१७ कात्तिक, काठमाडौं । नेपालले यूएईलाई हराएर टी-२० विश्वकपमा छनोट भएपछि मलाई अहिले बोल्न लेख्न पनि गाह्रो भइरहेको छ । इमोसन छ । विश्वकप खेल्न धेरै कुर्नुपर्यो, १० वर्ष नै कुर्नुपर्यो ।
सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेपछि अबको विश्वकप हामीले खेल्छौं भन्दा भन्दा १० वर्ष बिते छ, छनोट हुन सकेनछौं ।
बीचमा धेरै घटनाहरु भए । भूकम्प गयो । नेपाल क्रिकेट संघ क्यान निजम्बनमा थियो । त्यो हाम्रो नियन्त्रणमा नभएको कुरा हो ।
खेलाडीहरु हामी सबैले आफ्नो इफोर्ट लगाएका थियौं । तर दुर्भाग्यवश हामी छनोट हुन सकेनौं ।
तर यसपालि ढिलै भए पनि हामी विश्वकपमा छनौट भयो । यो छनोट प्रतियोगिता नै दशैं तिहारको माहोलमा भयो । छनोट भइयो, खुशी लागेको छ । हाम्रो देशको लागि खुशी थपिएको छ ।
सन् २०१४ मा अहिले विश्वकप पुगेको अनुभव तुलना गर्न गाह्रो छ । मैदानमा प्रस्तुत भएका सबैको अनुहारको खुशीले यो देखाउँछ ।
विश्वकप भनेको ठट्टा होइन, विश्वकपमा खेल्ने भनेको खेलुकदमा सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ ।
यूएईसँगको मिठो बदला
क्रिकेटमा नेपाल र यूएईबीच अहिले जुन प्रतिस्पर्धा भइरहेको छ, त्यो भारत र पाकिस्तान तथा इंग्ल्याण्ड र अष्ट्रेलियाको जस्तै प्रतिद्वन्द्वीका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा देखिएको छ ।
तर हामी एक अर्कालाई सम्मान गर्छौँ । मैदानमा जित्नकै लागि खेल्छौं ।
यूएईसँगको यो जित एउटा मिठो बदला रह्यो । किनकी लास्ट टाइम सन् २०२२ को टी-२० विश्वकपका लागि भएको छनोट प्रतियोगितामा म पनि सुरुमा टिममा थिएँ । त्यो बेला छनोट हुने ठूलो आशा थियो । तर ओमानमा भएको त्यो प्रतियोगितामा हामी सेमिफाइलनमा यूएईसँगै पराजित भएका थियौं । हामीलाई हराउँदै यूएईले सन् २०२२ को विश्वकप खेलेको थियो ।
सन् २०२२ को विश्वकप छनोट खेल्ने युवा टिम थियो । अहिले विश्वकप छनोट खेल्ने त्यही युवा टिम हो, यो टिमले धरै अनुभव बटुलेर खेलेको छ । जसरी आज यो टिमले खेलेर जित्यो त्यसले पनि यो टिम कुन लेभलमा पुगिसकेको छ भनेर देखाउँछ र अब कहाँ जानुपर्छ भने र पनि ।
अहिले टिम लयमा छ । नेपाल क्रिकेट संघ क्यानको पनि राम्रो समर्थन छ । खेलाडी जसरी मिहिनेत गरेका छन् ‘स्याक्रिफाइस’ गरेका छन् त्यसको नतिजा देखिएको छ ।
लयमा भएको टिमबाट जब गेम हारिन्छ दु:ख त लाग्छ । तर हिजोको ओमानसँगको हारपछि कमब्याक गर्ने अवसर र मिस्टेकबाट सिक्ने मौका पायौँ र आज हामीले ब्याटिङ लाइनअपमा ड्रयास्टिक इम्प्रुभमेन्ट देख्यौँ ।
यूएईविरुद्ध आज हामीले जसरी खेल्यौं । ठूलो स्कोर पनि थिएन र रिस्क लिनुपर्ने जरुरी पनि थिएन । आसिफले सुरु देखि कन्ट्रोलमा राखेका थिए । बलिङ ब्याटिङ, फिल्डिङमा हामीले आज यूएईलाई हराएकै हो ।
मुलपानीमा मैले पनि खेलेको छु । दशैँ तिहारमा चिसो भित्रिँदाँ सुरुको ६-७ ओभर महत्वपूर्ण नै हुन्छ । ठूलो फरक नपरे पनि बलले केही हर्कत गरिराख्छ । आज पनि गर्यो । बल उफ्रेर कतिचोटी ब्याटरको ग्लोभ्समा पनि लागिराखेके थियो । त्यसले ब्याटरलाई खुलेर खेल्ने अवसर दिँदैन ।
