१७ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले नेदरल्याण्ड्समाथि ७ विकेटको जित हात पारेको छ । यो जितसँगै ८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको अफगानिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ ।
भारतको लखनउमा नेदरल्याण्ड्सले दिएको १८० रनको लक्ष्य अफगानिस्तानले ३१.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
उसको सुरुवात भने राम्रो थिएन । ५५ रन जोड्दा २ विकेट गुमाएको अफगानिस्तानका लागि कप्तान हशमतुल्लाह शाहिदीले महत्वपूर्ण पारी खेले । उनले तेस्रो विकेटका लागि रहमत शाहसँग ७४ रनको साझेदारी गरे । शाह ५२ रनमा आउट भए ।
त्यसपछि चौथो विकेटका लागि अज्मतुल्लाह उम्रजाईसँग अविजित ५२ रनको साझेदारी गर्दै जित दिलाए । शाहिदी ५६ र उम्रजाई ३१ रनमा अविजित रहे ।
यसअघि टस जितेर ब्याटिङ थालेको नेदरल्याण्ड्सले ४६.३ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमाएको थियो । साबइब्रान्ड एंगेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए ।
मात्र तीन रन जोड्दा ओपनर वेस्ली बरेसी व्यक्तिगत एक रनमा आउट भएका थिए । म्याक्स ओडड र कलिन एकरम्यानले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरे । ओडड ४२ रनमा आउट भए ।
त्यसपछि आएका एंगेलब्रेक्टले एकातर्फ पारी सम्हालेपछि अर्कोतर्फ विकेट गइरह्यो र १७९ रन जोड्दा अलआउट भयो ।
नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा मोहम्मद नाबीले ३ विकेट लिए भने नुर अहमदले २ र मुजिर उर रहमानले १ विकेट लिए । अफगानिस्तानले नेदरल्याण्ड्सका चार ब्याट्सक्यानलाई रनआउट गराएको थियो ।
यो जितसँगै ७ खेलबाट अफगानिस्तानको ८ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको अष्ट्रेलिया र चौथो स्थानमा रहेको न्यूजिल्याण्डको पनि समान ८ अंक छ । यद्यपि अष्ट्रेलियाले एक खेल कम खेलेको छ ।
प्रतिक्रिया 4