
नेपाली डायस्पोरा, गैरआवासीय नेपाली संघको एघारौं विश्व सम्मेलन विभिन्न कारणले विवादमा फस्यो। तीमध्ये एक कारण हो- नेकपा एकीकृत समाजवादीकी नेतृ तथा भूतपूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्री आयोजक पक्षबाट नै अपमानित भएपछि आक्रोशित मुद्रामा प्रस्तुत भइन्। उनले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी तिक्त टिप्पणीप्रति जस्तालाई त्यस्तै जवाफ दिएपश्चात् समग्र नेपाली सञ्चार क्षेत्र लगायत सामाजिक सञ्जाल तरंगित भयो। सम्बन्धित सबैले आफ्नो पक्षलाई पर्ने असर अनुसार नेतृ झाँक्रीलाई ताली र गाली पनि गरे। तीतो सत्यको सामना गर्ने हिम्मत जो–कोहीमा हुँदैन, जुन झाँक्रीले गरिन्।
उक्त सम्मेलनपछि भएको संघको निर्वाचन पनि विवादित बन्यो। नियोजित तरिकाले चुनाव जित्ने प्रमाण भेटिनु र गैरआवासीय नेपाली संघ टुक्रिनुले पनि झाँक्रीले भनेको कुरामा बल पुगेको छ। यहाँ भने चुनावी नतिजा र एनआरएन प्रवृत्तिभन्दा झाँक्रीको बहुचर्चित सम्बोधनमा डायस्पोराको साथै सिपाहीको सन्दर्भ उठेको र पंक्तिकार पनि पूर्वसैनिक भएकोले ‘सिपाहीको मन’ को आवाज प्रस्तुत गर्ने प्रयास गरेको छु।
के हो नेपाली डायस्पोरा ?
आफ्नो वास्तविक थातथलोबाट अन्यत्र स्थानमा छरिएर रहेका मानिसहरूलाई डायस्पोरा भनिन्छ। यस प्रसंगमा थातथलो भनेको देश र अन्यत्र भन्नाले विश्वका अन्य देशहरू बुझ्न सकिन्छ। सजिलो भाषामा भन्दा नेपालीहरू विश्वका अन्यत्र देशहरूमा उक्त देशको आवासीय अनुमति लिएर बसेका छन् भने उनीहरूलाई नेपाली डायस्पोरा भनेर बुझ्नुपर्ने हुन्छ।
विश्वमा विभिन्न राष्ट्रका अनेकौं डायस्पोरा छन्– तिनमा विशेष गरेर इजरायली यहुदी, असिरियन, चाइनिज, स्कटिस, इन्डियन लगायत। विश्वमा सबैभन्दा धेरै करिब ३ करोड इन्डियन डायस्पोरा छन् भने यकिन तथ्यांक नभए पनि नेपाली जनसंख्याको ठूलो हिस्सा (झन्डै दुईतिहाइ) नेपाल बाहिर रहेको अनुमान गर्न सकिन्छ। डायस्पोराको लागि बसाइँसराइ लगायत विभिन्न असहज परिस्थिति, शरणार्थी हुनुपर्ने कारण आदिले आफ्नो थातथलो छोडेर बाहिर बस्नुपर्ने बाध्यता छन्।
वर्तमान नेपाली डायस्पोराको परिस्थिति भिन्न छ। माथि उल्लेख गरिएका परिस्थिति भन्दा पृथक् अवस्थामा नेपालबाट विदेशमा अध्ययन, रोजगारीको खोजी, बन्दव्यापार, भ्रमण, सभा–सम्मेलन वा खेलकुद, धर्मान्तरण गरेर जाने, अमेरिकन भाग्यशाली चिट्ठा (ईडीभी) भरेर आदि अनेक अवस्थामा नेपालीहरू कानुनी वा गैरकानुनी रूपमा विदेशिएका हुन्। हालका दिनहरूमा विदेशिने क्रम बढेको तथा देशको राजनैतिक नेतृत्व न सुध्रिएमा भविष्यमा उक्त क्रम बढेर जाने निश्चित छ।
२०८० असोजमा सरकारी तथ्यांक अनुसार राष्ट्रिय चाड बडादशैंको समयमा समेत ५६ हजार २३५ जना नेपाली युवा विदेशिएका छन् जुन कुनै पनि अर्थमा राम्रो संकेत होइन। आ.व. २०७९/८० मा १२ खर्ब २० अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको थियो जुन नेपालको २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्बको झन्डै दुई तिहाइ आकारको हुनआउँछ जसले नेपाली अर्थतन्त्रको रेमिट्यान्समा अत्यधिक निर्भरता जाहेर गर्दछ।
कस्तो हुन्छ ‘सिपाहीको मन’ को आवाज ?
