+
+
जाजरकोट भूकम्पमा १५७ को मृत्यु :

गहिरो निद्रामा रहेकामाथि आफ्नै घर खस्यो

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक १८ गते २०:५१
जाजरकोटमा भूकम्पका बेला घरले पुरिएका व्यक्तिको उद्दार गर्दै सशस्त्र प्रहरी बल ।

१८ कात्तिक, खलंगा । शुक्रबार राति जाजरकोट मस्त निद्रामा थियो । भेरी नगरपालिका–३ माथिल्लो थाप्लेका प्रकाश शाह (४९) को परिवार पनि पहिलो निद्रामा मस्त थियो । घर नजिकै रहेको मन्दिरको घण्टी मध्यरातमा एक्कासी बज्यो । निरन्तर बजेको घण्टीको आवाजले सत्तलमा सुतेकी नरिन्ताकुमारी शाह (५१) ब्यूँझिइन् ।

‘घण्टी बेस्सरी बजेपछि उठ्दा भूकम्पले बेस्सरी झ्याँक्यो’, भूकम्पको धक्का कम भएपछि बाहिर निस्किइन् । वरपर सबै घर भत्किएको थियो, देवर प्रकाशको घर पनि भत्किएको थियो ।

देवर–देउरानीसहित ५ जनाको परिवार त्यही घरमा थिए । देउरानीका साइलो भाइ र भाञ्जी पहुना आएका थिए । नलगाड नरगरपालिकाकी उपमेयर पनि सरिता सिंहले पनि यूएनडीपीको कार्यक्रममा भाग लिन शुक्रबार सदरमुकाम आएर प्रकाशकै घरमा भाडामा लिएको कोठामा बास बसेकी थिइन् ।

भूकम्पको धक्का थामिएपछि नरिन्ता र छरछिमेकी भत्किएको प्रकाशको घरमा पुगे । प्रकाशकी पत्नीलाई धुरीबलोले थिचेको थियो । छोराछोरीलाई उनले जोगाएकी रहिछिन् । ‘उनले हात हल्लाएपछि ढुंगाको टेको लगाएर बलो उचालेर निकाल्यौं । भाञ्जीलाई खाट र दराजले चेपेको रहेछ, २ घण्टा लगाएर निकाल्यौं’, नरिन्दा भन्छिन्, ‘उपमेयर र भाइको सालो हामीलाई छाडेर गइगए ।’

उद्धारमा संलग्न कृपाल बुढाका अनुसार प्रकाशका सालालाई दराजसँगै घरको भित्ताको ढुंगा र माटोले छोेपेको थियो । टाउको मात्र देखिएको अवस्थामा उद्दार गरिएका उनको मृत्यु भइसकेको थियो । तल्लो तलाको कोठामा रहेकी नलगाडकी उपमेयर सिंहको पनि भग्नावशेषले थिचेर मृत्यु भइसकेको थियो ।

प्रकाशको हातमा चोट लागेको छ, उनकी पत्नीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । नरिन्दाले आँखाभरि आँसु पार्दै भनिन्, ‘अब भगवानको कृपा !’


जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपालिकामा मात्र ४२ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । सबभन्दा बढी नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको छ भने कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जना गरी जिल्लामा १०५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा ५१ जनाको मृत्यु भएको छ । ७८ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका बढी प्रभावित भएको छ ।

आठबीसकोटका ४२ रसानेभेरीका १० जनाको मृत्यु भएको छ । ‘खोज, राहत र उद्धारलाई प्रभावकारी बनाउन करिब ४५० जना प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ’, उनले भने, ‘प्राप्त सूचनाका आधारमा कतै खोज तथा उद्धारको काम बाँकी छैन ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ लाई केन्द्र बनाएर राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । स्थानीयका अनुसार मध्यरातमा आएको भूकम्पले घर भत्किएका कारण धेरैले भाग्ने अवसर नै पाएनन् ।

‘हामी त निदाएका थियौं, अत्तोपत्तो भएन’ श्रीमान, छोरी र नन्दसहित माथिल्लो थाप्लेकी मीना खत्री वली (२६) भन्छिन्, ‘भूकम्प गएको जस्तो लागेन, चट्याङ परेजस्तो, आकाश नै खसेको जस्तो भयो ।’ भूकम्पले कोठा भाडामा लिएर बसेको घर भत्किँदा नन्दलाई चोट लाग्यो । राति नै अस्पताल लगेका छन् । उनीहरु नजिकै रहेको दिदीको घरमा आश्रय लिएर बसेका छन् । ‘अहिले पनि मुटु कामिरहेको छ’, उनले भनिन्, ‘भत्किएको घर हेर्ने बस्ने, अरु के गर्नु ?’

