
२१ कात्तिक, गल्याङ (स्याङजा) । कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ ।
स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो ।
यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका लागि मालसमान ढुवानी गर्न सेतीवेणी–मिर्मी सडक खण्डमा पर्ने खबरको वनको पैदलमार्ग प्रयोग गर्दै आएका थिए । निकै पुरानो मानिएको सेतीवेणी बजार, पुर्तीघाट बजार, बाग्लुङको छिस्दीलगायत व्यापारीले दुई दशकअघिसम्म भरिया लगाएर खबरको वनको बाटो मालसामान ढुवानी गर्ने गरेको पाइन्छ ।
कालीगण्डकी लोकमार्गअन्तर्गत गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका जोड्ने सेतीवेणी–मिर्मी सडक खण्ड १० किलोमिटर दूरीमा अवस्थित छ । यही सडक खण्डलाई जोड्ने गरी रायमाझी/राजेश्वरी/पीटीआर अधिकारी जेभीले आँधीखोलामा ट्रस ब्रिज निर्माण गरेको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए । उनले हाल पुल निर्माण सकिएर सर्वसाधारणका लागि खुल्ला गरिएको बताए । आचार्यका अनुसार पुल श्र नौ करोड ६२ लाख ७९ हजार ९३ ठेक्का सम्झौता भएको थियो ।
अहिले स्याङजा–पर्वत खण्डको सडक निर्माणले तीव्रता पाएको छ । स्याङजा–पर्वतको ५३ किलोमिटरमध्ये सेतीवेणी–मिर्मी सडकको काम महादेव खिम्ती/आन्जना/पराजुली जेभी लम्जुङले निर्माण जिम्मा लिएर अगाडि बढाएको छ ।
‘निर्माण कम्पनीले सडक चौडा, नाली निर्माण, तेवा पर्खाल र कालोपत्र गर्ने गरी २०७७ साल भदौ १२ गते सझौता गरेको थियो’, इन्जिनियर आचार्यले भने, ‘साढे दुई वर्षमा सक्ने गरी श्र १ करोड ९८ लाख छ हजार एक सय ९० ठेक्का सम्झौता भएको थियो ।’
विष्फोट गरेर बाटो निर्माण गर्नुपरेकाले काममा ढिलाइ भएको र एक वर्ष समय थपेर काम अगाडि बढाएको आचार्यको भनाइ छ । मिर्मी सेतीबेनी सडककै तीन किलोमिटर सडक निर्माण काष्ठमण्डप/कली/मनकामना जेभीले रु आठ करोड ८६ लाख ८७ हजार सात सय ७१ ठेक्का सम्झौता गरेको उनले बताए ।
आँधीमुहानका स्थानीय टीकाराम कँुवरले खबरको वनमा मोटरबाटो नहुँदा र आँधीखोलामा पुल नहुँदा स्याङ्जा, पर्वत, गुल्मी र बाग्लुङका लाखौँ जनताले भिरको साँघुरो र अफ्ठ्यारो बाटोमा वर्षौं जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए । ‘पुल नहुँदा धेरै समय खर्चेर लामो बाटो प्रयोग गर्न यहाँका नागरिक बाध्य थिए’, उनले भने, ‘पुल निर्माणपछि अकालमै ज्यान जाने समस्या टेरेको छ, धेरैको पैसा र समय बचत भएको छ ।’
सेतीवेणीका व्यापारी शोभाखर तिवारीले आँधीखोलामा पुल निर्माणपछि दक्षिणी पर्वतका नागरिकको सपना पूरा भएको बताए । उनले पुल निर्माणले बर्खाको समयमा बिरामी बोकेर हिँड्न, पाल्पा, बुटवल, नारायणगढ जान सहज बनाएको बताए ।
प्रतिक्रिया 4