
१९ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयले विश्वव्यापी रुपमा नै शेयर बजार उत्साहजनक नरहेको बताएको छ ।
संघीय संसदको दोस्रो अधिवेशनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रतिनिधि सभामार्फत अर्थ मन्त्रालयलाई शेयर बजारले नेपालको अर्थतन्त्रमा के कस्तो असर परेको छ भनी सोधेका थिए । उक्त प्रश्नको लिखित जवाफमा अर्थमन्त्रालयले विश्वव्यापी रुपमा नै शेयर बजार उत्साहजनक नरहेको बताएको हो ।
१६ कातिक २०८० मा बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सुवालको प्रश्न र जवाफ पेश भएको थियो ।
‘विश्वव्यापी रुपमा नै शेयर बजार उत्साहजनक नरहेको अवस्था छ नै । नेपालमा पनि विगतमा भन्दा शेयर कारोबारमा कमी आएको छ’, लिखित जवाफमा भनिएको छ, ‘शेयर बजारमा हुने कारोबारबाट अर्थतन्त्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पर्न जान्छ ।’
धितोपत्र बजारमा शेयरको कारोबारको उताचढाव भइरहेको उल्लेख गर्दै यसमा बिभिन्न कारणहरु रहेको लिखित जवाफमा उल्लेख छ । ‘शेयर बजारलाई चलायमान बनाउन लागनीको सुरक्षा दिन बिभिन्न सुधारहरु भइरहेका छन्’, अर्थ मन्त्रालयले जवाफमा भनेको छ ।
सांसद सुवालले बैंकिङ क्षेत्रकै ऋणबाट बैंकिङ क्षेत्रकै शेयर खरिद गरिएको हुँदा बजार ओरालो लागेको हो ? भनी सोधेका थिए । उनले बजेटको धेरै अंश वस्तु तथा सेवा आयात र अनुत्पादक क्षेत्रमा खर्च हुँदा अर्थतन्त्रमा संकट आएको हो ? भनेर पनि सोधेका थिए ।
जवाफमा अर्थमन्त्रालयले शेयर बजार घटबढ हुनुको कारण बैंकङ क्षेत्रबाट लिएको ऋण नभएको बताएको छ । ‘शेयर बजार घटबढ हुनुमा बैंकिङ ऋण प्रयोग भएकाले होइन । समग्र अर्थतन्त्रको अवस्थाले गर्दा शेयर बजारमा पनि प्रभाव पर्न गएको हो’, लिखित जवाफमा भनिएको छ ।
अर्थमन्त्रालयले बार्षिक बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा स्वदेशमा उपलब्ध हुन नसक्ने वस्तुत तथा सेवा प्रचलित ऐन÷कानुन बमोजिम बाहिरबाट आयात गर्ने नियमित प्रक्रिया भएको बताएको छ ।
‘वस्तु एवं सेवा आयातले अर्थतन्त्रमा संकट आएको हो’ भन्ने प्रश्नमा अर्थमन्त्रालयले मुलुकले व्यापार घाटा ब्यहोर्दै आएको सही भएको जवाफ फर्काएको छ ।
‘मुलुकले व्यापार घाटा ब्यहोर्दै आएको सही हो । आयातलाई व्यवस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने सरकारको नीति रहेको र सोही अनुसार आवश्यक राणनीति र कार्ययोजना तर्जुमा भई कार्यान्वयन भइरहेको छ’, लिखित जवाफमा भनिएको छ ।
प्रतिक्रिया 4