
२१ कात्तिक, काठमाडौं । १६ औं योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् ।
आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो । मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए ।
उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूरपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री राखेर छलफल गर्यौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागीता रहनेछ ।’
आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदूरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण हाल सुझाव संकलन स्थगित गरिएको छ ।
प्रतिक्रिया 4