
१७ कात्तिक, काठमाडौं । मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा ह्वात्तै बढेको छ । बैंकले ऋणीबाट समयमा उठाउन नसकेको कर्जालाई निष्क्रिय कर्जाले जनाउँछ । लक्ष्मी सनराइज बैंकको यस्तो निष्क्रिय कर्जा कुल कर्जामा ४.६९ प्रतिशत अर्थात् ११ अर्ब ६३ करोड रुपैयाँ बराबर पुगेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा कुल कर्जामा १.७२ प्रतिशत थियो । बैंकको नाफामा पनि भारी गिरावट आएको छ । बैंकले साउनदेखि असोज मसान्तसम्म जम्मा १० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५० करोड ३४ लाख थियो । बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८६ करोड पुगेको छ ।

मर्जपछि दुई बैंकको समग्र ब्याज आम्दानी जोडिएकाले उच्च वृद्धि देखिएको हो । समयमै कर्जा र त्यसको ब्याज रकम उठाउन नसकेपछि बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) पनि ह्वात्तै बढेको छ ।
गत वर्षको पहिलो त्रैमासमा इम्पेरिमेन्ट चार्ज ४३ करोड ९४ लाख रुपैयाँ रहेकोमा यो वर्षको त्रैमासमा २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
आगामी समय कर्जा रकम उठाउनु बैंकका लागि सबैभन्दा ठूलो चुनौती देखिएको छ । निक्षेप तथा कर्जाको औसत ब्याज अन्तर (स्प्रेड दर) ४.४१ प्रतिशत छ । हाल अन्य बैंकलाई स्प्रेड दरको सीमा ४ प्रतिशत तोकिए पनि मर्जका कारण यो बैंकले सुविधा उपयोग गरेको छ । बैंकको आधार दर १०.८ प्रतिशत छ ।
प्रतिक्रिया 4