
काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि अभिनेता प्रकाश घिमिरेलाई आईसीयूबाट न्युरो वार्डमा सारिएको छ । गत साता पोखराको नदीपुरस्थित भीरबाट लडेर घाइते भएपछि उनको उपचार स्थानीय मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ ।
वार्डमा सारिएपछि उनले भेट्न पुग्ने आफन्त र शुभचिन्तकसँग दोहोरो कुराकानी गर्न थालेका छन् । स्थानीय मिडियासँग कुरा गर्दै घिमिरेले चाँडै स्वास्थ्य लाभ गरेर काममा फर्किने आशा व्यक्त गरे ।
अहिले छायांकनमा रहेको ‘महाजात्रा, डिग्री माइलासहितका काम गर्न बाँकी फिल्मको काम मंसिरसम्म पूरा हुने उनले बताएका छन् । डिग्री माइलाको छायांकन आधा सकिएको र मंसिरमा आफ्नो भागको सुटिङ सक्ने उनले बताएका छन् ।
अस्पतालमा भेट्न पुगेकासँग उनले फिल्म र नाटकबारे चिन्ता गर्ने गरेको जनाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि अभिनेता घिमिरेको स्वास्थ्यमा सुधार आएको बताएका छन् । शुक्रबार मेयरसँगको कुराकानीमा पनि उनले पोखरामा स्तरीय नाटक घर बनाउनुपर्ने चिन्ता जाहेर गरेको जनाइएको छ ।
यसैबीच, घिमिरेको स्वास्थ्यमा सुधार आए छायांकनको अन्त्यतिर उनको भाग सुटिङ गर्न सकिने ‘महाजात्रा’ले जनाएको छ । निर्देशक प्रदीप भट्टराईले आफूहरु घिमिरेकै स्वास्थ्यलाभको प्रतीक्षामा रहेको बताए ।
प्रतिक्रिया 4