१९ कात्तिक, काठमाडौं । नेपाल र ओमान दुवै टिम विश्वकपमा छनोट भइसकेकाले आईसीसी टी-२० विश्वकप एसिया छनोटको फाइनल खेल्न खेल्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा उत्रिंदा दुवै टिमलाई दबाव थिएन ।
तर हजारौं समर्थकबीचको खेलका एकै छिनमा नेपाल र एकै छिनमा ओमान हावी हुने स्थिति आयो । दुवै टिमले यस्तो क्रिकेट खेले कि जुन खेलको रोमाञ्चकता अन्तिम बलसम्म कायम रह्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा ४ विकेट गुमाएर ६० रन मात्र बनाएको थियो । तर कप्तान रोहितकुमार पौडेल र गुल्सन झाले ४२ बलमा पाँचौं विकेटका लागि ७८ रनको साझेदारी गरेपछि बाँकी १० ओभरमा नेपालले १२४ रन थप्यो ।
टी-२० आईमा पहिलो अर्धशतक बनाउने क्रममा गुल्सनले २५ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५४ रन बनाए । ५२ रनमा अविजित रहेका रोहित ३७ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरको समाप्तिमा १८४ रन बनाउँदा स्कोर बराबरी भयो र खेल सुपर ओभरमा पुग्यो ।
ओमानका ओपनर प्रतिक अथावले तेस्रो ओभरको अन्तिम बलमा आउट हुँदा ओमानले २७ रन बनाइसकेको थियो । प्रतिकलाई सोमपाल कामीले एलबीडब्लू गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
त्यसपछि ओपनर कश्यप प्रजापति र अकिब इल्यासले दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । गुल्सन झाले १०औं ओभरको चौथो बलमा अकिबलाई आउट गर्दै यो साझेदारी तोडेका थिए ।अकिबले १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनकाे योगदान गरे ।
त्यसपछि कश्यपले कप्तान जिसान मक्सुदसँग ४० रनको साझेदारी गरे । जिसानले १८ बलमा २६ रन जोडेर १६औं ओभरमा आउट भए । उनलाई विवेक यादवले आउट गरे ।
एक छेउबाट विकेट गए पनि कश्यपले इनिङ्स सम्हाल्दै जितको आधार तयार पारेका थिए । सर्वाधिक ६३ रन बनाएका उनी १७औं ओभरको पाँचौ बलमा आउट भए ।
जतिखेर ओमानको स्कोर १४६-४ भएको थियो र जितका लागि १९ बलमा ४१ रनआवश्यक थियो ।
त्यसपछि ओमानले अर्को ५ विकेट गुमाए पनि थप ४० रन जोडेर स्कोर १८४-९ बनाउँदै खेल बराबरी गरेपछि खेल सुपर सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा ओमानले पहिले ब्याटिङ गर्दै २१ रन बनायो । २२ रन बनाउने पर्नेमा १ विकेट गुमाएर ११ रन मात्र बनाउन सकेपछि नेपाल उपाधि नजिक पुगेर पनि पराजित भयो । समूह चरणमा बेहोरेको हारको बदला लिंदै घरेलु समर्थकको माझ उपाधि उचाल्ने नेपालको लक्ष्य पूरा भएन ।
नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले सुपर ओभरमा बलिङ गरेका बलरको अनुभवले काम गरेको बताए ।
‘हामीले केही सुपर ओभर प्राक्टिस पनि गरेका थियौं । स्किल प्रदर्शनको कुरा थियो । दुवै बलरहरु फ्रन्ट लाइन फास्ट बलर हुन् । बिलालले निकै राम्रो प्रदर्शन गरे, अविनाशले मिस गरे,’ खेलपछि सञ्चारकर्मीसँग पोष्टम्याचमा प्रशिक्षक मोन्टी देसाईँले भने । सुपर ओभरमा नेपालका लागि अविनाश बोहराले र ओमानका लागि बिलाल खानले बलिङ गरेका थिए ।
ओमानसँगका दुई हार
एक साता चलेको प्रतियोगितामा ओमानले अपराजित रहेर उपाधि जित्दा नेपालले दुई खेल गुमायो र त्यो दुवै हार ओमान विरुद्ध थियो ।
ओमान र नेपालबीचका दुवै खेल एकदमै रोमाञ्चक र सनसनी भएको थियो । समूह चरणमा १४६ रनको लक्ष्य पछ्याउँदा नेपाल जम्मा ५ रनले पराजित भयो । फाइनलमा नेपालले १८४ रन बनाउँदा पनि ओमानलाई रोक्न सकेन ।
