
२३ कात्तिक, काठमाडौं । नियमनकारी निकायले आँखा चिम्लिंदा काठमाडौं उपत्यकाका बजारमा प्रतिबन्धित प्लास्टिकका फूल माला निर्बाध भित्रिएको पाइएको छ ।
तिहार सुरु हुन केही दिन मात्रै बाँकी रहँदा बजारका पसलहरु प्रतिबन्धित प्लास्टिकका फूल र मालाले झकिझकाउ देखिएका छन् ।
काठमाडौंका चोक र गल्लीदेखि देशैभरका बजारमा कागजी कृत्रिम फूल र माला बग्रेल्ती भेटिंदा यसको नियमनमा भने नियामकहरु आँखा चिम्म गरेर बसेका छन् ।
बुधबार अनलाइनखबरको टोली उपत्यकाका विभिन्न ठाउँमा घुम्दा यस्ता फूल र मालाहरु निर्बाध बिक्री भइरहेको भेटिएका छन् ।
काठमाडौंको बालाजु, कालिमाटी, बनस्थली, बत्तिसपुतली, नयाँबानेश्वर लगायतका क्षेत्रका मुल सडकका पसलमै यस्ता फूल र मालाहरु बिक्रीमा राखिएका छन् ।
तिहारमा घर तथा बाह्य सजावट गर्न तथा कतिपय अवस्थामा मालाका रूपमा समेत यी फूलहरु प्रयोग भएको एक व्यवसायीले बताए ।
उनकाअनुसार तिहारमा जरीको माला र ढोका सजावटका लागि यस्ता फूलको मालाको माग अधिक छ ।
तर, गत वर्ष साउनमा सरकारले देशभर यस्ता मालाको आयात, बिक्री वितरण र भण्डारणमा निषेध गरेको छ ।
सरकारले १२ साउन २०७९ मा राजपत्रमा सूचना निकालेर नेपालमा कृत्रिम प्रकारका फूल र मालाको सबै प्रकारको कारोबारलाई निषेध गरेको थियो ।
‘वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ,’ वन तथा वातावरण मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।
कानुनतः राजपत्रमा सूचना प्रकाशित भएपछि यस्तो निर्णय पूर्ण कार्यान्वयनमा आउँछ । तर, अचम्मचाहिँ के भने सरकारले प्रतिबन्ध लगाएको फूल वैधानिक प्रणालीबाटै बजारभरी बग्रेल्ती आयात भए ।
गत असारमा आफ्नो बजेट घोषणा गर्दै काठमाडौं महानगरले पनि यस्ता कृत्रिम फूल र मालाको बिक्रीमा रोक लगाएको घोषणा गरेको थियो ।
सरकारले परिमाणत्मक वा पूर्ण बन्देज लगाएका वस्तु आयात गर्न नपाइने व्यवस्था निकासी पैठारी ऐन २०१३ मा प्रष्ट छ । ऐनको दफा ५ अनुसार सरकारले निकासी पैठारीमा बन्देज लगाएका वस्तुको निकासी तथा पैठारी गरेमा त्यस्ता वस्तु जफत गरिनुका साथै सोको मूल्य बराबरको जरिवाना र एक वर्ष कैद सजाय हुन्छ ।
यस्तै, यस्तो वस्तुको निकासी पैठारीमा सघाउ पुर्याउनेलाई ठिक आधा र सजायको व्यवस्था ऐनमा छ ।
राजपत्रमा सूचना प्रकाशित गरेर आयात प्रतिबन्ध लागेको वस्तु भन्सारले पास गर्नु भन्सार कानुनको बर्खिलाप हो ।
सरकारले आफूलाई उचित लागेको अवस्थामा आयातका प्रतिबन्धात्मक व्यवस्था गर्न सक्ने र सो व्यवस्था राजपत्रमा प्रकाशित भएपछि भन्सारले कार्यान्वनयन गर्नुपर्छ ।
गत असोज पहिलो साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम फूलको मालाको समेत बजार अनुगमन थालेको बताएको थियो ।
विभागले गठन गरेको संयक्त अनुगमन टोलीमा वातावरण विभागका अधिकारीहरु पनि सम्मिलित थिए ।