बिहानको कन्डिसनमा सहयोग गर्यो । बलिङ टिमलाई नयाँ बलले सहयोग गर्यो । पछि सन्दीप र कुशलले राम्रो गरे । विशेष गरी सन्दीपले बल धेरै घुमाइराखेको थियो, मैंले त्यस्तो बल घुमेको यो टुर्नामेन्टमा देखेको थिइनँ । यस्तो घुम्यो कि ब्याटरलाई डाउट पनि भयो ।
भाइटल गेममा उसले कन्ट्रिबुट गर्यो त्यसमा पूरा बलिङ युनिट र सन्दीपलाई पनि क्रेडिट दिनुपर्छ ।
ओपनर आसिफको इनिङ्स ब्रिलियन्ट थियो । यस्तै इनिङ्स नकआउट गेममा पारसले २०१३ को क्वालिफायरमा हङकङ विरुद्ध खेलेका थिए, जुन खेलमा मैले गएर फिनिस मात्र गरेको थिएँ । त्यतिबेला चौथो नम्बरमा ब्याटिङमा आएका पारसले ४६ रन बनाएका थिए । त्यस्तै खाले इनिङ्स आज आसिफले खेले, जुन टिमको लागि सिचुएसन अनुसार आवश्यक पनि थियो ।
जसले जे भने पनि मुलपानीको मैदानमा १३४ को लो टोल पनि वर्ल्ड कप वाला गेम थियो । यो एउटा गेमले गर्दा जे पनि हुन सक्थ्यो र प्रेसर पक्कै थियो र त्यसलाई जसरी ओभरकम गरे उनले त्यो महत्वपूर्ण रह्यो यो गेममा । यसले उनको क्षमता कति छ, काल्मनेस र कम्पोजर कति छ भनेर देखियो यस गेममा । यस्तो गेमले प्लेअरलाई चिन्न सजिलो हुन्छ ।
म जहिले भन्ने गर्छु क्रिकेट टिम गेम हो । २०१४ को विश्वकपमा छनोट हुँदा सञ्चार माध्यममा मेरो पनि चर्चा भयो । तर त्यसमा त पूरा टिमको कन्ट्रिबुसन थियो । म भन्दा अघि अरुले पनि रन बनाएका थिए । लक्की भएँ कि जिताउने ठाउँमा म थिएँ । इमानदार भएर भन्दा मैले चाहीँ सोचेको थिइनँ कि टिमलाई विश्वकप पुर्याउन सक्छु भनेर ।
त्यो बेला र अहिले उस्तै इमोसन छ । अझ भन्दा अहिले बाहिर बसेर हेर्दा ममा धेरै इमोसन निस्किराछ । मैले खेल्दा जुन इमोसन आउथ्यो, त्यो बेला के भइराखेको थियो थाहा नै थिएन, तर अहिले जसरी भाइहरुले गरेर देखाए यसबाट मन यति धेरै प्रफुल्लित भएको छ कि म त्यो खुसी शब्दमा देखाउन सक्दिनँ ।
खेलपछि नेपाली टिमले रातो र चन्द्र सूर्य भन्ने गीत बजाएर जुन एकता प्रदर्शन गर्दै आएको छ, दर्शकदीर्घामा बसेको मलाई पनि भाइहरुले शरद दाइ भन्दै बोलाएर सहभागी गराए । त्यो बेला आँशु पनि झर्यो, कोच खेलाडीहरु पनि रोइरहेका थिए ।
अब अलिकति प्रशंग बदलौं, मेरो विचारमा अबका दिनमा हामीले ठूला टिमसँग खेल्नु भन्दा ठूला टिमले हामीसँग खेल्नुपर्छ भनेर सोच्छन् होला । जसरी हामीले क्रिकेट खेलिराखेका छौं ।
एसिया कप र एसियान गेम्समा राम्रो खेल्यौँ । जुन तरिकाले हामी अहिले विश्वकपमा छनोट भयौँ, पहिला हामी छनोट हुँदा गेमहरु निकै क्लोज थियो जसरी अहिले हामीले सेमिफाइनल एकपक्षीय जस्तै भयो नि त ।
हाम्रो जितको तरिकाले पनि देखाउँछ कि हाम्रो क्रिकेटको लेभल कहाँ छ भनेर । त्यसैले हामीले डराउनु भन्दा पनि ठूला टिमहरुले पो त हामीसँग खेल्दा डराउनुपर्छ जस्तो लाग्छ ।
अब आउने विश्वकपमा हाम्रो टिमले देखाउँछ । विशेषगरी मलाई यो टिममा विश्वास थियो । यो टिममा जति पनि खेलाडी आएका छन् त्यो टी-२० खेलेर नै ग्रुम भएका छन् । त्यसले गर्दा मलाई डाउट त थिएन, तर क्रिकेट गेम नै फन्नी गेम भनिन्छ र जे पनि हुन सक्छ ।
