
२१ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिनामा बजार अनुगमनबाट ९ लाख रूपैयाँभन्दा धेरै राजस्व संकलन गरेको छ ।
साउनदेखि यता ४३ दिनमा १६५ वटा स्थानको अनुगमन गरेको महानगरले कारबाही स्वरूपको जरिवानाबाट ९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
महानगरका अनुमगन निरीक्षक रहेका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार साउनमा मिठाइ पसल, भदौमा पिउने पानी र पिउने पानीको जार, असोजमा दशैँ लक्षित खाद्य तथा पेय पदार्थ र कात्तिकमा खसी बजार, खाद्य पदार्थ लगायतको अनुगमन भएको छ ।
४ महिनामा ७ वटा कम्पनी तथा फर्मलाई अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै कारबाही गरेको झाले बताए ।
डा. झाका अनुसार त्रिकोण वेभरेज इन्डष्ट्री (बालाजु) लाई सिलबन्दी पानीमा किरा र लेउ भेटिएपछि १ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
यसैगरी कालिञ्चोक ट्रेडिङ् नेपाल (पुतली सडक) लाई पेय पदार्थमा ढुसी भेटिएपछि १ लाख ५० हजार जरिवाना गरेको थियो भने टिपटप समोसा पसललाई बिग्रिएको दूधवरी बिक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।
यस्तै बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य वस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो भने भीम स्टोरलाई म्याद सकिएका मदिरा (बियर) नाइट क्लबमा आपूर्ति गरेकोले २ लाख रुपैयाँ, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार रुपैयाँ र बुढानीलकण्ठको पशुपति स्प्रिङ वाटरलाई खानेपानीमा किरा र लार्भा भेटिएकोले १ लाख रुपैयाँ जरिवाना गरिएको झाले बताए ।
प्रतिक्रिया 4