
१७ कात्तिक, काठमाडौं । कर्जा असुलीमा समस्या हुँदा सम्भावित कर्जा नोक्सानीको लागि प्रोभिजन बढेसँगै ग्लोबल आईएमई बैंकको नाफा प्रभावित भएको छ ।
गत आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डुलाई गाभेर एकीकृत कारोबार सुरु भएको थियो । तर, गत आर्थिक वर्षको प्रथम त्रैमासमा छुट्टाछुट्टै कारोबार गरिरहेका यी दुई बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एकीकृत वित्तीय विवरण हुँदा पनि नाफा भने सामान्य मात्रै वृद्धि देखिएको छ ।
मर्जरको प्रोत्साहनको लागि स्प्रेड दर केही माथि हुँदा खुद ब्याज आम्दानीमा वृद्धि देखिए पनि निष्क्रिय कर्जामा भएको उच्च वृद्धिले सम्भावित कर्जा नोक्सानीको प्रोभिजनमा उच्च वृद्धि भएको छ, जसले बैंकको नाफा प्रभावित देखिएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । जुन गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डुसँग मर्जर अगाडि कमाएको नाफाभन्दा ३.०५ प्रतिशतले मात्रै बढी हो ।
गत आर्थिक वर्षको प्रथम बैंक अफ काठमाण्डुले पनि २८ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस आधारमा बैंकको मुनाफा घटेको हो ।
नेपाल राष्ट्र बैंकले मर्जरमा गएको बैंकलाई एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप एक प्रतिशत स्प्रेड दर कायम गर्न पाउने व्यवस्था गरेको छ । जसले गर्दा बैंकको स्प्रेड दर राष्ट्र बैंकले तोकेको अधिकत ४ प्रतिशतको सीमा भन्दा माथि ४.३४ प्रतिशत छ । सोही कारण बैंकको खुद ब्याज आम्दानी पनि बढेर ४ अर्ब ८० करोड पुगेको छ ।
गत आर्थिक वर्ष मर्जर अगाडि बैंकले प्रथम त्रैमासमा ३ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको थियो । यस आधारमा बैंकको खुद ब्याज आम्दानी ४९.४९ प्रतिशले बढेको छ । तर, मर्जर अगाडि प्रथम त्रैमासमा बैंक अफ काठमाण्डुले पनि करिब १ अर्ब २३ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा दुवै बैंकले आर्जन गरेको खुद ब्याज आम्दानीभन्दा चालु आबको सोही अवधिमा बैंकले आर्जन गरेको खुद ब्याज आम्दानी बढेको भए पनि बैंकको सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम उल्लेख्य रुपमा बढेको छ । जसले गर्दा बैंकको नाफा भने बढ्न सकेन ।
गत असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको निक्षेप ३.९१ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब पुग्दा कर्जा लगानी ०.२७ प्रतिशतले बढेर ३ खर्ब ५७ अर्ब ३७ करोड पुगेको छ ।
गत आर्थिक वर्षको प्राथम त्रैमासमा २.१ प्रतिशत रहेको ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.३८ प्रतिशत पुगेको छ । जसले बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन उल्लेख्य रुपमा बढेको छ । बैंकको प्रोभिजन १४४ प्रतिशतले बढेर १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंको प्रथम त्रैमासमा ७८ करोड प्रोभिजन थियो । यसबाहेक बैंक अफ काठमाण्डुले पनि करिब ४३ करोड प्रोभिजन गरेको थियो ।
कर्जा नोक्सानीको प्रोभिजन बढ्दा बैंकको समग्र आम्दानी बढे पनि सञ्चालन मुनाफा र नाफा भने उल्लेख्य रुपमा बढ्न सकेन ।
बैंक अफ काठमाण्डुसँगको मर्जर अगाडिको लाभांश समेत गरेर चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख पुगेको छ । तर, मर्जर अगाडिको ग्लोबल आईएमई बैंकको हाराहारी मात्रै नाफा आर्जन गर्दा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँबाट १३ रुपैयाँ ७१ पैसामा झरेको छ । असोज मसान्तमा बैंकको सञ्चित मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख र जगेडा कोष २१ अर्ब १० करोड ६७ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात १४.७४ गुणा छ ।
असोजमा बैंकको पूँजीकोष अनुपात १३.२७ प्रतिशत, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.१८ प्रतिशत र आधार दर १०.०७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4