+
+

जथाभावी स्पिड ब्रेकरले हैरान

अमृत चिमरिया अमृत चिमरिया
२०८० कात्तिक २२ गते २०:१०

२२ कात्तिक, काठमाडौं । काठमाडौंका सडक र गल्लीहरुमा गाडी चलाउनेहरुले भोगेको प्रमुख समस्या हो ‘स्पिड ब्रेकर’ । सतह मिलेको सडकको निश्चित दूरीपछि खुट्किलो राखेर स्पिड ब्रेकर बनाइएको छ ।

यसको मुख्य उद्देश्य गाडीहरु तिब्र गतिमा नगुडुन् भन्ने हो । तर अवैज्ञानिक रुपमा, भित्री गल्लीहरुमा, घुम्तीमा र छोटो दूरीमा पनि धेरै स्पिड ब्रेकर राख्दा चालकलाई हैरान मात्र पारेको छैन, दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

भर्खरै विद्युतीय स्कुटर चलाउन थालेकी बानेश्वर थापागाउँकी एनिशा थापालाई सबैभन्दा बढी पिर स्पिड ब्रेकरकै लाग्छ । ‘अफिसबाट आउँदा ४÷५ ठाउँमा स्पिड ब्रेकर छ, नयाँ स्कुटरमा घच्याक घच्याक गर्दै आउनुपर्छ स्कुटर त थोत्रो हुन थालिसक्यो’, उनले भनिन् ।

काठमाडौं महानगरको ट्राफिक तथा यातायात व्यवस्थापन हेर्ने नगर प्रहरीका एसपी दिनेश अर्याल बालबालिकाहरु आवतजावत गर्ने सडकमा सवारी साधन तिब्र गतिमा नगुडोस् भनेर स्थानीय बासिन्दा र टोल विकास संस्थाहरुले स्पिड ब्रेकर राख्ने गरेको बताउँछन् । तर पछिल्लो समय स्पिड ब्रेकरका विषयमा धेरै गुनासो आएको उनको भनाइ छ । ‘हामीलाई यो विषयमा गुनासो आएको छ, महानगरपालिकाले स्पिड ब्रेकर बनाएको होइन, अनुमति पनि दिएको छैन’, उनले भने ।

कतै कालोपत्रे सडकमा ढलान गरेर ब्रेकर बनाइएको, कतै कालोपत्रे गर्ने बेलामा नै ठाउँ ठाउँमा बढी निर्माण सामग्री राखेर स्पिड ब्रेकर बनाएको पाइएको अर्यालले बताए ।

‘महानगरसँग यस्ता ब्रेकर कति छन् भन्ने यकिन तथ्यांक छैन, जहाँ जहाँ गुनासो आएका छन्, त्यहाँ प्राविधिक रुपमा राखिएको स्पिड ब्रेकर बाहेक अन्य सबै सम्बन्धित वडाको रहोबरमा हटाउँछौं’, उनले भने ।

जथाभावी राखिएका स्पिड ब्रेकरले साना सवारी साधन, ग्राउण्ड क्लियरेन्स कम भएका गाडी, बिरामी बोकेका गाडी, धेरै भार बोकेका गाडीलाई असर पर्ने ट्राफिक प्रहरीहरु बताउँछन् ।

बानेश्वर कार्यक्षेत्र भएका एक नगर प्रहरी भन्छन् ‘स्पिड ब्रेकरको विषयमा जनताले नै गुनासो धेरै गर्न थालिसकेका छन् । लोड बोकेका गाडीहरुले ढाला नछोपिकन चलाउँदा स्पिड ब्रेकरमा सामान खस्छन्, ढुंगा गिट्टी सडकमा खस्दा अर्को दुर्घटनाको कारण बन्छ ।’

त्यस्तै फोहोर बोकेको गाडीले भरी फोहोर राखेर गुडाउँदा स्पिड ब्रेकरमा फोहोर खस्छ ।

एम्बुलेन्स चालक श्यामसुन्दर मास्के बिरामी बोकेर आउँदा स्पिड ब्रेकरले धेरै समस्या हुने गरेको सुनाउँछन् । ‘अप्रेसन गरेर आएको बिरामी, सुत्केरी, गर्भवतीलाई धेरै गाह्रो हुन्छ’, मास्केले भने ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले स्पिड ब्रेकरले सवारी चालकहरुले दु:ख पाएको बताए ।

‘हामी सडकमा भएको दुर्घटनाको विषयमा चाहिँ हेर्छाैं, तर अनुमति दिने निर्माण गर्ने विषय महानगर क्षेत्रभित्र महानगरकै विषय हो’, भट्टले भने ।

तस्वीरहरू: शंकर गिरी/अनलाइनखबर 

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?