प्रशिक्षक देसाईँ दुवै खेल १ बलमा हारेको बताउँछन् । ‘हामीले दुई म्याच हारेको होइन एक बल हारेको हौं। यो सबै वान बल ब्याटलमा आउँछ’ देसाईले भने, ‘पछिल्लो खेलमा हाम्रो ब्याटिङ अझ रामरो हुन सक्थ्यो सबैलाई थाहा छ । कम अनुभवी विवेकले पनि राम्रो फाइट गरे ।’
ओमानसँग दुई पटक पराजित हुनुमा नेपाल भन्दा ओमानी टिमको अनुभव काम गरेको क्रिकेट एक्सपर्ट शरद भेषावकरले बताए ।
‘मेरो विचारमा ओमानी टिम अनुभवी दियो । उनीहरुले योजना अनुसार राम्रो प्रदर्शन गरे’, छनोट प्रतियोगिताभर अनलाइनखबरसँग गेष्ट एक्सपर्टको रुपमा रहेका शरदले भने ।
अहिले नेपालको राष्ट्रिय टिममा युवा खेलाडीको बाहुल्य छ । कप्तान रोहित नै भर्खर २१ वर्षका भए । तर पछिल्ला दुई टी-२० विश्वकप खेलेको ओमानी टिममा लामो समयदेखि सँगै खेलका खेलाडीहरु छन् ।
अनुभवी जिसन मक्सुदको कप्तानीमा रहेको टोलीमा अकिब इलियास, बलाल खान, कलिमुल्लाह मोहमम्द नदिम, मोहम्मद खुशी, फैयज बट जस्ता खेलाडी छन् । अधिकांश पाकिस्तानी मूलका उनीहरुसँग धेरै अनुभव छ ।
ओमानका कप्तान जिसनले सुपर ओभरमा सामूहिक निर्णय गर्दा राम्रो नतिजा आएको बताए ।
‘प्रशिक्षकले मलाई पठाउन खोज्नुभएको थियो, तर हामीले सामुहिक निर्णय गर्दे नसिम खुशीलाई पठायौं । त्यो निर्णय महत्वपूर्ण थियो र खेल हाम्रो पक्षमा पनि आयो’ जिसान भने, ‘बिलालको ओभरमा २२ रन बनाउनु पनि गाह्रो थियो ।’ सुपर ओभरमा नसिमले अविनाश बोहरालाई ३ छक्का हानेका थिए ।
उनले यहाँ आउनुअघि गल्फी टी-२० जितेको र त्यसले पनि यहाँ राम्रो खेल्न सहयोग गरेको बताए । ‘नेपालसँग समूह चरणको खेल जितेपछि हामीले मोमेन्टम पायौं र त्यसले आत्मविश्वास बढायो, घरेलु मैदानमा राम्रो टिमलाई राम्रो थियो ।’
उनले नेपाली दर्शकको क्रेजको अगाडि खेल्दा राम्रो भएको बताउँदै त्रिवि मैदानमा खेल्नु उत्कृष्ट भएको बताए ।
विश्वकपको लागि तयारी
एक वर्षअघि नेपाली क्रिकेटमा राम्रो भइरहेको थिएन । तर मोन्टी देसाईको आगमनपछि नेपाली क्रिकेटमा धेरै राम्रो क्षणहरु आयो ।
ओडीआई स्ट्याटस बचाउनेदेखि वान डे विश्वकप छनोट खेल्दै टी-२० विश्वकपसम्म नेपाल छनोट हुन सफल भएको छ । यो जर्नी एकदमै रमाइलो र सुखद भएको प्रशिक्षक देसाईले बताए ।
‘ओडीआई स्ट्याटस रिटेन गर्यौं, वान डे वर्ल्डकप क्वलिफायर खेल्यौं एसिया कप खेल्यौं र अहिले टी२० विश्वकपमा छनोट भएका छौं’ देसाईले भने, ‘यो वर्ष रमाइलो भयो । जनवरीदेखि अहिलेसम्म राम्रो भयो । केही आराम चाहिन्छ । यो प्राउड वर्ष भयो । २०२४ मा पनि हामी राम्रो कामलाई निरन्तरता दिने अपेक्षा छ ।’
खेलाडी ओडीआईबाट चाँडै टी-२० मा अडप्ट हुनु राम्रो भएको उनले बताए । अबको ध्यान २०२४ को टी-२० विश्वकपमा हुने देसाईले बताए । ‘हामी अब एक कुरामा मात्र केन्द्रित हुनुपर्छ र त्यो २०२४ को टी-२० विश्वकप हो’ उनले भने, ‘अब केही समय आराम गर्नुपर्छ र अनी योजना अनुसार फ्रेस सुरुवात गर्नेछौं ।’
कप्तान रोहितले पनि छनोट प्रतियोगिता सोचे जस्तो भएको भन्दै अब विश्वकपका लागि सबै बसेर योजना बनाउने बताए । ‘अहिले यही फाइनलमा ध्यान थियो । अहिलेसम्म अरु धेरै सोचेको छैन । अब पारस दाइहरुसँग बसेर योजना बनाउने छौं ।’
रोहितले विश्वकप पुग्नुले नेपालको क्रिकेटमा ठूलो अर्थ राख्ने बनाए । ‘विश्वकपमा पुग्नुले ठूलो अर्थ छ । हामीलाई ठूलो अवसर छ । विश्वकपका लागि ६-७ महिना समय छ’ रोहितले भने, ‘खेलाडीका लागि पनि ‘ग्रो’ गर्ने अवसर छ किनभने विश्वकप सबैले हेरिरहेको हुन्छ र त्यहाँ गएर प्रदर्शन गरे सबैले चिन्छ र त्यहाँ राम्रो गर्नुपर्छ ।’
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4