प्राकृतिक प्रकोप कति खेर आउँछ पत्तो हुँदैन । आएपछि कति धनजनको क्षति हुन्छ, त्यो पनि अनुमान गर्न सकिंदैन । प्राकृतिक विपत्तिमध्ये भूकम्पल् ल्याउन क्षति अझ भयानक हुन्छ ।
२०७२ सालको महाभूकम्पको अनुभव हामीसँग छ । अहिले पनि त्यो दिन सम्झिंदा धेरैलाई कहाली लाग्छ । त्यस्तै, भय हालै जाजरकोटमा गएको भूकम्पको पैदा गरेको छ। त्यहाँको जनजीवन प्रभावित छ । कतिले आफन्त गुमाए, कतिले आफ्नो थलो । यस्तोमा उनीहरुलाई राहत त अत्यावश्यक छ नै, उनीहरुको मनोविज्ञानमा पनि ठूलो असर पारिरहेको हुन्छ ।
भूकम्पलगायत कुनै पनि प्राकृतिक विपत्तिमा पर्नेहरु त्रास, डर, चिन्ता, आफन्त गुमाउनुको पीडा, निराशामा हुन्छन् । यस्ता संवेदनालाई सन्तुलित र नियन्त्रण गर्न सकिएन भने लामो समयसम्म ती मनोवैज्ञानिक समस्याको रुपमा रहन्छन् ।
भूकम्पले पार्ने मानसिक असर अल्पकालीन र दीर्घकालीन दुवै हुन सक्छन् ।
अल्पकालीन असर
भूकम्प पीडितमा डर लाग्ने, नराम्रो सपना देख्ने, डराउने, टोलाउने, बोल्न मन नलाग्ने, झसंग हुने, फेरि भूकम्प आउने हो कि भन्ने डर, रुने तथा रुन मन लाग्ने, आफन्त गुमाउनेले सम्झिएर भक्कानिने, भोक नलाग्ने, निद्रा नपर्ने, बल्ल बल्ल निदाए पनि अचानक ब्युँझिने, ऐंठन हुने जस्ता अल्पकालीन असर देखिन सक्छन् ।
यी लक्षण केही दिन, साता र केही महिना रहन सक्छन् । जुन स्वभाविक हो । अकस्मात परेको विपदले दिएको चोटलाई बुझ्न र स्वीकार्न कठिन हुन्छ । अल्पकालीन असरका यी लक्षण समयसँगै आफैं कम भएर जान्छन् ।
दीर्घकालीन असर
विपद्को घटनालाई बिर्सन नसकी त्यही पललाई मात्र एकोहोरो सम्झिएर बस्ने, तीन महिनाभन्दा लामो समयसम्म एकोहोरो रुने जस्ता समस्या भइरहेमा त्यो दीर्घकालीन असर हो । यसले डिप्रेसन, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (घटना घटेको महिनौं पछिसम्म पुग्ने मानसिक आघात) जस्ता समस्या निम्त्याउन सक्छ । सबैभन्दा बढी भूकम्पको डरलाग्दो दृश्य देखेका बालबालिका उच्च जोखिममा हुने सम्भावना रहन्छ । धेरैजसो मानिसले पीडालाई नियन्त्रण गर्न नसक्दा र परिस्थिति झन् जटिल बन्दै गएमा आत्महत्या गर्ने सोच बनाउन सक्छन् ।
कुन उमेर समूहमा कस्तो असर ?
बालबालिका : भूकम्पको सामना गरेका स-साना बालबालिकामा औंला चुस्ने, झसंग हुने, बिछ्यौनामा पिसाब गर्ने, आमाबुबासँग सधैं टाँसिएर बस्ने, नसुत्ने, खान नमान्ने, नखेल्ने लगायत असर देखिन सक्छ ।
प्राथमिक स्कुलका विद्यार्थी : तनावमा रहने, चिटचिटाहट हुने, नराम्रो सपना देख्ने र त्यसलाई वास्तविक ठान्ने, स्कुल जान डराउने, वास्तविकतालाई स्वीकार्न नसक्ने, ध्यान केन्द्रित गर्न नसक्ने, साथीभाइसँग नखेल्ने र अँध्यारोमा डराउने जस्ता असर हुन सक्छ ।
वयस्क उमेर समूह : भूकम्पमा परी ज्यान गुमाएको नजिकको व्यक्तिलाई सम्झिरहने र बचाउन नसकेकोमा ग्लानि महसुस गर्ने, अनिद्रा, खानामा अरुचि, झर्किने, रिसाउने, अपराधी मनोवृत्ति बढ्ने, शारीरिक समस्या देखिने, कुनै कुरामा ध्यान दिन नसक्ने, भविष्य अन्योल देख्ने समस्या हुन सक्छ । कतिपयमा यो तनाव सहन नसकेर मदिराको लतमा लाग्ने, सन्तान गुमाएका दम्पतीले मनमा गुम्साएको पीडालाई रिस र आवेगमार्फत एकअर्कामा पोख्ने जस्ता समस्या हुन सक्छ ।
वृद्धवृद्धा : सन्तान गुमाएका वृद्धवृद्धामा ‘सन्तानको सट्टा आफू बितेको भए हुन्थ्यो’ भन्ने खालका भावना आएर पिरोलिरहने समस्या आउन सक्छ । जसकारण उनीहरुमा डिप्रेसन हुने, खानामा अरुचि, रातमा सुत्न डर लाग्ने, अरुसँग नबोल्ने, टोलाउने, निराशावादी कुरा असर पुग्न सक्छ ।
यस्ता असर कम गर्न के गर्ने ?
