
१७ कात्तिक, काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढ्दा नबिल बैंकको नाफा खस्किएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सो अवधिको तुलनामा नाफा घटेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको मुख्य आम्दानी अर्थात् खुद ब्याज आम्दानी भने गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ६७ करोड रहेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १७ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा बढ्दा नाफामा असर देखिएको हो । बैंकको निष्क्रिय कर्जा ३.६९ प्रतिशत पुगेको छ, पहिले यो २.३३ प्रतिशत थियो । निष्क्रिय कर्जासँगै इम्पेरिमेन्ट चार्ज ९९ करोडबाट बढेर १ अर्ब ११ करोड पुगेको छ ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७२ पैसामा झरेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २७ रुपैयाँ १ पैसा थियो । बैंकको सिडी रेसियो ८६.५३ प्रतिशत छ । बैंकको नेटवर्थ २१८ रुपैयाँ २७ पैसा छ । यसअघि गत आर्थिक वर्षको पहिलो त्रैमासमा २३३ रुपैयाँ २८ पैसा थियो ।
बैंकको आधार दर ९.५८ प्रतिशत छ । यसअघि गत वर्षको पहिलो त्रैमासमा यस्तो दर ९.४५ थियो । बैंकको स्प्रेड दर ४.०३ बाट ३.९९ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया 4