+
+

शक्ति बढाउन एमालेको मध्यपहाडी क्याराभान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते २०:५३

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकमा एमाले सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुले सुनियोजित प्रयत्न गरिरहेको निष्कर्ष सुनाएका छन् ।

‘एमालेमाथि हरेक खाले आक्रमण भइरहेको छ, हामीलाई सिध्याउन देशभित्र सबै दल एकठाउँ उभिएका छन्’, राजनीतिक परिस्थितिबारे ओलीले भनेका थिए ।

एक पदाधिकारीका अनुसार, नेपाली कांग्रेसले माओवादी केन्द्रलाई बोकेर हिँड्नुको एउटै चाहना एमाले सिध्याउने रहेको ओलीको भनाइ थियो । तर जनताको बीचमा गएर पार्टीविरुद्ध भइरहेको घेराबन्दी तोड्नुपर्ने विकल्प ओलीले बैठकमा सुनााए ।

‘एमाले नै मुलुकको मूल शक्ति हो भन्ने सन्देश जनताबीच लैजानुपर्छ, पार्टीले सञ्चालन गर्ने अभियानमा अधिकतम कार्यकर्ता परिचालन गर्नुपर्छ’, ओलीले पदाधिकारीहरुलाई निर्देशन दिएको ती पदाधिकारी बताउँछन् ।

यो अभियान चलाउने निर्णय लिनु अगाडि एमालेले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई रुट अध्ययन गर्न पठाएको थियो । धादिङ पूर्वको रुटमा ज्ञवाली र पश्चिममा रिमाल नेतृत्वको टोली खटिएको थियो । ज्ञवाली र रिमालले यो रुट भएर क्याराभान चलाउन सम्भव रहेको रिपोर्ट ल्याएपछि बैठकले निर्णय लिएको हो ।

बुधबारकै बैठकबाट एमालेले आगामी १४ मंसिरदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । तीन साता चल्ने यो ‘क्याराभान’ लाई एमालेले जनतासँग पार्टी जोड्ने अभियान भनेको छ ।

‘गत मंसिरको चुनावलगत्तै पार्टीले मिसन–०८४ लक्ष्य बनाएर संगठन सुदृढीकरण र जागरण अभियान चलाइरहेको छ । यो क्याराभान पनि त्यसैको निरन्तरता हो’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् । गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले फागुनदेखि वैशाखसम्म ‘मिसन ग्रासरुट’ अभियान चलायो ।

त्यो अभियानका क्रममा नेताहरुले तयार पारेको प्रतिवेदनलाई आधारमा मानेर एमालेले असारदेखि एक वर्षे अभियान चलाइरहेको छ । नेताहरुको व्यापक जिम्मेवारी हेरफेरसहित एक वर्षे अभियान चलाइरहेको एमालेले पहिलो चरणमा प्रदेश अधिवेशन सकेर संगठन सुधारको अभियान थालेको छ । अब जिल्ला हुँदै वडासम्मको नेतृत्व परिवर्तन गर्दैछ ।

आम नागरिकसम्म पार्टीको उपस्थिति देखाउने कार्यक्रम भने यही क्याराभान पहिलो हो । ‘हामीले तराइको महेन्द्र राजमार्ग केन्द्रित भएर धेरैपटक अभियान चलायौं, अरु दलले पनि चलाए । तर अलिक अप्ठ्यारो भएकाले पहाडी क्षेत्र केन्द्रित अभियान कसैले चलाएको थिएन’, उपाध्यक्ष ज्ञवाली भन्छन्, ‘एमालेले पहिलोपटक पुगेर जनतामा आशा जगाउने छ ।’

यो अभियान चलाउने निर्णय लिनु अगाडि एमालेले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई रुट अध्ययन गर्न पठाएको थियो । धादिङ पूर्वको रुटमा ज्ञवाली र पश्चिममा रिमाल नेतृत्वको टोली खटिएको थियो । ज्ञवाली र रिमालले यो रुट भएर क्याराभान चलाउन सम्भव रहेको रिपोर्ट ल्याएपछि बैठकले निर्णय लिएको हो ।

बैठकपछि उपमहासचिव ज्ञवालीले क्याराभान सञ्चालनको चार उद्देश्य रहेको बताए । उनका अनुसार पहाडी क्षेत्रको समृद्धि, सामाजिक सद्भाव र राष्ट्रिय एकता, कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं स्थापना उत्सव र नागरिकमा देखिएको निराशा चिर्ने काम यो अभियानले गर्नेछ ।

