
२० कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आईसीटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
एसिया-प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री – क्यासि परिसंघको सोमबार काठमाडौंमा सुरु ३७ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।
नेपाली अर्थतन्त्रले ठूला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर वृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताए ।
पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानिकर्ताहरुका लागि जोखिम कम हुँदै गएको पनि उनले बताए ।
नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सृजना भएको उल्लेख गर्दै ढकालले जलविद्युत् परियोजनामा लगानीका अवसर छोप्नु पर्ने समय आएको बताए ।
यसैगरी विश्वस्तरीय होटल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि ढकालले बताए ।
बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठूला होटल लगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न उनले आग्रह गरे ।
नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।
नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागि समेत आग्रह गरे ।
महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरुलाई सहयोग गर्न तयार रहेको ढकालले बताए ।
प्रतिक्रिया 4