
१८ कात्तिक, काठमाडौं । कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका केदार कार्कीले विश्वासको मत लिने बेला सत्ता गठबन्धनसमेतको समर्थन पाइसकेका थिए । त्यसबेलै एमाले फेरि प्रतिपक्षमा पुग्ने आँकलन गरिएको थियो । नभन्दै एमालेले सरकारमा पठाएका आफ्ना मन्त्री राम रानालाई फिर्ता बोलाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।
केन्द्र सरकारकै शैली कोशी प्रदेशमा दोहोरिएकोबारे के भन्छन् त बहिर्गमित मन्त्री राना ? अनलाइनखबरको संक्षिप्त वार्ता :
भर्खरै त मुख्यमन्त्री बनाउनुभएको थियो, आफैं राजीनामा दिएर किन हिंड्नुभयो ?
आफैं राजीनामा दिएर हिंड्नलाई मुख्यमन्त्री बनाएका थिएनौं । कोशीमा जुन राजनीतिक अस्तव्यस्तता देखिन खोज्दै थियो, त्यसलाई निकास दिऊँ भनेर हामीले मुख्यमन्त्रीमा उहाँ (केदार कार्की)लाई समर्थन दिएको हो । तर उहाँले गठबन्धनबाटै काम गर्छु भन्ने आशय व्यक्त गरिसकेपछि हामीले किन बाधा गर्ने भनेर छाडिदिएको हो ।
तपार्इंले राजीनामा दिंदा उहाँको प्रतिक्रिया ?
उहाँले मैले त सबैलाई नै समेटेर सहमतिमा अघि बढौं भन्ने सोच बनाएको थिएँ । यो परिस्थिति नआउँदा राम्रो हुन्थ्यो भन्नुभयो । तर हामीले दिएका सल्लाह सुझाव उहाँलाई अनुकूल हुन छाड्यो भन्ने बुझिसकेपछि सरकारमा बसिराख्ने कुरा त आएन ।
केन्द्रमा पनि एमालेले बनाएका प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनले फेरि आफ्नो बनायो, कोशीमा पनि त्यस्तै भयो होइन ?
एमाले अभागी खालको पार्टी रहेछ भन्नुपर्यो । केन्द्र र प्रदेशमा एउटै नियति दोहोरियो । तर यो राजनीति हो ।
जे होस्, कांग्रेसले थापेको ढोक्सा संघ र प्रदेश दुवैतिर सफल भयो भन्ने मानौं, होइन त ?
कांग्रेसभन्दा पनि गठबन्धनले थापेको ढोक्सा भन्ने मानौं । एमालेले अराजनीतिक कार्यहरुलाई राजनीतिक बाटोमा फर्काउन खोजेको हो । त्यसमा चुनौतीहरु देखिएका छन् ।
एमाले अब प्रतिपक्षमा बसेर के गर्छ ?
भर्खरै सरकार छाडिएको छ । तर अगाडिको बाटो के हुन्छ भन्नेबारे हामी हठात् प्रतिक्रिया जनाउँदैनौं । उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।
प्रतिक्रिया 4