+
+
जाजरकोट भूकम्प :

एक्ली भइन् प्रेमकली, घरभित्रै पुरिए बाआमा र दुई दाइ

गौरव पोखरेल चन्द्रबहादुर आले गौरव पोखरेल, चन्द्रबहादुर आले
२०८० कात्तिक १९ गते २२:०४

१९ कात्तिक, चिउरी (जाजरकोट) । जाजरकोटको नलगाड नगरपालिका–१, चिउरीको इम्ले गाउँकी विमला विक शुक्रबार मध्यराति ११ः४८ बजे भूकम्पले घर थर्रर्र हल्लाएपछि ब्यूँझिइन् ।

छानाबाट ढुंगा खस्न थालेपछि ढोकाबाट बाहिर मात्र के निस्किएकी थिइन्, ‘बचाऊ, बचाऊ’ भन्दै कोही कराइरहेको आवाज सुनिन् ।

भेरी नदीको माथिल्लो पट्टी रहेको भिरालो पाखोमा रहेको यो बस्तीमा रहेका घरहरु कम्तीमा १०० मिटर दुरीमा छन् । ‘गाउँमा बिजुली आएकै छैन, मास्तिर कराएको आवाज सुनेपछि अन्धकारमा छामछुम गर्दै त्यतातिर गएँ’, बिकले अनलाइनखबरसँग भनिन्, ‘कान्लामाथि रहेको घरमा पुग्दा दुई तले घर झरेर एकैठाउँमा आइसकेको थियो ।’

उनका अनुसार, घरमा ६ जना सुतेका थिए । तीमध्ये ५५ वर्षीय हिरे कामीको आवाज उनले सुनेकी थिइन् । ‘दाइ भुइँ तलामा हुनुहुँदो रहेछ, त्यसैले निकै तल किचिनु भयो’, बिकले भनिन्, ‘माथिल्लो तलामा उहाँकी १५ वर्षीया छोरी रुपा विक र छिमेकी घरकी ८ वर्षीया छोरी प्रेमकली बिक सुतेका थिए ।’

विमलासँगै उद्दारका लागि पुगेकी नन्दकली बिकका अनुसार, सुरुमा माथिल्लो पट्टी देखिएका रुपा र प्रेमकलीलाई उद्दार गरिएको थियो ।

विमलाका अनुसार, प्रेमकलीको अनुहार र खुट्टामा चोट लागेको थियो । उनलाई बेहोस अवस्थामा उद्दार गरेर नलगाड नगरपालिकाको कार्यालय छेउ रहेको नलगाड स्वास्थ्य चौकीमा पठाइएको थियो । रुपाको पनि टाउको र खुट्टामा चोट लागेको थियो ।

‘बच्चाहरुलाई निकालुञ्जेल दाइ (हिरे कामी) को आवाज आइरहेको थियो, तर बच्चाहरुलाई निकाल्दा निकाल्दै आवाज आउन छाड्यो’, नन्दकलीले भनिन्, ‘नजिकै उहाँकी श्रीमती चन्द्रकला कामी (३०), उहाँका छोरा सुनिल विक (१५) र विमल विक (१४) पनि पुरिइसकेका रहेछन् ।’

चारै जनालाई निकाल्दा शनिबार बिहान झण्डै ४ बजिसकेको थियो । बाहिर निकाल्दा सबैको सास थिएन । यद्यपि, उज्यालो भएर प्रहरी र चिकित्सकहरुको टोली आएपछि मात्र उनीहरुलाई मृत घोषित गरिएको थियो ।

‘माथि रहेका दुई जना बच्चीहरुबाहेक कोही बचेनन्, यो परिवारको अब एक जना छोरो र त्यही छोरी मात्र बाँकी भयो’, नन्दकलीले थपिन्, ‘छोरो पनि काम गर्न भारतको मनाली गएकाले जोगियो ।’

पुरिएको घरबाट निकाल्नका लागि केही सामान नहुँदा पनि उद्दारमा समस्या भएको उनले बताइन् । ‘गाउँमा पर्तिरबाट पनि आउने स्थिति भएन, त्यता पनि मान्छेहरु बितेका थिए’, नन्दकलीले सुनाइन्, ‘दाइहरु उद्दार नपाएरै पनि बित्नुभयो, समयमा निकाल्न सकेको भए जोगिनुहुन्थ्यो ।’

शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले छोरी, नातीहरु बितेको थाहा पाएपछि खलङ्गाबाट हजुरआमा ७० वर्षीया मोती विक पनि आइतबार राति इम्ले गाउँ आइपुगेकी छन् । ‘परिवार सबै सकियो, एउटा नातिनी मात्र बचेकी छ…’, विकले रुँदै भनिन्, ‘८ वर्षमै टुहुरी भई अब उसलाई कसले पाल्ला ?’