दैनिकी नियमित बनाउने प्रयास
भूकम्पले उथलपुथल पारेको जीवनलाई सहज र नियमित बनाउन निरन्तर प्रयास गर्नुपर्ने हुन्छ । समयमा सुत्ने, खाने र बस्ने प्रयास गर्नुपर्छ । यी नियमित कार्यमा ध्यान नदिए स्वास्थ्यमा थप असर गर्न सक्छ । साथै, सकभर एक्लो नबस्ने, समस्या परेका अन्य व्यक्ति र छिमेकीसँग संवाद गर्ने, समूहमा बस्ने, समूहमा आफ्ना विचार राख्ने, अरुका विचार सुन्ने गर्नुपर्छ । यसले मनलाइ हलका बनाउन सहयोग पुग्छ ।
भूकम्पपछि त्यहाँ हुने उद्धार तथा राहत कार्यक्रमबाट आफूलाई पर राख्नुभन्दा शारीरिक रुपमा सक्षम भएमा रक्तदान, सामाजिक एवं आध्यात्मिक कार्यमा आफूलाई संलग्न गराउन सकिन्छ ।
टोलको सरसफाइ, भत्किएका कोठा मिलाउने जस्ता कार्यमा एकले अर्कोलाई सहयोग गर्ने, समूहमा चिया खाने, आध्यात्मिक कार्य गर्ने जस्ता क्रियाकलाप भइरहेमा जीवनशैली केही हदसम्म सहज र नियमित हुन सक्छ ।
वर्तमानलाई स्वीकार गर्ने
वर्तमान परिस्थितिलाई जस्ताको त्यस्तै स्वीकार गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । अहिलेको परिस्थितिमा बुझ्नुपर्ने भनेको भूकम्पले पारेको अहिलेका समस्या अस्थायी हुन् । समयले समस्यालाई कम गर्दै लैजाने छ ।
त्यसको निम्ति आशावादी हुनु जरुरी छ । भविष्यको अत्यधिक चिन्ताले तपाईंलाई विचलित पार्न सक्छ । कतिपय अवस्थामा कतिपय व्यक्ति भूकम्पबाट भएको मानवीय क्षतिको निम्ति आफूलाई दोषी ठान्छन् । यो प्राकृतिक विपत्तिमा कसैको दोष हुँदैन यसमा कोही दोषी हुँदैन भन्ने बुझ्नुपर्छ ।
सञ्चारमाध्यमको सन्तुलित प्रयोग
भूकम्पपछि सामाजिक सञ्जालमा आएका नकारात्मक र अत्यन्त विचलित पार्ने किसिमका पोस्टबाट केही समय टाढा बस्दा उचित हुन्छ । आवश्यक सूचनाको लागि विश्वासिलो सञ्चारमाध्यम छान्न सकिन्छ ।
पारिवारिक सदस्यका बीचमा सकारात्मक र आशावादी समाचारलाई प्रोत्साहन दिनुहोस् । बालबालिकालाई भूकम्पको बारेमा जानकारी र पुनः आएको खण्डमा के गर्ने ? भन्ने जानकारी दिनुहोस् । यस्तो अवस्थामा धेरै व्यक्ति सत्यको खोजी भन्दा भावनामा आएर बोल्ने, नियन्त्रण गर्ने गर्छन् । जसकारण समाज सजिलै विचलित हुन सक्ने हुँदा, भावनामा आधारित समाचारलाई अहिलेलाई कमजोर मानसिक अवस्था हुनेहरुले बन्द गर्दा नै उत्तम हुन्छ ।
दक्ष स्वयंसेवक मात्र पुगौं
विपद् परेको ठाउँमा काम गर्दा चलेको एउटा शब्द हो ‘पर्यटन स्वयंसेवक’ । भूकम्प होस् वा अन्य विपद् जहाँ जनधनको क्षति हुन्छ त्यहाँ पर्यटन स्वयंसेवकहरु भेला भइहाल्छन् । हुल बाँधेर जाने र फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्टाउने । केही भयो भने अघि सर्ने तर सहयोग गर्ने क्षमताका नहुने मानिसको भीड लाग्दा उद्धार कार्य प्रभावित हुन्छ । त्यसले झन् उद्धार गर्नुको साटो उल्टो समस्या पार्न सक्छ । त्यसैले विपद् क्षेत्रमा जाँदा त्यहाँ प्रयोग हुने सीप सिक्न आवश्यक हुन्छ । किनकि विपद्का ठाउँमा सामूहिक कार्य धेरै हुन्छन् । जो दक्ष स्वयंसेवकबाट मात्रै सम्भव हुन्छ ।