त्यसो त काठमाडौं महानगरपालिकाले पनि बजार अनुगमन गरेको थियो । तर, यस्ता मालाको बेफिक्री व्यापार मौलाएकै छ ।
बजारमा भित्रिएको कृत्रिम मालाले सरकारको अकर्मण्यता झल्किएको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङ बताउँछन् ।
‘सरकारले आयात हुन एक वर्ष अघि रोकेको र काठमाडौं महानगरले समेत आयातमा र बिक्री वितरणमा निषेध गरेको फूल र माला बजारमा हुनु हास्यास्पद छ,’ अध्यक्ष तामाङ भन्छन्, ‘सरकारको आफ्नै नीतिको विरुद्धमा बजारमा कृत्रिम फूल र मालाहरु बग्रेल्ती देखिनु सरकारमाथिकै प्रश्न हो ।’
यसरी बजारमा भित्रिएको मालाका कारण स्वदेशी फूलको व्यापारमा असर गर्ने उनले बताए । किसानले पसिना बगाएर उत्पादन गरेको फूल र मालाको बिक्री प्रभावित पार्न कृत्रिम फूल माला भित्र्याइएको पनि उनले बताए ।
हाम्रो बदमासी होइन : भन्सार
बजारमा बग्रेल्ती देखिएको कृत्रिम फूलका मालाका सन्र्दभमा आफूहरुले कुनै बदमासी नगरेको भन्सार विभागले दाबी गरेको छ ।
सरकारले गत वर्ष नै आयात प्रतिबन्ध लगाएपछि आफूहरुले नाकामा यस्ता फूल मालाको आयातमा कडाइ गरेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।
‘हामीले गरेको कडाइका कारण केही व्यापारीहरु वाणिज्यमा गएर आयात गर्न पाउनु पर्छ भन्दै निवेदन दिंदै हिंड्नु भएको छ,’ खड्काले भने, ‘सरकारले तोकेको एचएस कोड (वस्तुको अन्र्तराष्ट्रिय हार्मोनी चिन्ह) को फूलमाला आउन दिएका छैनौं । यो चोरी निकासी हुनसक्छ ।’
यस्ता वस्तु आयात हुन सक्ने भन्सार विन्दुमा विभागले कडाइकासाथ निगरानी गरेको पनि उनले प्रष्ट्याए ।
यस्ता फूलको नियमनका लागि बजार अनुगमन र कारबाही नै प्रमुख अस्त्र भएको र यस विषयमा बुधबार मात्रै वाणिज्य विभागमा छलफल समेत भएको उनले प्रष्ट्याए ।
सचेत गराइरहेका छौं : वातावरण विभाग
गत असोजदेखि सुरु भएको बजार अनुगमनमा कृत्रिम फूलमालाका विषय परेको र अनुगमनबाट सचेत गराउने काम भइरहेको वातावरण विभागले जनाएको छ ।
भन्सार विन्दुबाट यस्ता फूलमाला नआएको कुरा भन्सारले बताएको वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए ।
‘अनुगमन भइरहेको छ । केहीलाई सचेत पनि गराइएको छ,’ प्रवक्ता पौडेलले भने, ‘वैधानिक तबरबाट यस्ता फूलमाला नआएको र फूल मालाको बजारको अवस्थाबारे अध्ययन गरिरहेको छ । हामी कारबाही गर्छौं ।’
बजारमा कृत्रिम फूल र मालाको बजार अनुगमन गरिरहेको वाणिज्य विभागले पनि जनाएको छ ।
काठमाडौं महानगर प्रहरी बलले पनि एक सूचना जारी गरेर यस्ता फूल मालाको कारोबार नर्गन आग्रह गरेको छ ।
दिपावली तथा छठपर्वमा घर, पसल सजाउनका लागि प्रयोग हुने प्लास्टिकका विभिन्न फूल, माला तथा सजावटका सामानहरु किनबेच नगर्न नगराउन महानगरले निर्देशन दिएको छ ।
यस्ता प्लास्टिकजन्य सजावटको सामान बिक्री वितरण गरेको पाइएमा जफत गर्ने चेतावनी महानगरले दिएको छ ।
तस्विरहरू : शंकर गिरी
प्रतिक्रिया 4