थानमध्ये एक महत्वपूर्ण स्थान हो । तिनीहरूले मूर्तिलाई अवलोकितेश्वरको अभिव्यक्ति हो भनेर बुझ्छन्, जसले सबै बुद्धहरूको करुणालाई मूर्तरूप दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?