
घरलाई सफासुग्घर राख्दा, झिलीमिली बनाउँदा, दियो-बत्ती बाल्दा लक्ष्मी भित्रिन्छ भन्ने शास्त्रीय मान्यता छ । लक्ष्मी धन-ऐश्वर्यकी प्रतीक । त्यसो त घरसँग हाम्रो भावनात्मक सम्बन्ध हुन्छ, जहाँ हामी अधिकांश समय व्यतीत गर्छौं । आफू बस्ने घरलाई चिरिच्याट्ट सजाउँदा हाम्रो मन पनि प्रफुल्ल हुने नै भयो ।
खासगरी तिहारमा घरलाई विशेष ढंगले सजाउने प्रचलन छ । वर्षौंदेखि हामीले यसलाई निरन्तरता दिंदै आएका छौं ।
घरलाई फरक वा विगतका भन्दा फरक शैलीमा सजाउन सके नयाँपन महसुस गर्न सकिन्छ । यद्यपि तिहार एक सांस्कृतिक चाड भएकाले घरलाई पनि सोही अनुरुप सजाउनु उत्तम हुन्छ ।
फूलको सजावट
सयपत्रीको मालालाई झ्याल-ढोकासहित घरको अग्रभागमा लस्करै सजाउन सकिन्छ । यसमा एकसमान माला राख्न सकिन्छ वा लामो-छोटो क्रमबद्ध मिलाएर पनि राख्न सकिन्छ ।
यदि फूल उपलब्ध छ भने आँगन, बार्दली समेत फूलमालाले सजाउन सकिन्छ । त्यस्तै वैठक कोठा वा घरभित्रको फराकिलो ठाउँमा पनि मालालाई कलात्मक रुपमा सजाउन सकिन्छ ।
कोठाको भित्तामा फूलमाला झुन्ड्याउँदा कोठाको खाली भित्ता सुन्दर देखिन्छ । यसका लागि सयपत्री फूलको मालाको तल्लो भागमा कृत्रिम घण्टी वा ड्रिम क्याचर राखेर भित्तामा झुन्ड्याउन सकिन्छ ।
पूजाकोठाको सजावट
कतिपयको घरमा स्थायी पूजाकोठा हुन्छ । त्यसैलाई सजाउन सकिन्छ । कतिपयले भने अस्थायी रुपमा पनि लक्ष्मीको फोटो, प्रतिमा आदि राखेर पूजास्थल बनाउन सक्छन् ।
पूजास्थलमा दुईतिर केराको थाम राख्ने, फूलमाला र झिलीमिली बिजुली राख्ने, दियो कलस राख्ने, फूल अक्षता राख्ने । केराको थाम राख्ने र पहेंलो वा रातो कपडाको टुक्राहरू प्रयोग गर्न सकिन्छ । साथै झिलिमिली बत्तीले पनि सजाउन सकिन्छ । पूजास्थलले पनि घरको आकर्षण बढाउँछ ।
दियो वा मैनबत्ती
लस्करै बालिएको दियोले घरलाई निकै आकर्षक देखाउँछ । सामान्यत: माटोको दियोलाई एकसमान लहरमा राखेर बाल्न सकिन्छ । अहिले बजारमा विभिन्न शैली एवं डिजाइनका दियो उपलब्ध छन्, आफ्नो रुचि अनुरुपको दियो सजाउन सकिन्छ ।
यसैगरी दियोको विकल्पमा मैनबत्ती पनि जलाउन सकिन्छ । थरीथरी शैलीका मैनबत्तीलाई कलात्मक ढंगले सजाउन सकिन्छ । अहिले सुगन्धित मैनबत्ती पनि बजारमा पाइन्छ ।
झिलीमिली बत्तीको सजावट
अधिकांशले तिहारमा झिलिमिली बत्ती सजाउने गर्छन् । त्यसो त तिहारलाई लक्षित गरेर अनेकथरी बिजुली बजारमा आएका छन् । आफ्नो घरको बनावट हेरेर पनि यस्तो बिजुली सजाउन सकिन्छ ।
धेरैथरी रंगको बिजुली भन्दा पनि रातो मात्र, निलो मात्र वा पहेंलो मात्र बिजुली राख्दा अझ भिन्न देखिन्छ ।
प्रवेशद्वारमा कलश र खड्कुँलोको सजावट
तिहारमा घरलाई आकर्षक बनाउन तामा, चाँदी आदिको कलश र खड्कुँलोमा पानी राखेर त्यसमाथि फूलहरु सजाउन सकिन्छ । पानीमाथि तैरिरहेको फूल, सुगन्धित वनस्पति र बलिरहेको दियोले निकै आकर्षक देखाउँछ ।
आँगनमा रंगोली
अब घरको प्रवेशद्वार वा आँगनमा रंगोली बनाउन सकिन्छ । ठाउँ र अवस्था हेरेर रंगोली ठूलो वा सानो बनाउन सकिन्छ । रंग, अक्षता, फूल आदि जे उपलब्ध हुन्छ, त्यसैबाट रंगोली बनाउन सकिन्छ । अहिले रंगोलीको डिजाइन इन्टरनेटमा सहजै पाइन्छ । त्यसैलाई हेरेर पनि बनाउन सकिन्छ ।
रंगोली डिजाइन गर्नका लागि तयारी सामाग्री पनि अहिले बजारमा पाइन्छ । रंगोलीको माझमा वा हरेक कुनामा दियो सजाउन सकिन्छ ।
घर वरपर बगैंचा र रुखहरूको सजावट
यदि घर वरपर बगैंचा छ, रूख छ भने त्यसलाई पनि सजाउन सकिन्छ । बगैंचामा भएको रुख बिरुवा र रुखमा बत्ती जडान गरेपछि घरलाई झलमल्ल बनाउन सकिन्छ ।
भण्डारी मक्की इभेन्टकी म्यानेजर हुन् ।
प्रतिक्रिया 4