+
+

अमेरिकाबाट फर्किए परराष्ट्रमन्त्री साउद, समकक्षी ब्लिंकेनलाई भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते २०:५६

१९ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको एक साता लामो औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन् । गत १२ कात्तिकमा अमेरिका भ्रमणमा गएका साउद आइतबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तरार्ष्ट्रीय विमानस्थलमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री साउदले भ्रमण फलदायी भएको बताए ।

‘समग्रमा मेरो अमेरिका भ्रमणमा त्यहाका उच्च सरकारी पदाधिकारीहरु, सिनेटर, नेपालका मित्रहरु, सूचना प्रविधि क्षेत्रका अमेरिकन-नेपाली पेशाविद्हरु तथा व्यवसायीहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक एवम् फलदायी रह्यो’, मन्त्री साउदले भने, ‘मेरो भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको छु ।’

उनले भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको समेत जानकारी दिए । ‘अमेरिकाबाट नेपालमा लामो समय देखि उच्चस्तरीय भ्रमण नभएको बिषय उल्लेख गर्दै मैले अमेरिकी विदेश मन्त्री महामहिम एन्टोनी व्लिङकेनलाई नेपालको औपचारिक भ्रमण गर्न आमन्त्रण गरेको छु’, उनले भने ।

ब्लिंकेनसँग भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तामा नेपाल‒अमेरिका द्विपक्षीय सम्वन्धका बिषयहरु तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा विचारको आदान – प्रदान भएको उनको भनाइ छ ।

दुबै पक्षले आपसी हितका बिषयहरुमा सहकार्यलाई थप विस्तार र घनिभूत बनाउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए ।

साथै, नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा नेपालको विकास प्राथमिकताका बिषयहरुमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा,  कृषिको विकास, बजार पहुँच, लगानी र व्यापार लगायतका क्षेत्रहरुमा अमेरिकी सरकारबाट सहयोग बढाउन समेत उनले आग्रह गरेको बताए ।

त्यस्तै,  नेपालको लागि निर्यातयोग्य गार्मेन्ट,  फुटवेयर र फार्मास्युटिकल बस्तुहरु थप गर्दै जीएसपी सुविधा र एनटीटीपीपीको विस्तार र पुन:अनुमतीको लागि समेत उनले अनुरोध गरेका छन् ।

भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गरेका थिए । ब्लिंकेनले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको भन्दै नेपालको विकास प्रयत्नमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने बताएको जानकारी दिए ।

भ्रमणको क्रममा साउदले यूनाइटेड स्टेट इन्ष्टिच्यु६ अफ पिसले वासिङ्टनमा आयोजना गरेको टक प्रोग्राममा सहभागी भएको र नेपालको परराष्ट्र नीतिका विषयमा आफ्नो विचार राखेको बताए ।

व्यापक भेटघाट

भ्रमणका क्रममा मन्त्री साउदले अमेरिकी उच्चअधिकारीसँग भेट गरेको जानकारी दए । यूएसआईडीकी प्रशासक समन्था पावर, सिनेटर क्रिस भान होलान, आर्थिक विकास सहकार्यका सीईओ स्कोट नाथनसंग पनि छुट्टाछुट्टै भेट गरेका थिए ।

यस्तै नेपाली दूतावासमा एमसीसीकी सीईओ अलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेश मन्त्री उज्रा जेया, तथा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ डाइरेक्टर आइलिन लाउवाकरसंग पनि छुट्टाछुट्टै भेट गरेको जानकारी दिए ।

मन्त्री साउदले नेपाली-अमेरिकी व्यवसायीहरु तथा नेपाली डायस्पोराका प्रतिनिधिहरुसंग नेपाली दूताबास, वासिङ्टन डीसीमा आयोजित छुट्टाछुट्टै अन्तर्क्रिया कार्यक्रमहरुमा भेट गरेको र सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा तथा सन् २०३० सम्म संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्य  हासिल गर्न ठूलो स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहको बारे छलफल र सहयोगका लागि आग्रह गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?