सिपाहीको मन जान्नुभन्दा पहिले सिपाही के हो बुझ्नु जरूरी छ। साधारण अर्थमा जनता र मातृभूमिको रक्षार्थ शत्रुसँग लड्दालड्दै वीरगति प्राप्त गर्न पनि पछि नपर्ने देशभक्त, इमानदार, प्रतिबद्ध, साहसी, निडर, प्रेरित, समर्पित, त्यागी, निष्ठावान, अनुशासित र वीर योद्धालाई सिपाही भनिन्छ।
सिपाहीको कुनै लिङ्ग हुँदैन, सिपाही महिला वा पुरुष जो पनि हुन सक्दछ। सिपाही दर्जा पाउनको लागि देशको सुरक्षाफौजमा आबद्ध हुनु जरूरी छ तर देशको वास्तविक सिपाही हुन कुनै दर्जाको आवश्यकता पर्दैन। माथि उल्लेख गरिएका गुणहरूले युक्त व्यक्ति जुनसुकै कार्यक्षेत्रबाट पनि देशको वास्तविक सिपाहीको भूमिका वहन गर्न सक्दछन्।
कुनै पनि राजनैतिक पार्टीका कार्यकर्ता हुन् वा कुनै अभियन्ता वा कुनै संस्थासँग आबद्ध व्यक्ति, उनीहरूले आफ्नो प्रतिबद्धता व्यक्त गर्न आफू सम्बन्धित पार्टी, संस्था वा अभियानको सिपाही भएको कुरा गर्दछन्। यहाँ सिपाहीलाई आलंकारिक रूपमा प्रयोग गरिएको हुन्छ। सिपाहीले मन, मुटुबाट काम गर्छ तसर्थ, सिपाही हुन बुद्धि विवेकभन्दा पनि मुख्यतया सिपाहीको मन अर्थात् इमानदारी, समर्पण र त्यागको जरुरत पर्दछ। यी गुणहरू भए माथि उल्लेखित गुणहरू स्वतः विकसित हुन्छन् र एक निष्ठावान सिपाहीको जन्म हुन्छ। सिपाही हुँ भन्नु र वास्तवमै सिपाही हुनु पौडी विषयमा विद्यावारिधि गर्नु र उर्लिएको नदीमा पौडी खेलेर पार गर्नु जति नै फरक कुरा हो।
सबै स्वस्थ व्यक्तिको बुद्धि बराबर हुन्छ तर उक्त बुद्धि केका लागि प्रयोग भएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। नत्र कक्षामा कमसल ठहरिएका विद्यार्थी वास्तविक जीवनमा कदापि सफल हुने थिएनन्। अधिकांश सफल र चर्चित व्यक्तिहरू आफ्नो स्कुले जीवनमा अब्बल विद्यार्थी थिएनन्। महात्मा गान्धी, नेपोलियन बोनापार्ट, साम मानिक्सा, बेन्जामिन फ्रान्क्लिन, बिल गेट्स, स्टिभ जब्स, वाल्ट डिस्ने, चार्ल्स डिकेन्स आदि अनेकौं चर्चित व्यक्तिहरू आफ्नो जीवनमा सफल तर कक्षामा कमसल विद्यार्थी थिए।
तसर्थ कुनै व्यक्ति कमसल बुद्धि भएर सिपाही हुँदैन तर निजमा माथि उल्लेखित अति आवश्यक गुण र क्षमता भएर मात्र सिपाही हुन्छ। सिपाही हुनेले आफ्नो जीवन देश र जनताको लागि आहुति गर्ने शर्तलाई आफ्नो जीवनको लक्ष्य बनाउँछ।
हाल संसारमा जति पनि देशहरू बनेका छन् ती सबै सिपाहीको मनको आवाजका प्रतीक हुन्। भन्नुको तात्पर्य देशभक्त र मातृभूमिका पुजारीले मात्र देश बनाउन सक्छन्। हाम्रा पौराणिक कथा लगायत विभिन्न धर्म ग्रन्थ र इतिहासले देखाएको तथ्य अनुसार देश निर्माणार्थ र धर्म रक्षार्थ सिपाहीहरू जन्मेका हुन्। देश, धर्म, कला, संस्कृति र सभ्यताको निर्माण, रक्षा र विकास सिपाही र सिपाहीको मन विना सम्भव भएको छैन।
डायस्पोरा र संशोधित नागरिकता ऐन
