
१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पले त्यहाँ ठूलो क्षति भएको छ । नगलगाढ नगरपालिका र आसपासका क्षेत्रमा धेरै क्षति भएको प्रहरीले जनाएको छ ।
नगरगाड नगरपालिकाले उपप्रमुख सरिता ससिंहलाई पनि गुमाएको छ । भूकम्पको क्षति र उद्धारबारे नलगाडका प्रमुख डम्बरबहादुरको अपिल :
गएरातिको भूकम्पले हाम्रा नलगाढ नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म मैले पाएको सूचना अनुसार, सबैजसो वडाहरुमा घर भत्केकाले घाइतेहरुको उद्धार हुन सकेको छैन ।
हाम्रो नगरपालिकामा मात्रै ३० जनाभन्दा बढीको ज्यान तलमाथि भएको कुरा आएको छ, बिहान उज्यालो नभइ अरु कुरा पुष्टि हुनसक्ने भएन ।
नगरपालिकाको उपप्रमुख सरिता सिंह काम विशेषले पल्लो (भेरी नगरपालिका)मा जानुभएको थियो । उहाँ बसेको घर भत्किएकाले दु:खद घटना भएको सुन्नुपरेको छ । उहाँ र साथमा भएका अर्को सहयोगी पनि भत्किएको घरमा परेको कुरा छ ।
हाम्रो नगरपालिकाको १, ३, ५, ६ र ७ नम्बर वडामा बढी क्षति भएको खबर आइरहेको छ । मानिसहरु पहिलो निद्रामा रहेको अवस्थामा भूकम्प आएकाले भाग्न र ज्यान जोगाउन कठिन भयो भनिरहेका छन् ।
केही ठाँउमा पहिरो खसेकाले उद्दारमा जान र घाइतेहरुलाई स्वास्थ्यचौकीमा ल्याउन कठिनाई भइरहेको खवर आएको छ ।
कैयौं ठाँउमा घर भत्किएकाले उद्धार गर्ने बलिया मानिसहरु पाउन कठिनाइ भएको कुरा आएको छ । घटना हुनासाथ प्रहरी र ब्यारेकबाट सेनाको टोली परिचालन भएको छ ।
यहाँका स्वास्थ्य केन्द्र बिरामीले भरिएका छन् । तत्काल भत्किएका घरहरुबाट घाइतेहरुको उद्धार गर्नुपर्ने छ र ढिलाइ भए उनीहरुको ज्यान जोखिममा पर्ने अवस्था छ ।
त्यसैले सक्दो छिटो केन्द्रबाट स्वास्थ्यकर्मीहरु, उपचार सामग्रीसहित उद्धारको टोली आइदिए हुन्थ्यो ।
(नलगाढ नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4