
काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई कलाकारको तर्फबाट सहयोगी हात प्राप्त हुने क्रम जारी छ । फिल्म र संगीत क्षेत्रका सेलिब्रिटीले गच्छेअनुसार सहयोग घोषणा गरिरहेका छन् ।
‘प्रेमगीत’जस्ता सफल व्यावसायिक फिल्म निर्माता कम्पनी आशुसेन फिल्म्सले आइतबार प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैयाँ जम्मा गरेको छ । निर्माता सन्तोष सेनले चाँडै फिल्मको एक टोली प्रभावित क्षेत्रमा राहत वितरणका लागि पुग्ने र यसबारे सरकारसँग समन्वय गर्ने बताए ।
आशुसेन फिल्म्सले फिल्म ‘बलिदान’को शनिबार टिजर सार्वजनिक गर्ने योजना तत्काललाई स्थगित गरेको छ । भूकम्पपछि मुलुकमा शोकको माहोल रहेकाले अर्को साता मात्रै टिजर सार्वजनिक हुने निर्माता सेनले बताए । ‘अहिले मनोरञ्जनभन्दा पनि उद्धार र राहत प्रमुख कुरा हो,’ उनले भने ।
गायक सञ्जय श्रेष्ठले आगामी गीत ‘देउसी रे’को युट्यबकोव कमाइलाई भूकम्प प्रभावितको सहयोगार्थ प्रदान गर्ने बताएका छन् । आइतबार उनले तिहार गीत ‘देउसी रे’ सार्वजनिक गर्दैछन् । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र अंशु बर्माले पनि भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
आयुषले टिकटक लाइभबाट रकम संकलन गरिरहेका छन् भने अंशुबर्मा राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लागेका छन् ।
प्रतिक्रिया 4