
१८ कात्तिक, काठमाडौं । रुकुम आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जिल्लाको चारवटा वडामा बढी क्षति पुगेको बताइन् । उनका अनुसार, अस्पतालहरुमा बिरामी ल्याउने क्रम बढिरहेको छ ।
शुक्रबार रातिको भूकम्पछिले पुर्याएको क्षतिको विवरण उनकै शब्दमा :
रातिको भूकम्पपछि घाइते भएकाहरुलाई अस्पताल ल्याउने क्रम चलिरहेको छ । अहिले आठविसकोट, चौरजहारी र जिल्ला अस्पतालमा घाइतेहरु लैजाने क्रम चलिरहेको छ ।
अस्पताल ल्याएका केहीको मृत्यु भएको छ । त्यसको संख्या हामीले यकिन गर्न सकेका छैनौं ।
भूकम्पपछि केही ठाउँमा पहिरोले बाटो अबरुद्ध भएको रहेछ । राति नै मेसिन (डोजर) परिचालन गरेर हामीले सकेसम्म बाटो खुलाएका छौं । घाइतेहरुलाई अस्पताल लैजान कठिनाइ नहोस् भनेर हामीले मेसिन तयारी अवस्थामा राखेका छौं ।
रातिको समय भएकाले घाइतेहरुको उद्धार गर्न कठिनाइ भएको छ । सबै ठाँउमा हामीले समन्वय गरेर घाइतेहरुलाई छिटोभन्दा छिटो अस्पताल पुर्याउने प्रयास गरिरहेका छौं ।
हालसम्मको सूचना अनुसार, आठविसकोट नगरपालिकाको चारवटा वडामा बढी क्षति पुगेको छ ।
वडा नं. ११, १२, १३ र १४ मा बढी क्षति पुगेको जानकारी आएकाले हामीले उद्धारको काम पनि ती वडाहरुमा केन्द्रित गर्न खोजेका छौं । सकेसम्म उद्धार र उपचारका लागि केन्द्रबाट टोली आइदिए सहयोग हुन्थ्यो भन्ने लागेको छ ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया 4