२३ कात्तिक, काठमाडौं । आइभोरी कोस्टका फुटबलर डिडियर ड्रोग्बा नेपाल आउने भएका छन् ।
डिडियर ड्रोग्बा फाउण्डेसन र नेपाल सुपर लिग (एनएसएल) बीच सहकार्य चलिरहेको छ ।
एनएसएल आयोजकका अनुसार ८ मंसिरदेखि सुरु हुने लिगका क्रममा ड्रोग्बा नेपाल आउने छन् । ‘उनी आउने पक्का भएको छ’ एनएसएलका एक अधिकारी भन्छन्, ‘डिसेम्बर पहिलो सातातिर हुन्छ होला ।’
उनको भ्रमणले इन्टरनेशनल एरियामा नेपाल सुपर लिगको प्रचारमा मद्दत गर्ने एनएसएलको विश्वास छ ।
भूकम्प पीडितलाई सहयोग
एनएसएल र डिडियर ड्रोग्बा फाउण्डेसनले जाजरकोट भूकम्प पीडितलाई संयुक्त रुपमा २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
एनएसएलका अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख जम्मा गरिनेछ ।
‘भूकम्प प्रभावित क्षेत्रको सहयोगको लागि म ऐक्यवद्धता जनाउँछु । भूकम्पबाट ज्यान गुमाएका र घाइते भएकाहरु प्रति मेरो सहानुभूति छ’ आफू नेपाल समेत आउने भन्दै ड्रोग्बाले भिडियो सन्देशमा भनेका छन्, ‘यो विपदको समयमा हामी सबैले एकअर्कालाई सहयोग गर्नुपर्छ ।’
प्रतिक्रिया 4