+
+

भूकम्पमा चर्किएका घरले पहिलो झरी थेग्दैनन्, पुनर्निर्माण गर्नुपर्छ : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ११:००
भूकम्पले चर्किएको घरमा जनार्दन शर्मा

२२ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भत्किएका र चर्किएका सबै घरहरु छिटो पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । बाहिरबाट हेर्दा चर्किएको मात्र देखिएका घरहरु जोखिमपूर्ण रहेको भन्दै उनले ती घरहरु पहिलो झरी पनि थेग्न सक्ने अवस्थामा नरहेको अनुमान गरे ।

गृहजिल्ला रुकुम पश्चिमका भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाको काममा सक्रिय शर्माले पीडितसँगको संवाद र चर्केका घरहरुको अवलोकनपछि भूकम्प प्रभावित कुनै पनि घर काम नलाग्ने अवस्थामा रहेको निष्कर्षमा पुगेका हुन् ।

भूकम्पलगत्तै प्रधानमन्त्री प्रचण्डसँगै रुकुम पश्चिम पुगेका उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘एउटा ठूलो भूकम्प र त्यसका करिब साढे चार परकम्प झेलेका कच्ची घरहरु अब सग्ला रहने कल्पना गर्न सकिँदैन । संभवत तीमध्ये अधिकांशले हिउँदे झरी थेग्न सक्ने छैनन् । थोरै बँचेका घरहरु आगामी वर्षायामको पहिलो झरीमै ढल्छन् । त्यसकारण ती घरहरु पन्छाएर पुनर्निर्माणतिर लाग्नुको विकल्प छैन ।’

यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसँगै छिमेकी जिल्ला रुकुमपश्चिममा पनि ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको तथ्यांक हेर्दा मानवीय क्षति रुकुम पश्चिमको तुलनामा जाजरकोटमा धेरै छ भने घर क्षति जाजरकोटमा भन्दा रुकुम पश्चिममा धेरै छ ।

केन्द्रका अनुसार भूकम्पमा परी जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु र २०० जना घाइते भएका छन् । यसैगरी रुकुम पश्चिममा ९ हजार ९६१ घर आंशिक रुपमा र १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जाजरकोटमा भने ७ हजार १६६ घर आंशिक रुपमा र १ हजार १७० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य शर्माका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अधिकांश घर ढुंगा–माटोले बनेका छन् । नढलेका तर चर्किएका पुराना घरहरुमा वर्षातको पानी भित्र पस्ने र पानीले माटो गलाइदिँदा ढुङ्गाहरु भत्किएर घर ढल्ने जोखिम छ । ‘त्यसैले अहिले बाहिरबाट हेर्दा चर्किएको मात्र देखिए पनि ती घरहरु अब बस्नलायक रहेनन्,’ शर्मा भन्छन् ।

उनले भने, ‘पुरानो जमानामा नक्सा बनाएर घर बनाउने चलन थिएन । इन्जिनियरको डिजाइनमा घर बनाइन्छ भन्ने कुरा त्यहाँका बुढा–पुराना मानिसहरुलाई अहिले पनि थाहा छैन, ढुङ्गा, माटो र काठ प्रयोग गरी बनाइएका त्यस्ता घरहरुको न कुनै अनुमानित आयुको वारेन्टी छ, न ती एकपटक चर्केपछि फेरि मर्मत गर्न सकिने अवस्था छ । त्यसैले चर्किएका घरहरु पनि पुनर्निर्माण गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?