
१९ कात्तिक, काठमाडौं । नेपाल ढुवानी व्यवसायी महासंघले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई उपलब्ध गराइने राहत सामग्रीको ढुवानी निःशुल्क गरिदिने घोषणा गरेको छ ।
भूकम्प पीडितका लागि जतिसक्दो छिटो र धेरै धेरै भन्दा धेरै स्वास्थ्य सामग्री, राहतमा खाद्यान्न र लत्ता कपडा उपलब्ध होस् भनी यस्तो निर्णय गरेको महासंघले जनाएको छ ।
ढुवानी व्यवसायमा संलग्न महासंघ अन्तर्गतका १८ वटा नियका एक हजार व्यवसायी र ४० हजार ढुवानीका साधनहरुले दाताहरुले उपलब्ध गराउने त्यस्ता सामाग्र निशुल्क प्रभावित क्षेत्रमा पुर्याइदिने महासंघका अध्यक्ष विश्वकान्त खनालले बताए ।
यसरी निःशुल्क ढुवानी सेवा लिनका लागि ढुवानी व्यवसायी महासंघ र मातहतका १८ वटा ढुवानी व्यवसायीहरुलाई सम्पर्क गर्न पनि महासंघले भनेको छ ।
‘अबको एक साता निःशुल्क रुपमा देशभरीबाट राहतको खाद्यन्न र स्वास्थ्य सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पुर्याउने घोषणा गरेका छौं,’ महासंघका अध्यक्ष खनालले भने,‘खाद्यान्न, स्वास्थ्य सामग्री र लत्ता कपडा पहिलो प्राथमिकतामा पर्छन् ।’
काठमाडौंबाट अहिले जाजरकोट राहत पुर्याउन कम्तीमा एक लाख रुपैयाँ ढुवानी खर्च लाग्ने देखिएको भन्दै महासंघले दाताको सहयोग सहज रुपमा पुग्न यस्तो निर्णय लिएको जनाएको छ ।
महासंघ अन्तर्गत काठमाडौंका ढुवानी व्यवसायी संघहरु नेपाल सामान ढुवानी व्यवसायी व्यवसयी संघ, काठमाडौं सामान ढुवानी व्यवसायी संघ र संयुक्त सामान ढुवानी व्यवसायी संघले निःशुल्क ढुवानीमा सहयोग गर्नेछन् ।
यस्तै ट्रान्सपोर्ट एसोसिएसन वीरगञ्ज,इटहरी ढुवानी एजेन्ट व्यवसायी संघ, भेरी ट्रान्सपोर्ट एसोसिएसन नेपालगञ्ज, ट्रान्सपोर्ट एहोसिएसन विराटनगर, ढुवानी व्यवसायी समिति रुपन्देही र मेची ट्रान्सपोर्ट एसोसिएसनले ढुवानीमा सघाउने छन् । ट्रान्सपोर्ट एसोसिएसन चितवन, धनगढी र हेटौंडाले पनि निःशुल्क ढुवानी सेवा दिने महासंघले जनाएको छ ।
शनिबारदेखिनै महासंघले उपलब्ध राहतहरु ढुवानी सुरु गरिसकेको जनाएको छ । यसबाहेक महासंघले आफ्नो तर्फबाट छुट्टै राहत घोषणाको तयारी गरेको पनि अध्यक्ष खनालले बताए ।
प्रतिक्रिया 4