म एकदमै खुशी छु कि यो टिमलाई क्रेडिट जान्छ । अघि मैले खेलाडीलाई भेट्दा पनि एकदमै इमोसनल भइराखेको थियो, उनीहरुलाई विश्वकप पुग्यो भनेर विश्वासै लागिराखेको थिएन । हाम्रो टिमलाई पनि त्यही इमोसनल थियो पहिला ।
पहिला र अहिलेको टिमलाई तुलना त गर्न मिल्दैन । समय फरक थियो र धेरै कुरा चेन्ज भाछ । तर मेरो विचारमा क्षमता र सीपमा हेर्ने हो भने पहिलाको टिमले यो टिमलाई म्याच गर्न सक्दैन । त्यो बेला पनि टिममा एकदमै राम्रा खेलाडीहरु थिए तर अहिलेको समग्रमा ११ जनाको युनिटमा म्याच जिताउने क्षमता छ ।
त्यो बेला सायद टिममा मात्र थियो कि जस्तो लाग्छ । मैले अरुसँग थिएन भन्न खोजेको होइन । तर ४-५ जनाको ठूलै वर्चस्व थियो टिममा । तर अहिलेको टिममा ११ जनैमा उस्तै क्षमता छ त्यो दिन जसले राम्रो खेल्छ उसले जिताउन सक्छ ।
अब हामीले अर्को पाउनु पर्ने कुरा भनेको ५० ओभरको विश्वकप र टेष्ट मान्यता पाउनु हो । यो दुई कुराको टार्गेट हुनुपर्छ । कोच, म्यानेजमेन्ट, क्यान र हामी सबै जना फ्यानको सपना नै त्यही छ । नेपालले चाँडै अब आउने वान डे विश्वकप खेलोस् टेष्ट मान्यता पाओस् । लेट्स होप एण्ड प्रे । अब हेर्दै जाम एक्साइमेन्टका साथ । कोचले भन्नुहुन्छ, ‘लेट्स वाक इन द अननोन विथ दी एक्साइटमेन्ट ।’
त्यो सही पनि भइराखेको छ । हेर्दै जाउँ अझ राम्रो दिनहरु आउनेछ ।
पूर्वाधारमा जोड दिनुपर्छ
अब हामीले पूर्वाधारमा पनि जोड दिनुपर्छ । म २५ वर्षदेखि पूर्वाधार नभएकोको कुरा सुनिराखेको छु यो दु:ख लाग्दो छ । तर इमानंदार भएर भन्दा सरकारबाट मौखिक बाहेक अरु सपोर्ट भएन । स्टेडियम बनाउने कहिल्यै प्राथमिकतामा भएन । सबैलाई थाहा थियो नेपाली क्रिकेटमा कति अवसर छ र हामी कहाँ पुग्न सक्छौं भनेर ।
तर अहिलेसम्म किन पुगेन भन्दा चाहीँ क्रिकेटमा इन्भेष्टमेन्ट नै थिएन र क्यानले एक्लैले गर्न सक्ने अवस्था नै थिएन । किनकी जुन फण्डिङ आउँथ्यो त्यसले प्लेअर क्याम्प राख्न, ट्रेनिङ गर्न पनि लगभग अझै पुग्दैनथ्यो । सरकारबाट खै त लगानी । मुलपानी मैदान अझ पनि पूर्ण रुपमा बनिसकेको छैन । यस्तो ठाउँमा मैदान बन्नु राम्रो कुरा नै हो । तर अझै पनि अन्तर्राष्ट्रिय सुविधा भएको विथ फ्लड लाइट दर्शकलाई पुग्ने खालको स्टेडियम छैन ।
कसले गर्ने त भन्दा सरकारले गर्ने हो । तर कहिले गर्ने त भन्दा ठूलो प्रश्न छ ।
म त हात जोडेर भन्छु कि हामीलाई ५-१० वटा स्टेडियम चाहिएको छ । बन्दै पनि छ तर एकदमै स्लो भयो । कसरी यसलाई लगानी गरेर प्राथमिकतामा राखेर गर्ने भन्ने सरोकारवालाकै हातमा छ । उनीहरुलाई लगानी गर्नुस नै भन्छु म ।
समर्थकहरू १२औं खेलाडी मात्र होइन उहाँ टिमकै सदस्य जस्तो भइसक्नुभयो । उहाँहरु सपोर्टले गर्दा त टिमलाई जित्न उर्जा थपिन्छ । तर हाम्रो टिमको खेल हार्दा वा जित्दा रुटिन नै उहाँहरुलाई गएर टिमले थ्याङ्यु भन्नुहुन्छ । उहाँहरु टिमकै पार्ट हुनुहुन्छ । पूरै देशनै टिमकै साथ छ भनेर । टिम र समर्थकलाई छुट्याउन मिल्दैन र यसरी नै अगाडि बढेमा भविष्यमा अझ ठूलो उपलब्धीहरु हासिल गर्नेछौँ ।
तस्वीर तथा भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4