भूकम्पपछिको मनोवैज्ञानिक तयारी आवश्यक
भूकम्पले गरेको भौतिक र शारीरिक क्षति पहिलो प्राथमिकतामा परे पनि यसले गरेको मनोवैज्ञानिक क्षतिप्रति पनि सजग हुन आवश्यक छ । तपाईंको परिवार, समाजमा मानसिक समस्या देखिएमा मनोविज्ञको सल्लाह लिनु उचित हुन्छ ।
भूकम्पको क्षति सबैभन्दा बढी बालबालिकाहरु थप जोखिममा पर्ने वर्गमा पर्छन् । शारीरिक रुपमा केही भएको छैन तर उनीहरुको उचित मनोवैज्ञानिक पुनर्स्थापना गरिएन भने उनीहरुमा यसले गहिरो असर पार्ने सम्भावना रहन्छ ।
अझ भूकम्पमा आफन्त गुमाएका, शारीरिक अशक्तता भएका, अन्त्यन्त जटिल परिस्थितिमा उद्धार गरिएका व्यक्तिलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । प्रभावित स्थलमा कसैलाई आफ्नो व्यथा पोखौं जस्तो हुन सक्छ । यस्तोमा सहयोगका लागि पुगेकाहरुले कुरा सुनिदिने, हौसला दिने गर्नुपर्छ । कसैलाई त्यो घटनाबारे बोल्न मन नहुन सक्छ । कोही बोल्न चाहँदैनन् भने जबर्जस्ती गर्नुहुँदैन । यसले उनीहरुलाई याद गरी झन् विचलित पार्न सक्छ ।
सरकारको दायित्व
भूकम्प पीडितका लागि सरकारले सबैभन्दा पहिला ‘हामी तपाईंहरुको साथमा छौं’ भन्ने आभाष दिलाउनु प्रमुख दायित्व हो । सरकारले स्थानीय तहसँग समन्वय गरेर त्यहा मानसिक परामर्शमन मनोचिकित्सक खटाउने र सम्पूर्णलाई मनोवैज्ञानिक तालिम उपलब्ध गराउने ताकि दीर्घकालीन असर नपरोस् ।
भूकम्प आएपछि त्यसको परकम्प गइरहेको हुन्छ । त्यसैले उनीहरुलाई चाँडो भन्दा चाँडो सुरक्षित ठाउँमा सार्ने व्यवस्था मिलाउनुपर्छ ।
तत्कालीन सहयोगसँगै भविष्यको निम्ति पनि योजना बनाउनुपर्छ । जस्तै, अभिभावक गुमाएका १८ वर्षमुनिका बालबालिकाको पढाइ, बास र गाँसको व्यवस्थापन गरी अभिभाकत्वको भूमिका निभाउनुपर्छ ।
त्यस्ता बालबालिकालाई अन्य धेरै व्यक्तिले काममा लगाउने वा पाल्ने भनेर पनि आउन सक्छन् । त्यसमाथि पनि समुदाय र स्थानीय सरकार चनाखो हुनुपर्छ ताकि गलत हातमा अबोध बालबालिकाको भविष्य नपुगोस् । खाने-बस्ने व्यवस्था सरकारले नै व्यहोर्नुपर्छ । जनजीवन केही सहज बनेसँगै त्यहाँ भत्किएका स्कुल, स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारको सिर्जना गर्ने योजना सरकारको हुनुपर्छ ।
(मनोविद् तथा साइकोथेरापिस्ट ज्ञवालीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4