+
+

यम बराललाई एकल साँझमा दर्शकको बलियो साथ, धेरैलाई बनाए ‘नोस्टाल्जिक’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १३:०८

काठमाडौं । शनिबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हल दर्शकले खचाखच थियो । करिब १३ सय सिट क्षमताको पूरै हल नै भरिभराउ थियो । ठीक साढे ६ बजे कार्यक्रम सञ्चालक हेम सुवेदीले उद्घोष गरे- ‘अब सुरु हुन्छ यम बराल : हिस्टोरिकल लाइभ इन कन्सर्ट । नेपाली सुगम संगीतका शीर्ष गायक एवं प्रसिद्ध पार्श्व गायक यम बराल अब हामीमाझ आउँदै हुनुहुन्छ- आफ्ना कालजयी र चर्चित गीतहरुका साथमा ।’

आफ्नो ऐतिहासिक एकल गायन लाइभ साँझ (यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट)का लागि गायक यम बराल दर्शकदीर्घाबाट सबैलाई अभिवादन गर्दै हलमा प्रवेश गरे । उनीसँगै थिए राष्ट्रिय झण्डा बोकेका उनका छोरा आरोग्य ।

यम भन्दैथिए, ‘गएराति पश्चिमी भागमा भूकम्प गएर देश रोइरहेको बेला पनि एउटा कलाकारको सम्मानका लागि यहाँहरु उपस्थित भइदिनुभयो, यसको म शब्दमा वर्णन नै गर्न सक्दिनँ । भूकम्पका कारण ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना एवं घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो शोकलाई संगीतमार्फत हामी शक्तिमा बदल्नेछौं ।’

त्यसपछि उनले कार्यक्रमकी प्रमुख अतिथि रहेकी उपसभामुख इन्दिरा राना मगर, अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, अतिथि वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकार आलोकश्री, गायक प्रमोद खरेललगायतलाई पालैपालो स्वागत गरे । अनि सम्पूर्ण दर्शकलाई एकमुष्ट स्वागत गर्दै आफ्नो उही चिरपरिचित गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’ गाउँदै यी इलामेली गायक स्टेजमा उक्लिए । आठ जना बाद्यवादकले उनको गायकीमा प्राण भरे भने यो गीत गाइरहँदा उनका छोरा आरोग्य पनि राष्ट्रिय झण्डाका साथ स्टेजमा खडा भइरहे ।

त्यसपछि चर्चित गीत ‘दिलमाया दिलमाया’ गाइरहँदा संगीतकार तथा मित्र आलोकश्रीको नाम लिइरहे । तेस्रो गीतको रुपमा अल्लारे फिल्मको ‘अब चोटहरुले’ गाउँदा धेरैलाई भावुक बनाए । यसबेला उनले वरिष्ठ संगीतकार तथा आफ्ना गुरु शम्भुजीत बास्कोटालाई सम्झिरहे । त्यसपछि गाए ‘मन रहे पो मायाप्रीति’ । अनि गाए ‘बादलुको घुम्टो’पछि सर्वप्रिय बनेको ‘निष्ठुरीले छाडेर गइहाली’ । यसमा त दर्शकको वान्समोर नै आयो । यसमा यमले भने पछि गाउँछु, अनि पहिलो चरणको बिट मार्ने बेला फेरि गाए ।

पहिलो चरणमै उनले कोल्टे फेरि, नदेखे तिमीलाई, नछोएरै पनि छोएजस्तो, कुन साँझको साइत, सुन्दर रहेछ संसार गीतको म्यासअप बनाएर पनि प्रस्तुत गरे ।

पहिलो चरणमा आफ्ना सुगम संगीतका कालजयी गीत सुनाएर सबैलाई ‘नोस्टाल्जिक’ बनाएका यमले दोस्रो चरणमा फिल्मी गीतहरु प्रस्तुत गरे । यसमा उनलाई गायिका देविका बन्दना र अनु अधिकारीले युगल गायनमा साथ दिए ।

उनले देविकासँग दौंतरी फिल्मको ‘तिम्रो हाम्रो चिनारी’ गाए । फिल्म माइलीको ‘जाऔंन ठमेलमा’ गाउने बेला उनले संगीतकार बास्कोटालाई समेत स्टेजमै बोलाएर सँगै गाउन आग्रह गरे, शम्भुजीतले पनि देविका र यमसँगै गीत गाए । त्यसबेला दर्शकको हुटिङले पूरै हल गुञ्जायमान भयो ।

त्यसपछि नवगायिका अनु अधिकारीसँग ‘उड्दैछौ कि बस्यौ’ प्रस्तुत गरे । यसबेला संगीतकार तथा आफ्ना मित्र आलोकश्रीलाई पनि स्टेजै बोलाए । यतिबेलासम्म बालबालिकादेखि वृद्धवृद्धासम्म स्टेजमै पुगेर नाचेर रमाइलो गर्न भ्याइसकेका थिए । ‘हेर हेर पूर्वबाट झुल्किएछ घाम’, ‘माया बस्यो मुटुमा’ हुँदै ‘समन माया लाको’ गीतबाट यम बरालले आफ्नो ऐतिहासिक एकल साँझको बिट मारे ।

लाइन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिनले आयोजना गरेको एकल लाइभ कन्सर्टबाट उठेको रकम धादिङको एक विद्यालय र क्यान्सर पीडित गायिका जमुना थापामगरलाई सहयोग गर्ने घोषणा गरिएको छ । लाइन्स क्लब इन्टरनेसनलका तर्फबाट सोही कार्यक्रममा जाजरकोट भूकम्प पीडितका लागि सहयोग रकम समेत घोषणा गरियो ।

कार्यक्रममा उपसभामुख रानाले यम बरालको निरन्तर सांगीतिक सक्रियताको लागि शुभकामना दिइन् । मन्त्री किरातीले यम बरालको आफू ठूलो फ्यान भएको भन्दै कलाकारहरु देशका गहना मात्र नभई ‘नरम कूटनीतिज्ञ’ पनि भएको बताए ।

कन्सर्ट समापनपछि गायक बरालले यसले आफूलाई सांगीतिक क्षेत्रमा अझै राम्रो गर्ने ऊर्जा दिएको अनलाइनखबरसँग बताए ।

‘देशमा संकट परेको बेला पनि दर्शकको यस्तो भीड देखेर म आश्चर्यचकित भएँ । अब अझ नयाँ नयाँ गीत ल्याउन ऊर्जा दियो । उहाँहरुको वान्समोर, मप्रतिको माया, स्नेहले भावुक बनाएको छ,’ उनले भने,’ यही ठाउँमा स्वरसम्राट नारायणगोपालको स्वर्णिम साँझ भएको थियो, त्यसपछि मेरो कार्यक्रममा दर्शकको यो साथ साँच्चै ऐतिहासिक छ । एकल गायनले यति ऊर्जा दियो किन देशमा मात्रै होइन अब विदेशमा पनि लाइभ कन्सर्ट गर्ने हिम्मत जुटेको छ ।’

झण्डै २५ वर्षपछि यम बरालको एकल गायन कन्सर्ट भएको हो ।

अन्य तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?