मेलाटोनिन पाइनल ग्रन्थिले उत्पादन गर्ने एक हार्मोन हो । यसको मुख्य काम निद्रा व्यवस्थापन गर्नु हो । मेलाटोनिन हार्मोन घटबढ भएमा निद्रामा गडबडी हुन्छ ।
शरीरमा मेलाटोनिन हार्मोनको उत्पादन उज्यालोको समयमा कम हुन्छ भने अँध्यारोमा अर्थात् राति बढी उत्पादन हुन्छ । त्यसकारण मान्छेलाई दिउँसोभन्दा राति निद्रा धेरै लाग्छ । दिउँसोको उज्यालोमा पनि कोठामा झ्यालढोका बन्द गरेर पर्दा लगाएर अँध्यारो बनाएर बस्दा पनि शरीरमा मेलाटोनिन उत्पादन बढ्छ, तर धेरैजसो अँध्यारोमा बढी उत्पादन हुन्छ ।
कारण
मुख्यतया पाइनल ग्रन्थिमा क्यान्सर, ट्युमर वा अन्य समस्या भएमा मेलाटोनिन अत्यधिक बढ्ने वा घट्ने जोखिम हुन्छ । मदिरा, चिया, कफी धेरै मात्रामा खाँदा यस्तो समस्या हुन सक्छ । मोबाइल वा ल्यापटप धेरै चलाउने बानी, जसले निद्रालाई असर गर्छ ।
कसरी काम गर्छ ?
शरीरमा रेटिकुलर एक्टिभेटिङ सिस्टम (आरएएस) हुन्छ, जसले त्यसले निद्रा र तौललाई नियमन गर्ने काम गर्छ । मेलाटोनिन हार्मोन शरीरमा राम्ररी उत्पादन भइरहेको छ भने आरएएसलाई दबाउँछ । समयमा निद्रा लाग्ने गर्छ ।
लक्षण
यदि शरीरमा मेलाटोनिन हार्मोनको कमी भएमा निद्रामा गडबडी हुने वा निद्रा नलाग्ने समस्या हुन्छ । जसलाई निद्रासम्बन्धी समस्या हुन्छ, त्यस्ता बिरामीले मेलाटोनिन औषधि दिइने गरिन्छ । धेरैजसो अटिजमका बिरामीलाई यो औषधि दिने गरिन्छ । यो दुईदेखि तीन महिना दिने गरिन्छ ।
यो औषधि लिंदा अलि धेरै निद्रा लागे पनि अन्य साइड-इफेक्ट केही पनि हुँदैन ।
खानपानबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ?
खानपानका कारण मेलाटोनिन उत्पादन बढ्ने वा घट्ने हुँदैन । सन्तुलित खानपानले व्यवस्थापन गर्न सहयोग गर्छ । घाम ताप्दा पनि मेलाटोनिन घटबढ हुन्छ भनिए पनि यो वैज्ञानिक रुपमा पुष्टि भइसकेको छैन ।
बरु फुड हाइजिन भनेजस्तै स्लिप हाइजिन हुनु जरुरी छ । जसमा बेलुका हेबी खानेकुरा नखाने, कफी, चिया नपिउने, मनतातो पानी खाने वा सके मनतातो पानीले नुहाउने, सामान्य व्यायाम गर्ने, बत्ती निभाएर शान्त संगीत सुनेर सुत्ने गर्दा फाइदा हुन्छ । सुत्नुअघि मोबाइल, ल्यापटप नचलाउने र दैनिक निश्चित समयमा सुत्ने बानी बसाल्न सकिन्छ ।
(बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. झासँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4