
१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको बाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको भन्दै त्यसबाट लाभ लिनुपर्ने बताएका हुन् ।
‘१२ महिनाको आयात र साढे १० महिनाको आयात तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन,’ अधिकारीले भने । उनले बजारलाई नियमन गर्न नसकेकाले महँगी नियन्त्रणमा समस्या रहेको दाबी गरे ।
बैंकिङ क्षेत्रका बारे उनले भने, ‘बजारको मागअनुसार तरलता छ । पछिल्लो त्रैमासिकको वित्तीय विवरणअनुसार बैंकहरुको निष्क्रिय कर्जा बढेको देखिन्छ तर अन्य देशको तुलनामा कम नै हो । आपूर्ति प्रणाली र बजारमुल्य नियमन गर्न नसक्नाले मुद्रास्फीति बढेको हो ।’
गर्भनर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर निर्माणाधीन आयोजना छिटोभन्दा छिटो टुंग्याउनुपर्ने छ ।
अधिकारीले पर्यटन क्षेत्र र रेमिट्यान्स क्षेत्रमा सकारात्मक ऊर्जा देखिएको बताए । उनले बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट नआउने पनि दाबी गरे ।
प्रतिक्रिया 4