+
+

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ११:१३

२३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ ।

निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई गत जेठ१३ गतेको मन्त्रिपरिषदको बैठकले आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय राष्ट्रपतिबाट सदर भएपछि गणतन्त्र दिवसको दिन जेठ १५ गते रेशम चौधरी जेलबाट छुटेका थिए ।

त्यो निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई स्थगित भएको हो ।

२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

टीकापुर घटनापछि फरार भएका रेशमले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । सोही वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वारेशमार्फत् उम्मेदवारी दर्ता गराएर उनी थुनामै भएको अवस्थामा निर्वाचित भएका थिए ।

पूर्पक्षका लागि थुनामा रहेकै बेला १९ पुस २०७५ मा सांसदको शपथ लिएका उनलाई दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनाएको थियो भने ३ पुस २०७७ मा उच्च अदालत, दिपायलले उक्त सजायलाई सदर गरेको थियो ।

सरकारले रेशमको मुद्दा फिर्ता लिन मिल्ने गरी ल्याएको विधेयक संसदमा विचाराधीन रहेकै बेला सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन पुनरावेदनमा सुनुवाइ भयो र २०८० जेठ २ गते उनको जन्मकैद सदर भएको थियो । तर राष्ट्रपतिको आम माफीबाट उनी जेठ १५ गते जेलबाट छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?