गैरआवासीय नेपाली नागरिकता भनेको दोहोरो नागरिकता होइन। पूर्वनेपाली नागरिक वा पूर्वनेपाली नागरिकको सन्तान भएको नाताले कुनै नेपाली मूलको विदेशी नागरिकले आर्थिक, सामाजिक वा सांस्कृतिक अधिकार उपभोग गर्ने गरी नेपाल राष्ट्रले दिने भनेको प्रमाण नै गैरआवासीय नेपाली नागरिकता हो।
संशोधित नागरिकता ऐनमा ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ व्यवस्था छ।
सरल भाषामा भन्दा गैरआवासीय नेपाली नागरिकले नेपालमा चुनाव लड्न, मतदान गर्न, सरकारी सेवामा आबद्ध हुन र नेपाली राहदानी पाउनबाट वञ्चित रहनेछन् तर सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधिहरू प्रचलित ऐननियम अनुसार निर्धक्क गर्न पाउनेछन्।
झाँक्रीको अभिव्यक्ति
झाँक्रीले उक्त विश्व सम्मेलनको प्यानल डिस्कसनको दौरान गैरआवासीय नेपालीलाई केही सवाल गरेसँगै सोल्जर भन्दा माथिको सोच बनाउन नसकेको कुरा केही अशिष्ट शैलीमा अभिव्यक्त गरेकी थिइन्।
उक्त अभिव्यक्ति गलत कि सही, स्पष्ट जवाफ हुँदैन। किनकि समाजशास्त्र अनुसार यस्तो उचित वा यस्तो अनुचित भन्न सकिंदैन। मानव प्रकृति अनुसार उनको अभिव्यक्तिले जसलाई सन्तुष्टि दियो उसलाई उचित लाग्यो र जसको मन पोल्यो उसलाई किमार्थ उचित लागेन। उचित र अनुचित पनि अवस्था र मनोदशाले निर्धारण गर्दछ।
खासगरी गैरआवासीय नेपालीलाई लक्षित गरी दिएको अभिव्यक्ति गैरआवासीय नेपाली र तिनमा आश्रित परिवारलाई पक्कै पनि राम्रो लागेको छैन। सुरक्षाफौजमा आबद्ध व्यक्तिहरूलाई पनि सिपाहीको स्तर भन्ने अभिव्यक्तिले मन पोलेकै हुनुपर्छ।
झाँक्रीले अवस्था अनुसार अभिव्यक्ति दिंदा समाजमा प्रचलित बोलीचालीको भाषा प्रयोग गरिन् जुन सत्य हुँदाहुँदै पनि आलोचित बन्यो। यसै सन्दर्भमा आलंकारिक रूपमा सोल्जर शब्दको प्रयोग गर्दा सुरक्षाफौजमा आबद्ध हामी सबै मर्माहत भएकै हौं। सिपाहीले दिएको आदेशको पालना गर्ने र दायाँ–बायाँ नसोच्ने यथार्थ हो, सिपाहीले आफ्नो जीवनको आहुति दिने लक्ष्य भन्दा फरक नसोच्ने भएकोले नै आफूलाई विवेकशील र बुद्धिजीवी भन्ने जमातले सिपाहीलाई कमसल बुद्धि भएको मान्न सक्दछन्।
हाम्रा अधिकांश डायस्पोराहरूले विदेशमा आफ्नो कामको सुरुवात होटल रेस्टुरेन्ट वा त्यस्तै सजिलै उपलब्ध हुने कामबाटै गरेको पनि यथार्थ नै हो। तसर्थ, एक अनुशासित ‘सिपाहीको मन’ को आवाज अनुसार नेतृ झाँक्रीले उक्त सम्बोधनमा भनेको यथार्थ हो। तर देशको पूर्वमन्त्रीले बोल्ने भाषाशैली कति माथि उठेको देखियो ? काम र पेशालाई बुझ्ने हाम्रो नेतृत्वको तरिका यही हो त ? यो पक्षबाट समीक्षा गरी भूल सुधार गर्दै सम्बन्धित सबै पक्षलाई उक्त अभिव्यक्तिले पर्न गएको चोटप्रति क्षमायाचना अपेक्षित छ।
(राजनीतिशास्त्रमा स्नातकोत्तर लेखक नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी हुन्।)
प्रतिक्रिया 4