‘झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ नाममा चल्ने यो क्याराभानमा एमालेले भौतिक विकास र मानवीय विकासको अध्ययन गर्ने उद्देश्य लिएको छ । ‘सामाजिक न्यायसहितको समृद्धिलाई पार्टीले जोड दिएको छ । यो अभियानबाट पहाडी क्षेत्रको विकासलाई अगाडि बढाउँछौं’, सचिव गोकर्ण बिष्ट भन्छन् ।

एमालेले यो अभियानमा आवश्यक पर्ने प्राविधिक टोली पनि सँगै हिँडाउने भएको छ । ‘हामीसँग प्राविधिक टोली हुन्छ । विकासको सम्भाव्यता अध्ययन उनीहरुले गर्छन्’, उपाध्यक्ष ज्ञवाली भन्छन् । पार्टी नेताहरु सधैं सुगम क्षेत्रमा मात्रै जाने भएकाले पनि विशेष अभियानकै घोषणा गर्नु परेको नेताहरु बताउँछन् ।

यो रुटमा पोखरा बाहेक अरु ठाउँ साना बजारहरु मात्रै छन् । तर भर्खरै विकास हुँदै गरेको ती साना बजार पहाडी क्षेत्रको नयाँ केन्द्र बनिरहेकाले पनि यो क्याराभानबाट एमालेले शक्ति आर्जनको अनुमान गरेको बुझ्न सकिन्छ ।

क्याराभानको दोस्रो उद्देश्यका रुपमा एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकता भनेको छ । ‘अहिले देखिएको अतिवादी सोच निस्तेज गर्ने हाम्रो उद्देश्य हुनेछ’, उपमहासचिव ज्ञवालीले पत्रकारहरुसँग भनेका छन् ।

तराइ केन्द्रित अभियान सञ्चालन गर्नु परम्परागत शैली भएकाले नयाँ रुट भएर चल्ने यो अभियानबाट एमालेले राष्ट्रिय एकताको सन्देश दिन चाहेको देखिन्छ । ‘हिमाल, पहाड र तराइलाई जोडेर राष्ट्रिय एकता बलियो बनाउने शक्ति एमाले हो भन्ने सन्देश हामी यो अभियानबाट दिनेछौं’, अर्का सचिव पद्‍‍मा अर्याल भन्छन् ।

क्याराभानको तेस्रो उद्देश्य भने पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको ७५औं वर्षको उत्सव हो । यो वर्षलाई विशेष बनाउने भनेर एमालेले पुस्तक प्रकाशनदेखि अरु गतिविधि गर्ने निर्णय यसअघि गरिसकेको छ ।

क्याराभान निकालेर पनि एमालेले नेकपा स्थापनाको सन्देश दिन चाहेको नेताहरु बताउँछन् । यसरी नेकपा स्थापनाको उत्सव मनाएर एमालेले पुष्पलालको असली उत्ताधिकारी भएको सन्देश नागरिकसम्म पुर्‍याउन चाहेको पनि लुक्दैन ।

एमालेले क्याराभानको चौथो उद्देश्यमा भने नागरिकमा आशा जगाउने कार्यलाई राखेको छ । ‘अहिले देश बर्बाद भयो, केही भएन भन्ने स्थापित गर्न खोजिदैछ । हामी देशभित्रै सम्भावना छ भन्ने कुरा राख्छौ’, एमाले सचिव विष्ट भन्छन् ।

तर क्याराभानको मूल उद्देश्य पार्टीलाई बलियो बनाउने र बदलिदो जनमत फर्काउने नै हो । किनकि गत वर्षको चुनावमा पुराना दलहरुप्रति असन्तुष्टि जनाएरै नयाँ राजनीतिक शक्तिहरुको उदय भएको थियो ।

नयाँ शक्तिहरुको आकर्षण राजधानी उपत्यकासहित शहरी क्षेत्रहरुमा देखिएकाले एमाले आफूलाई फरक र आक्रमक देखाउने योजना देखिन्छन् । त्यो योजना अन्तगर्त पहाडी क्षेत्रको जनमत जोगाउन पनि यो क्याराभानले सहयोग पुग्ने एमाले नेताहरुको मूल्याङ्कन छ ।

त्यसैले यो अभियानमा अधितम नागरिकसम्म पुग्ने एमालेको लक्ष्य छ । ‘किसान, मजदुर, शिक्षक, साना ब्यापारी र विद्यार्थीहरुसँग यात्राभर सम्वाद गर्छौ । सुझाव लिन्छौं र आफ्नो कुरा राख्छौ’, उपाध्यक्ष ज्ञवाली भन्छन् ।

क्याराभानकै क्रममा नयाँ नेतृत्वको पहिचान गर्ने अभियान पनि चलाउने एमालेको तयारी छ । विशेषगरी युवाहरुको पहिचान गरी आवश्यक भूमिका दिने नीति यो क्याराभानका क्रममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?