+
+

प्रचण्डकै पथमा कोशीमा मुख्यमन्त्री कार्की

हरि अधिकारी हरि अधिकारी
२०८० कात्तिक १७ गते २१:३५

१७ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका छन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका प्रदेश सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका प्रदेश सांसद कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरे ।

केन्द्रीय गठबन्धनमा आवद्ध दललाई सरकारमा सहभागी गराएपछि कांग्रेस संसदीय दलका नेता सांसद उद्धव थापा, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लगायतले मुख्यमन्त्री कार्कीलाई माला र खादा लगाएर बधाई दिएका छन् ।

तर नेकपा एमाले भने असन्तुष्ट बनेको छ । मुख्यमन्त्री सहमति विपरित चलेकाले आफूहरु सरकारबाट बाहिरिने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी बताउँछन् ।

प्रचण्डकै पथ

कांग्रेस प्रदेशसभा सदस्य कार्की संविधानको धारा १६८ (५) अनुसार २७ असोजमा मुख्यमन्त्री बनेका थिए ।

अल्पमतको सरकार बनाएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि केन्द्रीय सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । तर कार्कीले पार्टी र गठबन्धनको निर्णय मानेनन् ।

आफ्ना दलका आफूसहित ८ प्रदेशसभा सदस्य जुटाएका उनले एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे । बहुमत (४७) प्रदेशसभा सदस्यले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर हस्ताक्षर सनाखत गरेपछि कार्की मुख्यमन्त्री नियुक्त भए ।

तर उनको नियुक्तअघि नै नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनलाई कायमै राख्ने सहमति गरिसकेका थिए । त्यही सहमतिको आधारमा कार्कीले १ कात्तिकमा विश्वासको मत लिँदा माओवादी सहितका दलले विश्वासको मत दिए ।

त्यसपछि कांग्रेस नेतृत्वले माओवादी सहितका दललाई सरकारमा सहभागी गराउन दबाव दियो भने एमालेले भने कांग्रेस र एमाले मात्र सरकारमा हुनुपर्ने अडान लियो । कार्कीले एमाले नेताहरुसँग सहमतिको सरकार बनाउने प्रस्ताव नराखेको होइनन् । तर एमाले नेतृत्व त्यसका लागि तयार छैन ।

शुक्रबार बिहान केन्द्रीय गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छलफल गरेपछि कार्की माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबाट १–१ जनालाई सरकारमा सहभागी गराउन तयार भए ।

स्रोतका अनुसार गठबन्धन दलका नेताहरुले एमालेबाट मन्त्री बनेका राम रानालाई पनि बर्खास्त गर्न दबाब दिएको थियो । तर संकटमा आफूलाई साथ दिएकाले बर्खास्त भने गरेनन् ।

कांग्रेसका एक प्रदेश सांसदले मुख्यमन्त्री केदार कार्की प्रधानमन्त्री प्रचण्डको बाटोमा हिँडेको बताउँछन् । ‘मुख्यमन्त्री नपाएपछि एमालेसँग मिल्नु भयो, विश्वासको मत पाएपछि पार्टी र गठबन्धनमै आउनु भयो’, ती नेता भन्छन्, ‘प्रचण्डकै जस्तो शैली भयो ।’

२०७९ मंसिरको निर्वाचनमा गठबन्धन गरेको कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व दिन तयार नभएपछि प्रचण्ड १० पुस २०७९ मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

विश्वासको मत लिने बेलामा कांग्रेसको समेत साथ खोजेका उनी राष्ट्रपति निर्वाचनसँगै कांग्रेस सहितको गठबन्धनमा फर्किएका थिए । त्यसपछि एमालेले सरकार छाडेको थियो ।

कोशीमा कांग्रेस र सत्तारुढ गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की पनि विश्वासको मत लिएपछि पुन गठबन्धनमा फर्किएका हुन् । हालै झापामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्की स्वयंमले पनि आफू प्रचण्डकै शैली अपनाएको स्वीकार गरेका छन् ।

‘हिजो प्रधानमन्त्री दिन पार्टी तयार नहुँदा प्रचण्डजी एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभयो । हामीमध्ये कतिले गाली ग¥यौं, कतिले ठिकै गरे भन्यौं । तर पछि उहाँ कांग्रेससहितको गठबन्धनमा फर्कनुभयो’, अहिले एमालेसँग एमालेसँग मिल्नु आफ्नो बाध्यता रहेको भन्दै मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘मैले पनि यहाँ विद्रोह गरें, विद्रोह सफल भएपछि पार्टीमै फर्किए ।’

यद्यपि माओवादी र एकीकृत समाजवादीबाट मन्त्री बनाउनुलाई उनले सहमतीय सरकार बनाउने प्रयास भनेका छन् । पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डाअनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै एमाले सरकारबाट नबाहिरिने विश्वास व्यक्त गरे ।

एमाले नेताहरुले भने सरकारबाट बाहिरिने बताएका छन् । यसबारे औपचारिक निर्णय भने आगामी सोमबार बस्ने संसदीय दलको बैठकले गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । ‘गठबन्धन दल सहभागि भए बाहिरिन्छौं भनेर हामीले प्रष्ट रुपमा भनेका छौं’ उनले भने, ‘सोमबार निर्णय गर्छौं ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?