१९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपालले हार्दा पनि र जित्दा पनि सपोर्ट गर्न समर्थकहरुलाई आग्रह गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानको खेल हेर्न हजारौं समर्थक पुगेका थिए । दर्शकका लागि बस्ने खासै व्यवस्थै नभएको मुलपानीको मैदानमा गत शुक्रबार यूएईसँगको खेलमा पनि सथर्मक पुगेका थिए ।
‘जसरी उहाँहरुले हामीलाई सर्पोट गर्नुहुन्छ । विश्वकप पुग्नु र एकदिवसीय मान्यता जोगाउनुमा ठूलो भूमिका समर्थकहरुको पनि छ । उहाँँहरुलाई पनि यसको क्रेडिट जान्छ,’ समर्थकप्रति धन्यवाद ज्ञापन गर्दै कप्तान रोहितले भने, ‘धेरै कृतज्ञ छु म, हार्दा पनि जित्दा पनि यस्तै सर्पोट गरिदिनु होला ।’
खेलपछि सँगै पत्रकारमाथ प्रस्तुत भएका मुख्य प्रशिक्षक मोन्टी देसाईंले पनि समर्थकको व्यवहारबाट खुसी देखिए । उनले भने, ‘समर्थकहरुलाई भन्न चाहन्छु नतिजा अर्को पक्षमा पर्दा पनि समर्थन गर्नु हुन्छ, यो निकै खुसीको कुरा हो ।’
फाइनलमा नेपाललाई हराएपछि ओमान क्रिकेट टिम मैदानमा घुम्दै गर्दा समर्थकले तालीले स्वागत गरेका थिए ।
देसाईँले समर्थकलाई १२ औं खेलाडी पनि भने । ‘म सधैं भन्छु हाम्रो लागि समर्थक सधैं १२ औं खेलाडी हुन्,’ उनले थपे, ‘बाउन्ड्री लाइनमा घुम्दै गर्दा मैले देखें धेरै साना साना समर्थकहरु पनि आइरहेका थिए । क्रिकेटलाई माया गरिरहेका थिए ।’
अहिलेको क्रिकेट टिमले राम्रो गर्दा अर्को पुस्तालाई पनि प्रेरणा मिलेको उनले बताए ।
४८ घण्टामा देशमा क्रिकेट मात्रै होइन अन्य कुराहरु पनि भइरहेको भन्दै प्रशिक्षक मोन्टीले जाजरकोट भूकम्पका पीडितहरुलाइ पनि सम्झे ।
‘हामीले यो समयमा खुसी मनाउनु पर्छ जस्तो लाग्दैन । धेरैले आफ्नो घर गुमाएका छन्,’ देसाईँले भने, ‘केहीले आफ्नो नजिकको मान्छे गुमाएका छन् । सबै कुरा सम्झिएर पनि यो जित हामीले उनीहरुको लागि पनि डेडिकेट गर्नुपर्छ ।’
कप्तान रोहितले भूकम्पबाट क्रिकेट खेलाडीहरुको पनि घर भत्किएको सुनेको भन्दै उनीहरुलाई खेलाडीहरुले मिलेर सहयोग गर्ने बताए ।
प्रतिक्रिया 4