माथिल्लो थाप्लेकै मधुसुदन शर्मा (६२) पनि भूकम्पमा कसरी बाँचियो भन्ने बताउन सक्ने अवस्था छैनन् । क्षतिग्रस्त घर नजिकै भेटिएका उनले यत्ति भने, ‘एकैपटक झ्यामझुम भयो । दैवले गर्दा बच्न सफल भयौं भन्नुपर्छ ।’

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माका अनुसार सदरमुकाम खलंगामा पुराना मोडलका घर भएकाले धेरै भत्किएका छन् । चार वटै सुरक्षा निकाय र स्थानीयबासी मध्यरातबाटै सदरमुकाम क्षेत्रमा उद्दारमा जुटेका थिए । घाइतेहरुलाई जिल्ला अस्पताल खलंगा लगिएको थियो ।

अस्पतालमा कोलाहल

विहानपख अस्पताल घाइतेहरुले भरिइसकेको थियो । सदरमुकाम र आसपासका क्षेत्रबाट आएका बिरामीहरुलाई परिवारका सदस्य र सुरक्षा निकायले अस्पताल पुर्‍याएका थिए । कतिपय अभिभावक भूकम्पमा परी ज्यान गुमाएका बालकालिकाको शव काखमा बोकेरै अस्पताल पुगेका थिए ।

इन्चार्ज प्रतीक्षा भारतीका अनुसार उपचार गर्नै नसक्ने अवस्था आएको थियो । दिउँसोबाट भने घाइतेहरुलाई सुर्खेत र नेपालगञ्ज रिफर गर्न थालेपछि केही सहज भएको छ ।

जिल्ला अस्पताल, रुकुम पश्चिमका डा. सुशील पोखरेलका अनुसार २५० जना घाइते उपचारका लागि आएका थिए । ७ जनालाई काठमाडौं ल्याइएको छ भने २५ जनालाई सुर्खेत रिफर गरिएको छ, चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अरु भने उपचारपछि घर फर्किएका छन् ।

भेरी अस्पताल, नेपालगञ्जमा ३१ जनाको उपचार भइरहेको पूर्वनिर्देशक बद्री चापागाईँले जानकारी दिए । नेपालगञ्ज लगिएकामध्ये एक जनाको बाटोमै मृत्यु भएको भन्दै उनले अगाडि भने, ‘उपचाररत ३० दुई जनाको अवस्था गम्भीर छ, अरुको अवस्था गम्भीर छैन । हात खुट्टा भाँचिएको, अरु चोटपटक छ ।’

प्रधानमन्त्रीको दौडधुप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए । जाजरकोटका सांसद समेत रहेका उर्जामन्त्री शक्तिबहादुर बस्नेत लगायतका नेतासहित पुगेका प्रधानमन्त्री प्रचण्डले जाजरकोट अस्पतालमा पुगेर विरामीहरुलाई भेटे ।
उद्धार र उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने ढाडस दिए । प्रचण्ड सवार हेलिकप्टरले नलगाडका ७ जना घाइतेलाई सुर्खेत पुर्‍याएको थियो ।

त्यसपछि प्रचण्ड रुकुम पश्चिम पुगे । चौरजहारी, सानीेभरीका साथै जिल्ला अस्पताल सल्ले पुगेर बिरामीहरुलाई भेटे । भूकम्पका कारण सबभन्दा धेरैको मृत्यु भएको आठबीसकोट नगरपालिका– ९ राडी बजार पुगेर पीडितहरुलाई भेटे ।

दुई जना घाइतेलाई लिएर नेपालगञ्ज पुगेका उनी नेपाली सेनाको हेलिकप्टर त्यही छाडेर नियमित उडानबाट काठमाडौं फर्किएका छन् । त्यसअघि नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मृतकको संख्या १५० आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको बताए ।

‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ’ उनले भने, ‘भोलि विहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छु, त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थापनाको काममा लाग्छौं ।’

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली पुगेका छन् । लुम्बिनी प्रदेश सरकारले टोली पठाएको छ भने कर्णाली प्रदेशले पनि थप टोली पठाएको छ । राजनीतिक दलका नेता कार्यकर्ता पनि उद्दार तथा राहतमा जुटेका छन् ।

शनिबार नै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमा नेतृत्वमा बसेको बैठकले तत्काल राहत व्यवस्थापनका लागि खाद्यान्न र अस्थायी आवास सामग्री जिल्ला पठाउने निर्णय गरेको छ ।

उद्दार कार्य तथा राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्धार प्रणालीबाट परिचालन गर्ने र दुबै जिल्लाको विपद् व्यवस्थापन कोषमा ५÷५ करोड रुपैयाँ रकम पठाउने पनि निर्णय भएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?