भूकम्पले भत्किएको घरको दलानमा टुक्रुक्क बस्दै बिक निकैबेर रोइरहिन् । छरछिमेकी आएर उनलाई समात्दै सम्झाउने कोशिस गरिरहे । गाउँभरि सबैतिर परिवारका कोही न कोही सदस्य बिछोडिएको उनले बताइरहेकी थिइन् । केहीबेरमा मोती आफैंलाई सान्त्वना दिन थालिन्, ‘कोही नहुनेका भगवान त होलान् नि !’

एकैघरमा चार जना बितेको यो गाउँमा शुक्रबार मध्यराति गएको भूकम्पमा परेर १३ जनाले ज्यान गुमाएका छन् । गाउँका अधिकांश घरमा मानवीय क्षति भएपछि आइतबार उनीहरुको सामूहिक दाहसंस्कार गरिएको छ । गाउँका सबै मिलेर शवहरुलाई भेरि नदी किनारमा ल्याएर दाहसंस्कार गरेका छन् ।


अझै त्रासमा छिन् भग्नावशेषबाट निकालिएकी रुपा

भग्नावशेषबाट उद्दार गरिएकी १४ वर्षीया रुपा बिक राति बेहोस अवस्थामा थिइन् । ‘एक्कासी तल खसेर पुरिएँ, मैले केही थाहा पाइनँ’, उपचारपछि आइतबार अपराह्न घर फर्किएकी उनले अनलाइनखबरसँग भनिन्, ‘मैले एकैपटक दल्लीमा आइपुगेको मात्र थाहा पाएँ ।’

दल्लीमा रहेको नलगाड नगरपालिकाको कार्यालय छेउमै प्राथमिक स्वास्थ्य चौकी छ । त्यहीँ उपचारपछि उनी होसमा आएकी थिइन् । चिउरीमा रहेको नेपाल राष्ट्रिय आदर्श विद्यालयमा कक्षा ९ मा पढ्ने रुपा भन्छिन्, ‘टाउको र हातमा चोट लाग्यो, अहिले पनि हल्लिन गाह्रो हुन्छ ।’

उनी अहिलेसम्म सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । केहीबेर बोल्छिन्, फेरि रुन थालिहाल्छिन् । रुपासँगै उद्दार गरिएकी ८ वर्षीय प्रेमकली विकको अवस्था पनि उस्तै छ । भूकम्पबाट घर भत्किएर बुबाआमा गुमाएकी उनी अझै राम्रोसँग बोल्न सकिरहेकी छैनन् । भन्छिन्, ‘एकैपटक आएर घरको सबै पुर्‍यो ।’

उद्दारकर्ता समेत रहेकी विमला विकका अनुसार, अहिले इम्ले गाउँ पूरै शोकमा छ । ‘जता जानुस्, कोही न कोही नबितेको ठाउँ नै छैन’, उनले भनिन्, ‘न बास रह्यो, न खानलाई गाँस छ ।’ त्योभन्दा बढी पीडा ‘बचाउ, बचाउ’ भनेर आवाज अझै पनि कानमा गुन्जिरहँदा भइरहेको उनी बताउँछिन् । थप्छिन्, ‘एउटै घरमा चार जना यस्तो हुँदा हाम्रो मन धेरै खाएको छ ।’

हरेक घरको पीडा

इम्ले गाउँको हरेक घरको पीडा अहिले एउटै छ । ‘गरिबलाई नै किन यस्तो हुन्छ, सर ?’, सेतो प्लास्टिकले बेरेको टेन्टमा पुग्नेबित्तिकै ६० वर्षीया रति बिकले प्रश्न गरिन्, ‘अब कसरी घर छिर्ने ?’

उनका अनुसार, गाउँका अधिकांश घर बस्न लायक छैनन् । खाद्यान्न पनि भूकम्पले घर भत्किँदा भित्रै पुरिएका छन् । घरभित्र जानसक्ने स्थिति छैन ।

‘अब खानलाई पनि केही नहुने स्थिति छ, घर नजिक जानेबित्तिकै चर्किएको घर भत्किन खोज्छ’, उनले भनिन्, ‘अहिले बारीमै सबै सगोलमा पकाएर खाइरहेका छौं, तर कहिलेसम्म ?’

उनका अनुसार, गाउँको अधिकांश घरमा कोही न कोहीले ज्यान गुमाएका छन् । पालमुनि बसिरहेकी दिलमाया बिकको छोरा विशाल विक (४४) र बुहारी मनिषा विक (२८) को भूकम्पमा परेर मृत्यु भयो ।

‘घर पुरै भत्कियो, उद्दार गर्न जाने अवस्था पनि भएन’, उनले भनिन्, ‘सुतेकाहरु सुतेको सुत्यै भए ।’

शुक्रबार मध्यराति गएको भूकम्पपछि अहिले पनि जाजरकोटमा निरन्तर पराकम्पहरु गइरहेका छन् । त्यही त्रासमा अहिले खेतमा सुतिरहेकी उनी भन्छिन्, ‘बाहिर बस्नलाई त्रिपालसम्म पनि भएन, अहिलेसम्म सहयोग गर्ने पनि गाउँसम्म आएनन् ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?